आज स्पेन र पोर्चुगल भिडन्त, यो कारण पनि हेर्न नछुटाउ

विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् ।
एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै अघि बढ्ने लक्ष्यमा दुबै टिम रहेका छन् ।
हेड टु हेड
पोर्चुगल र स्पेनबीच अहिलेसम्म ३५ वटा खेलमा प्रतिस्पर्धा भएको छ । अहिलेसम्मको नतिजालाई हेर्ने हो भने स्पेन हावी भएको देखिन्छ । स्पेनले १७ खेल पोर्चुगललाई पराजित गरेको छ भने ६ खेलमा पराजित भएको छ । त्यस्तै, स्पेन र पोर्चुगलले १२ खेलमा बराबरी खेलेका छन् ।
सन् २०१० को विश्वकप फुटबलमा पोर्चुगल र स्पेनबीच अन्तिम १६ मा भेट भएको थियो । जुन खेलमा पोर्चुगल स्पेनसँग १—० गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । यही विश्वकपको उपाधि स्पेनले जितेको थियो । सन् २०१२ मा युरोकपमा पोर्चुगल र स्पेनबीच सेमिफाइनलको खेलमा भेट भएको थियो । जुन खेलमा स्पेनले पेनाल्टीमा पोर्चुगललाई ४—२ गोलले पराजित गर्दै फाइनल पुगेको थियो । युरो कप २०१२ को उपाधि पनि स्पेनले जितेको थियो ।
यस्तो छ विश्वकपमा स्पेन र पोर्चुगलका इतिहास
स्पेन
स्पेनको विश्वकपमा इतिहास भने पुरानै छ । इटालीमा सम्पन्न भएको दोस्रो विश्वकप सन् १९३४ देखि सहभागिता जनाएको स्पेनले अहिलेसम्म १ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ । विश्वकपमा पहिलो पटक स्पेनले सहभागिता जनाउँदा स्पेनले आफ्नो उपस्थिती बलियो देखाएको थियो । दोस्रो विश्वकपको क्वाटरफाइनलमा इटालीसँग १—० गोलले पारजित भएपछि स्पेन विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९३८ मा विश्वकपमा भने स्पेन छनोट हुन सकेन । दोस्रो विश्व युद्धको कारण १२ वर्षपछि सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा स्पेन चौथो भएको थियो । स्पेनले समुह चरणमा अमेरिकालाई ३—१ ले, चिलीलाई २—० ले र इंग्ल्याण्डलाई १—० गोलअन्तरले पराजित गरेको थियो । फाइनल राउण्डमा भने स्पेन उरुग्वेसँग २—२ गोलको बराबरीमा रोकिएनपनि ब्राजिलसँग ६—१ र स्वीडेनसँग ३—१ गोलअन्तरले पराजित भएको थियो ।
सन् १९५४ र १९५८ को विश्वकपमा भने स्पेन छनोट हुन सकेन । सन् १९६२ र १९६६ मा समूह चरणबाटै बाहिरिएको स्पेन १९७० र १९७४ मा पुनः छनोट हुन सकेन ।
सन् १९८२ को विश्वकप भने स्पेनले पहिलो पटक आयोजना गर्न पाए । आफ्नै भूमिमा भएको विश्वकपमा स्पेन दोस्रो चरणभन्दा माथि पुग्न सकेन । सन् १९८६ को विश्वकपमा भने स्पेनले क्वाटरफाइनलसम्मको यात्रा तय ग¥यो तर क्वाटरफाइनलमा बेल्जियमसँग पेनाल्टी सुटआउटमा ५–४ ले हार्दै विश्वकपबाट बाहिरिएको थियो ।
सन् १९९० मा अन्तिम १६ सम्म पुगेको स्पेनको विश्वकप यात्रा सन् १९९४ को मा भने फेरी क्वाटरफाइनलमै सीमित बन्यो । यसबेला स्पेन क्वाटरफाइनलमा इटालीसँग २–१ गोलको सिकार बनेको थियो । १९९८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २००२ को विश्वकपमा फेरी क्वाटरफाइनल मै पराजित हुन पुगेको थियो । यसपटक भने आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुदै स्पेन क्वाटरफाइनलबाट बाहिरिएको थियो । सन् २००६ मा जर्मनीमा भएको विश्वकप समूह चरण पार गर्न नसकेको स्पेन अन्ततः २०१० को भने उपाधि चुम्न सफल भयो । यस पटक भने फाइनलमा नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै स्पेनले इतिहास रचेको थियो । यो खेलमा नायक बनेका थिए सन्यासको संघारमा रहेका आन्ड्रेस इनिएस्टा । उनकै गोलमा स्पेनले उपाधि चुमेको थियो ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।
प्लेयर्स टु वाच
आन्ड्रेस इनिएष्टा
दक्षिण अफ्रिकामा सम्पन्न भएको २०१० को विश्वकपको उपाधि पहिलो पटक स्पेनले जित्दा इनिएस्टा नायक बनेका थिए ।
