क्यानडामा गाँजा सेवन र बिक्री खुला

क्यानडाले औषधि र मनोरञ्जनका लागि गाँजा सेवन र बिक्री खुला गरेको छ। त्यहाँको संसदले मंगलबार यससम्बन्धी कानुन पास गरेको हो।
औषधि र मनोरञ्जन दुवै प्रयोजन निम्ति गाँजा खुला गर्ने क्यानडा दोस्रो देश हो। यसअघि सन् २०१३ मा उरुगुवेले खुला गरेको थियो।
क्यानडाले गाँजा खुला गर्न लामो समयदेखि तयारी गरिरहेको थियो। मंगलबार पास भएको कानुनले गाँजा उत्पादन र बिक्री–वितरण तरिका तथा नियम प्रस्ट्याएको छ। यो कानुन लागू हुने मिति भने तोकिएको छैन। सरकारले यसै साता मिति तोक्ने छ।
विपक्षी पार्टी र क्यानडाका आदिवासी समूहले भने यो निर्णयको विरोध गरेका छन्।
क्यानडामा सन् १९२३ देखि गाँजा अवैधानिक थियो। सन् २००१ मा भने औषधि प्रयोजन निम्ति खुला गरियो।
मनोरञ्जन निम्ति गाँजा खुला गरेकोबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्यूले ट्विट गर्दै भनेका छन्– ‘हाम्रा केटाकेटीले सहजै गाँजा पाउने भएका छन्। अवैधानिक कारोबारीले नाफा खाइरहेका थिए, हामीले यो स्थिति परिवर्तन गर्यौं। गाँजा खुला गर्ने कानुन संसदले पास गरेको छ।’
सरकारले राज्य, इलाका र नगरपालिकाहरूलाई गाँजा बिक्री–वितरण केन्द्र स्थापना गर्न ८ देखि १२ साताको समय दिने भनेको छ। यसबीच उद्योग र प्रहरीले बिक्री वितरण व्यवस्थित गर्न नयाँ नियम बनाउनुपर्नेछ।
सन् २०१५ को तथ्यांकअनुसार क्यानडाका नागरिकले गाँजामा करिब ४ अर्ब ५० करोड डलर खर्च गरेका थिए। उनीहरू वाइनमा पनि यही हाराहारी खर्च गर्छन्।
सम्भवतः सेप्टेम्बर मध्यदेखि क्यानेडियनहरूले गाँजा र यसबाट उत्पादित तेल किन्न पाउने छन्। यी उत्पादन अनुमतिप्राप्त उत्पादक र पसलबाट किन्नुपर्नेछ।
त्यस्तै एउटा घरमा चारवटासम्म बिरूवा रोप्न पाइनेछ। अनुमतिप्राप्त अनलाइन बिक्रेताबाट पनि किन्न सकिनेछ।
कानुनअनुसार एक वयस्क मान्छेले सार्वजनिक स्थानमा ३० ग्रामसम्म सुकाइएको गाँजा खान पाउनेछ।
तत्काल गाँजा मिसाइएका खानेकुरा भने उपलब्ध हुने छैनन्। कानुन पास भएको करिब एक वर्षपछि यो पनि उपलब्ध हुनेछ। सरकारले नयाँ नियम लागू र व्यवस्थापन गर्न यो समय लिएको हो।
गाँजा किन्न र सेवन गर्न संघीय सरकारले न्यूनतम १८ वर्ष उमेर तोकेको छ। केही राज्यले १९ वर्ष तोक्ने भएका छन्।
गाँजा कसरी बिक्री गर्ने, कहाँ कति सेवन गर्न मिल्ने लगायत कानुन बनाउने अधिकार राज्यहरूलाई दिइएको छ। गाँजा सेवनको सीमा प्रान्तीय कानुनले नै तय गर्नेछ।
संघीय सरकारले केही आधारभूत निर्देशिका भने जारी गरेको छ, जुन सबै राज्यमा लागू हुनेछ। गाँजा प्याक गर्दा थोरै ब्रान्डिङ र स्वास्थ्य चेतावनी हुनुपर्नेछ। युवा समूहलाई लक्ष्य गरी विज्ञापन गर्न पाइने छैन।
मनोरञ्जन निम्ति खुला गरिएको भए पनि यहाँ केही सीमा तोकिएका छन्। सार्वजनिक स्थानमा ३० ग्रामभन्दा बढी गाँजा सेवन गर्नु र घरमा ४ वटाभन्दा बढी बिरूवा रोप्नु गैरकानुनी छ।
तोकिएको उमेरभन्दा कमका व्यक्तिलाई गाँजा बिक्री गरेको फेला परे १४ वर्षसम्म जेल सजाय र जरिवाना हुनेछ। केहीले यो सजाय कडा भएको टिप्पणी गरेका छन्। कम उमेरकालाई रक्सी बेच्दा जस्तो सजाय हुन्छ, त्यस्तै गाँजा बेच्नेलाई पनि हुनुपर्ने उनीहरूको भनाइ छ।
केही वर्षअघि विश्वका धेरै देशमा गाँजा प्रतिबन्ध थियो। पछिल्लो समय गाँजा खुला गर्ने देशको संख्या बढ्दो छ। हालै बेलायत सरकारले पनि गाँजाको औषधीय प्रयोग खुला गर्नेबारे छलफल गर्ने बताएको छ।
युरोपका १४ देश, इजरायल, अर्जेन्टिना, पुर्तो रिको, पनामा, मेक्सिको, टर्की, जाम्बिया र जिम्बाबेमा औषधीय रुपमा गाँजा खुला छ। अमेरिकाका २९ राज्यमा औषधीय र कोलम्बियाका साथै अरू नौ राज्यमा औषधी र मनोरञ्जन दुवै रुपमा गाँजा खुला छ।
स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, जमाइका, चिली, पेरु, कोलम्बिया, इक्वेडर र लम्जेम्बर्गले पनि व्यक्तिगत रुपमा गाँजा प्रयोग कानुन खुकुलो पारेका छन्।
अन्य केही देश र राज्य पनि गाँजा खुला गर्ने योजना बनाइरहेका छन् |
(समाचार स्रोतः बिबिसी)