घिसिङको ‘ताम्बा ह्वाइ’ पुस्तक लोकार्पण
याम्बु – ताम्बा संघ नेपालका केन्द्रीय सदस्य घिसिङ समाजका उपाध्यक्ष कृतधावा तामाङ घिसिङद्वारा लिखित पुस्तक ‘ताम्बा ह्वाइ’को लोकार्पण भएको छ ।
शनिबार काठमाडौं सुकेधारास्थित दियो फूडल्याण्ड एण्ड रेष्टुरेण्टमा एक कार्यक्रमका बीच तामाङ समुदायको संस्कृतिपरक पुस्तक लोकार्पण गरिएको हो । लेखकले आफ्नो दोलखा सैलुङ गाउँपालिका वडा नं. १ लगायत वरिपरि ठाउँका ह्युलठिम (ठाउँको संस्कार) मा विवाहमा ताम्बाको महत्व र ताम्बाले गाउने गीत उतारेका छन् । पुस्तकमा साङ-सेरकेम, खेङा, ठुङ्सा-बाप्सा र रिमठिम शिर्षकमा गीत (ह्वाई) समावेश गरिएको छ ।
सैलुङअनलाइन डट कमद्धारा आयोजित विमोचनमा प्रमुख अतिथ्यता ग्रहण गर्दै लेखक लामा टि. ग्याल्छनले यो पुस्तक समग्रमा ताम्बाको ह्युलठिम (ठाउँको रिति) सम्बन्धी रहेको बताए । लेखकले ताम्बाको शैलीमा गीत (ह्वाई), विचार सम्प्रेषण गरेको बताए । अब फेरि ल्याउँदा पुस्तकलाई सबैतिर खोज गरेर उत्कृष्ठ ल्याएमा राम्रो हुने बताएका थिए ।
कार्यक्रममा मोक्तान समाजका महासचिव, लेखक ध्यानबहादुर मोक्तानले अन्तरजातिय विवाहमा ताम्बाको उपस्थिति नहुन आग्रह गरेका छन् ।
त्यसैगरी पाख्रिन समाजका अध्यक्ष मणी लामा पाख्रिनले तामाङ समुदायको जन्मदेखि मृत्यु संस्कार, चलनचल्ती र हामीले ब्यक्त गर्न खोजेको कुराहरु उल्लेख रहेको बताए । उनले थपे,- किताबको आकार र मुल्यले वास्तविकता निर्धारण गर्न सक्दैन, लेखकले लेख्दा परिश्रम, खोज नै ठुलो मुल्य रहेको बताए ।