जुलाई ११, २०१० स्पेनको लागि अविस्मरणीय दिन हो । यो दिन स्पेनिसहरूले सधै सम्झिरहने दिन पनि हो । फाइनल खेलमा इनिइस्टाको गोलबाट स्पेनले नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो । त्यतिबेला हिरो सावित भएका इनिएस्टा अहिले आफ्नो फुटबल करिअरको उतरार्धमा रहेको छ ।
२०१४ मा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । यो विश्वकपमा भने इनिएस्टाको जादु चलेन । ३४ वर्षीय मिड्फिल्डर इनिएस्टाले सन् २००६ देखि विश्वकप अहिलेसम्म ३ वटा विश्वकप खेलिसकेका छन् भने यो विश्वकप उनका लागि अन्तिम हो । सन् १९९४ देखि फुटबल करिअर थालेका इनिएस्टाले केही दिनअघि मात्रै बार्सिलोनालाई स्पेनिस ला लिगा लिगको उपाधि दिलाएर विदा भएका थिए । २२ वर्षसम्म बार्सिलोनाबाट खेलेका इनिएस्टा अहिले जापानिज क्लब भिसेल कोबीमा आवद्ध छन् ।
सर्जिओ रामोस
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न भएको विश्वकप फुटबलको उपाधि स्पेनले पहिलो पटक जित्दा मुख्य खेलाडी थिए, सर्जिगो रामोस ।
सन् २००५ देखि राष्ट्रिय टिममा परेका ३२ वर्षीय रामोसको यो विश्वकप चौथो हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि रामोसले विश्वकप खेल्न थालेका हुन् । उनले खेलेको पहिलो विश्वकप २००६ मा स्पेन अन्तिम १६ सम्म पुगेको थियो । अन्तिम १६ मा फ्रान्ससँग १–० गोलअन्तरले पराजित भएसँगै स्पेनको विश्वकप यात्रा समाप्त भएको थियो ।
सन् २०१० को विश्वकपको उपाधि स्पेनले उचाल्दा डिफेन्स लाइन रामोसले सम्हालेका थिए । विश्वकपको उपाधि स्पेनले जित्दा उनको मुख्य भूमिका थियो । रक्षापंति निकै कडा बनाउदै विपक्षी टिमका फरवार्डलाई चल्न नदिएको रामोसले सन् २०१४ को विश्वकप फुटबलमा भने राम्रो गर्न सकेनन् । यो विश्वकपबाट भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।
फिफाले आयोजना गर्ने प्रतियोगितामा रामोसले अहिलेसम्म ५४ खेलबाट ७ गोल गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका कप्तान समेत रहेका रामोसले केही दिनअघि उनकै कप्तानीमा रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
विश्वकपका लागि स्पेनिस टोली
गोलकिपर : डेभिड डि गेय, केपा एरिजोलागा, पेपे रिना
डिफेन्डर : डेनी कार्भजल, एल्भारो ओड्रिओजोला, जेरार्ड पीके, सर्जिओ रामोस, नाचो फर्नान्डेज, सेसर एज्पिलिक्युटा, जर्डी अल्वा, नाच मोनरियल
मिड्फिल्डर : सर्जियो बस्वेट्स, साउल निगुएज, आन्ड्रेस इनिएष्टा, थिएगो अल्बान्टारा, इस्को, मार्को एसेन्सिओ, डेभिड सिल्भा, कोक
फरवार्ड : लुकास भिक्वेज, डिएगो कोष्टा, रड्रिगो, लेगो एस्पास
पोर्चुगल
विश्वकपको उपाधि दाबेदारको हैसियत राख्ने पोर्चुगल बलियो टिम हो । फुटबलको महाकुम्भ विश्वकपमा पोर्चुगलले ६ पटक प्रतिस्पर्धा गरिसकेको छ ।
जसमा पोर्चुगलले दुई पटक सेमिफाइनलको यात्रा तय गरेको छ । सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले त्यसपछि सन् १९८६, २००२,२००६, २०१० र २०१४ मा सहभागिता जनाएको छ । यो विश्वकप पोर्चुगलका लागि सातौ पटक हो ।
सन् १९३८ बाट विश्वकप छनौट खेल खेल सुरु गरेको पोर्चुगलले सन् १९६६ मा मात्र विश्वकप खेल्ने अवसर पाएको थियो । पोर्चुगलले विश्वकप फुटबलको पहिलो सहभागितामै आफ्नो उपस्थिति बलियो देखाएको थियो । सन् १९६६ इंग्ल्याण्डमा सम्पन्न विश्वकपको सेमिफाइनलमा पोर्चुगल इंग्ल्याण्डसँग २—१ गोल अन्तरले पराजित हुँदै तेस्रो स्थानतर्फ धकेलिएको थियो । तेस्रो स्थानका लागि पोर्चुगलले सोभियत युनियन २—१ ले पराजित गरेको थियो ।
सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लामै समय कुर्नु परेको थियो । पोर्चुगलले दोस्रो पटक मेक्सिकोमा आयोजना भएको सन् १९८६ को विश्वकपमा सहभागिता जनाएको थियो । जुन, पोर्चुगलले २० बर्षपछि पुन विश्वकप खेलेको थियो । यो विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।
सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा पनि पोर्चुगलको यात्रा समूह चरणमै सीमित बनेको थियो । पोल्याण्डलाई ४—० गोल अन्तरले हराएपनि पोर्चुगल अमेरिकासँग ३—२ र दक्षिण कोरियासँग १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । सन् २००६ मा जर्मनीमा आयोजना भएको १८ औं संस्करणको विश्वकपमा पोर्चुगलले चौथो स्थान हासिल गरेको थियो । सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १—० गोल अन्तरले पराजित हुदै उपाधि जित्ने होडबाट बाहिरिएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा पोर्चुगल आयोजक राष्ट्र जर्मनीसँग ३—१ गोल अन्तरले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो । त्यस्तै, सन् २०१० को विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो भने २०१४ को विश्वकपमा पोर्चुगलले समूह चरण पनि पार गर्न सकेन ।
प्लेयर्स टु वाच
क्रिष्टियानो रोनाल्डो
विश्वकप फुटबलमा चर्चित खेलाडी हुन् पोर्चुगलका कप्तान क्रिष्ट्रियानो रोनाल्डो । सन् २००३ देखि राष्ट्रिय टोलिमा आबद्ध भएका रोनाल्डोले सन् २००६ मा जर्मनीमा भएको विश्वकप खेलेका थिए ।
उनले इरानविरूद्द गोल गरेका थिए । जुन गोल रोनाल्डोको विश्वकपमा पहिलो थियो । क्वाटरफाइनलको खेलमा इंग्ल्याण्ड र पोर्चुगलबीचको खेलमा गोलरहित बराबरी हुदाँ पेनाल्टी सुटआउट गरिएको थियो भने रोनाल्डोले पनि गोल गरेका थिए । इंग्ल्याण्डलाई पेनाल्टीमा ३–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको थियो । यद्यपी सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।
दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकप फुटबलमा पनि रोनाल्डोले गोल गरेका थिए । समूह चरणको खेलमा उत्तर कोरियालाई पोर्चुगललले ७–० गोलअन्तरले पराजित गर्दा रोनाल्डोले एक गोल गरेका थिए । समूह जी बाट उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको पोर्चुगल स्पेनसँग १–० गोलअन्तरले पराजित भएको थियो ।
सन् २०१४ को विश्वकप पोर्चुगलको लागि विर्सन लायक बन्दा रोनाल्डो पनि असफल भएका थिए । आफ्नै कप्तानीमा पोर्चुगल समूह चरण पनि पार गर्न नसक्दा रोनाल्डोलाई त्यसबेला निकै पिर परेको थियो । यद्यपी समूह चरणको अन्तिम खेलमा पोर्चुलले घानालाई २–१ गोलअन्तरले पराजित गर्दा रोनाल्डोले पनि एक गोल गरेका थिए ।
रोनाल्डोले अहिलेसम्म २००६, २०१० र २०१४ को विश्वकप गरी जम्मा ४ गोल मात्रै गरेका छन् ।
सन् १९९२ देखि १९९५ सम्म आन्द्रोन्हीहा क्लबबाट व्यावसायिक फुटबल शुरु गरेका थिए । उनी २००९ देखि हालसम्म स्पेनको रियल मड्रिड क्लबमा छन् ।
पेपे
पेपे त्यस्ता खेलाडी हुन् जसले विपक्षी टिमका खेलाडीलाई सहजै रोक्न सक्छन् । सन् २००७ देखि राष्ट्रिय टिमका नियमित सदस्य बनेका पेपेले आवश्यक परेको बेला आफ्नो टिमलाई जित दिलाउन सक्ने हैसियत राख्छन् ।
९५ खेलबाट ५ गोल गरेका पेपेले सन् २०१० र २०१४ को विश्वकप खेलेका थिए । ३ नम्बर जर्सी लगाउदै पोर्चुगलको डिफेन्स सम्हाल्ने पेपे अहिले ३५ वर्षका भए ।
सन् २०१६ को युरोकप पोर्चुगलले जित्दा मुख्य खेलाडी थिए पेपे ।
विश्वकपका लागि पोर्चुगल टिम
गोलकिपर : एन्थोनी लोपेज, रुइ पाट्रिसियो, बेटो
डिफेन्डर : ब्रुनो आल्भेस, केड्रिक सोअरेज, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफेल, रिकार्डो पेरेइरा, रुबेन डियास
मिडफिल्डर : एड्रियन सिल्भा, ब्रुनो फर्नानडेज, जोआओ मारिओ, जोआओ मोंटिनो, मान्युअल फ
र्नानडेज, विलियम कर्भाल्हो,
फरवार्ड : क्रिस्टियानो रोनाल्डो, आर्नेट सिल्भा, बेर्नान्डो सिल्भा, गेल्सन मार्टिन, गोन्कालो गुइडिज, रिकार्डो
एजेन्सी