विश्वकपमा सहभागी ३२ राष्ट्रका मध्ये १ जना मात्रा कालो वर्णका प्रक्षिक्षक ‘आलिओउ सिसे’

ड्यासअगाडि रसिया विश्वकप कभर गर्न आएका दर्जनौँ अन्तर्राष्ट्रिय मिडियासामु कालो वर्णका आलिओउ सिसे प्रश्नहरूको उत्तर दिन तयार देखिन्छन् । जब फिफाका अधिकारी पत्रकार सम्मेलन सुरु भएको घोषणा गर्छन्, त्यसैवला सिसे आफ्नो घुमाउरो कपाल मिलाउन खोज्छन् । उनी घुम्रिएको बाक्लो न बाक्लो, कालो कपालमा हात सलबलाउन थाल्छन् । एकजना मिडिया पर्सनले ठट्टा गर्दै प्रश्न तेस्र्याउँछन्, ‘तपार्इंको कपाल त बब मार्लीको जस्तो देखिन्छ नि !
सिसे पनि के कम ? उनी झट्ट उत्तर फर्काउँछन्, ‘किन पत्रकार महोदय ! तपाईलाई मेरो कपाल मन परेन हो ?’ ती पत्रकार होइन, होइन भन्दै थप प्रश्न गर्न हिम्मत गर्दैनन् । त्यसपछि सिसे मोबाइलमा बजिरहेको घन्टी ‘पिक’ गर्छन् । सिसे पत्रकारलाई ‘एकछिन ल’ भनी मोबाइलमा गफिन्छन् । एक मिनेट फोनमा कुराकानी सकाएपछि सिसे पुनः पत्रकारसँगै सोध्छन्, हामी कहाँ थियौँ ?
यता, पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरू सिसेको व्यवहार देखेर रिसले चुर भइसकेको थिए । तर, के गरौँ पत्रकारलाई पनि सेनेगल फुटबलको राज सिसेबाट निकाल्नुपर्ने थियो । सिसे विश्वकपका कुनै सेलेब्रेटी वा भिआइपी पनि होइनन् । तर, पनि उनले मिडियालाई एकछिन तनाव नै दिए । खासमा उनी सेनेगलका मुख्य प्रशिक्षक हुन् । यसै कारण अन्तर्राष्ट्रिय मिडियाका पत्रकार केही समय मन थामेरै बसे ।
वास्तवमा त्यो पत्रकार सम्मेलन पोल्यान्ड र सेनेगलबीचको खेलअघि मस्को स्पार्टक रंगशालामा आयोजित पत्रकार सम्मेलन थियो । रमाइलो तथ्य के भने रसिया विश्वकपमा सहभागी ३२ मध्ये ३१ राष्ट्रका मुख्य प्रशिक्षक गोरो वर्णकै छन् । सिसे मात्र कालो वर्णका प्रशिक्षक हुन् । सेनेगलले २००२ पछि विश्वकपमा स्थान बनाउँदा उनै सिसेको रणनीतिमा सफल भएको थियो । फेरि, २००२ को विश्वकप प्रसंग उठ्दा सेनेगलले फ्रान्समाथि सनसनीपूर्ण जित निकालेको कसले भुल्न सक्छ !
