किम-ट्रम्प बहुप्रतिक्षित ऐतिहासिक वार्ता : के के भए सहमति ?

जेठ २९, सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीचको बहुप्रतिक्षित ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । वार्तामा दुई देशका शीर्ष नेताहरुले विभिन्न सहमतिमा हस्ताक्षर गरेका छन् । किमले आफ्नो देशको आणविक निशस्त्रीकरण गर्ने पुनः प्रतिबद्धता जनाउँदै विश्वले निकै ठूलो परिवर्तन देख्ने अभिव्यक्ति समेत गरेका छन् ।
ट्रम्पले पनि वार्ताको सफलतासँगै किमलाई आफ्नो देशमा आउन निम्ता दिएका छन् । वर्षौ पुरानो वैरीलाई ट्रम्पले सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस अघि सोचिएभन्दा सकारात्मक ढङ्गले सम्पन्न भएको वार्तामा किम बीच भएका सहमति निम्नानुसार छन्ः
१.आफ्नो देशका नागरिकको शान्ति तथा समृद्धिको चाहनाअनुसार दुई देशबीच नयाँ कूटनीतिक सम्बन्ध स्थापना गर्न अमेरिका र उत्तर कोरिया प्रतिबद्धता छ ।
२.कोरियाली प्रायद्वीपमा स्थायी र स्थीर शान्ति स्थापनाका लागि अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्नेछन् ।
३.सन २०१८ को अप्रिल २७ मा पानमुञ्जोममा भएको घोषणाअनुसार कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रिकरण पूरा गर्ने तर्फ काम गरिनेछ ।
४. अमेरिका र उत्तर कोरियाले पीओडब्लु/एमआईएलाई पुनःजीवित गर्न र यसमा सुधार ल्याउन प्रतिबद्ध छ ।
दुबै देशका नेताहरुले यथाशीघ्र सम्झौता लागू गर्ने सहमति देखाएका छन् । सिङ्गापुरमा किमसँगको भेटपछि उनीसँग विशेष सम्बन्ध जोडिएको र उत्तर कोरियासँगको आफ्नो सम्बन्ध पनि निकै फरक हुने अभिव्यक्ति ट्रम्पले दिएका छन् । सम्झौताले विश्वमा नयाँ आशा छरेको विश्लेषण गरिको छ । यसले दुई देशबीचको दशकौं लामो तनाव र शत्रुता समेत मेट्न मद्दत गर्ने विश्लेषकहरु बताउँछन । तर केहीले राजनीतिक विश्लेषकहरुले भने वार्ताले स्पष्ट नतिजा नदेखाएर प्रतिकात्मक आशा मात्रै छरेको बताउँछन् ।
दुई पक्षबीच हुने थप वार्ता अन्त्यमा निशस्त्रीकरणमा गएर टुङ्गिन्छ भन्ने अस्पष्ट भएको वाशिङ्गटन स्थित बौद्धिक समूह फाउन्डेशन फर डिफेन्स अफ डेमोक्रेसिजका सिनियर फेलो एन्थोनी रुगेरोले बताए । यो १० वर्षभन्दा लामो समय अघि अमेरिका र उत्तर कोरियाबीच भएको वार्ताको पुनःअभिव्यक्ति जस्तो मात्रै देखिएको उनको भनाई छ । सम्झौतामा उत्तर कोरियामाथिको प्रतिबन्ध बारे केही बताइएको छैन । न त दुई देशबीच शान्ति सम्झौता कहिले हस्ताक्षर हुन्छ भन्ने बारे नै केही भनिएको छ । त्यसैले पछिल्लो सम्झौतालाई २ देशीय सम्बन्धमा कोशे ढुङ्गा मान्दैनन् रुगेरो ।