त्यसमा पनि सिसेकै सटिक पासमा स्ट्राइकरले एक मात्र निर्णायक गोल गरेका थिए । उनी तत्काल सेनेगलका कप्तान पनि थिए । सिसे सेनेगल फुटबल इतिहासमा खेलाडी र प्रशिक्षक भूमिकामा सर्वाधिक सफल व्यक्तित्व हुन् । यो इतिहासबारे उपस्थित पत्रकारलाई राम्रो ज्ञान थियो । एक युरोपियन पत्रकारले सिसेसँग अलिक फरक खालको प्रश्न राखे ।
‘तपाईं मात्र किन विश्वकपभरिकै कालो रङ (वर्ण)को प्रशिक्षक हुनुभयो ?’ यो प्रश्न आउँदा सिसे अलिकति रिसाए । तर, उनले यसै प्रश्नलाई आधार मानेर मिडियासामु खुलस्त कुरा राखे । त्यो पत्रकार सम्मेलन प्रशिक्षक सिसेमय नै भयो । सिसेले सहज रूपमा उत्तर दिए, ‘किन यो संसारमा कालो वर्णका मानिस हुँदैन ? यदि यो वर्णका मानिस हुन सक्छन् भने प्रशिक्षक पनि अवश्य हुन्छन् ।’ ३२ राष्ट्रबीच एक्लो कालो वर्णका प्रशिक्षक हुन पाउँदा सिसे आफूलाई गौरवान्वित ठान्छन् । उनी भन्छन्, ‘यो सत्य हो, यहाँ रसिया आएका ३२ राष्ट्रका प्रशिक्षकमध्ये म मात्र एक्लो कालो वर्णको प्रशिक्षक हुँ, म आफूलाई भाग्यमानी र गौरवान्वित ठान्ने गर्छु ।’ संसारमा कालो र सेतो वर्णबीचको भेदभाव राख्दा नै फुटबलको विकास नभएको उनको तर्क छ । फुटबललाई सामान्य रूपमा लिन उनले आग्रह गरे ।
‘संसारमा कालो र सेतो रङको कुरा भइरहेका कारण नै फुटबल विकास नभएको हो, यसले हामीजस्तो अफ्रिकन राष्ट्रलाई ‘डिस्टर्ब’ गरेको छ,’ विश्लेषण गर्दै उनले थपे, ‘अहिले विश्वकपमा कालो वर्णका एक प्रशिक्षक मैदानका टच लाइनमा उभिएर खेलाडीलाई निर्देशन दिइरहेका छन् ।’ सेनेगल फुटबलको विगत र वर्तमान इतिहास जान्न आएका मिडियापर्सन सिसेको कालो वर्णसम्बन्धी एकोहोरो जवाफ आइरहँदा नाजवाफझैँ भए ।
सिसेले उपस्थित पत्रकारहरूकै अनुहार कालो बनाउने क्रममा फुटबल कालो र सेतो वर्णको आधारमा खेल्ने खेल नभएको स्पष्ट पारे । प्रशिक्षक सिसे कडा शब्दमा भन्छन्, ‘फुटबलमा कालो र सेतो भन्ने हुँदैन, मैदानभित्र प्रवेश गरेपछि सबै एकै वर्णका हुन्छन्, त्यो हो, केवल फुटबल…फुटबल ।’
सिसे त्यतिमा नै रोकिएनन् । उनले भने, ‘२१औँ शताब्दीमा रंगभेदी कुरा गर्नेहरू देख्दा मलाई आश्चर्य लाग्ने गर्छ । अहिलेको समयमा पनि यस्तो कुरा भइरहँदा म स्तब्ध हुन्छु, संसारमा सबै मानिस शिक्षित हुँदै छन् र भइरहेका छन्, अनि फेरि उनीहरू नै कालो र सेतो भन्दै हिँड्ने ?,’ उनको प्रश्न थियो ।
पश्चिमेली राष्ट्रमा मात्रै रंगभेदी कुरा उठ्ने उनको तिखो टिप्पणी रह्यो । सिसेले पश्चिमेली शब्द उचारण गर्दा पत्रकार सम्मेलनमा एक पत्रकारले पुनः प्रश्न गर्न खोजे । सिसेले आफ्नो भनाइ नसकिएको र पछि उत्तर दिने जनाए । सिसेको प्रत्युत्तरपछि ती पत्रकार आफ्नै कुर्सीमा बसे ।सन् २००२ का सेनेगलका कप्तान सिसेले फेरि भन्न थाले, ‘अफ्रिकामा सबै काला नै छन्, तर अपवादका रूपमा कोही गोरा नि छन् है ।’ अफ्रिकामा गोरा मानिस पनि छन् भन्दा पत्रकारहरू हाँस्न थाले |
यता, सिसे अन्त्यमा कुनै दिन कालो वर्णकै अफ्रिकन राष्ट्रहरू विश्व च्याम्पियन बन्ने दाबी गर्दै ड्यासबाट उठ्दै धन्यवाद दिए । पत्रकार सम्मेलनमा उपस्थित मिडिया पर्सनहरू आफ्नो खास चासोको विषयबारे सिसेले जानकारी नदिँदा खल्लो अनुहार बनाएर बाहिरिए । सिसे पश्चिमेली मिडियाका पत्रकारसमक्ष आफ्नो भनाइ राख्न पाउँदा दंग परिरहेका थिए ।नयाँ पत्रिका |
२० जुन २०१८