युरोपियन देश लिथुआनिया पठाउने भन्दै लाखौंको ठगी !

काठमाडौँ, जेठ २७ – युरोपियन देश लिथुआनिया मा रोजगारीका लागि पठाउने भन्दै एक म्यानपावरले छ लाख ठगी गरेको छ ।
काठमाडौँको गोंगबुमा रहेको ‘लिंक स्टार म्यानपावर’ले प्रतिव्यक्ति तीन लाखका दरले छ लाख रुपैया ठगी गरेको हो ।
सर्लाहीका सिताराम चौधरी र मनोज चौधरीसँग २०७३ साल फागुन ३ लिंक स्टार म्यानपावरको प्रतिनिधि भीम राईले युरोपियन देश लिथुआनिया पठाउने भन्दै जनही तीन लाखका दरले रकम उठाएका थिए । १६ महिना बितिसक्दा पनि लिथुआनिया नपठाइएपछि पीडित सिताराम र मनोज आफूले तिरेको रकम फिर्ता पाउनुपर्ने भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुगेका छन् ।
लिथुआनिया सँग द्विपक्षीय श्रम सम्झौता भएको छैन तर वैदेशिक रोजगारीका लागि लिथुआनिया खुला रहेको छ । युरोपेली देश भएकाले पारिश्रमिक तथा अन्य सुविधा धेरै हुन्छ भन्ने लालच देखाएर अहिलेसम्म नामै नसुनिएको देशमा मान्छे पठाउन म्यानपावर र एजेन्टहरू सक्रिय भएका हुन् ।
वैदेशिक रोजगार विभागमा उजुरी दिँदै पीडित मनोज चौधरी आफूले म्यानपावरमा बुझाएको रकम ब्याजसहित फिर्ता पाउनुपर्ने बताए ।
राहत तथा उद्धार शाखाका निर्देशक उद्धव रिजालले लिंक स्टार म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर कारवाही अगाडि बढाउने आश्वासन दिएका छन् । म्यानपावर कम्पनीले राखेको धरौटी रकमबाट पीडितहरूलाई ठगिएको रकम फिर्ता गरिने रिजालले लोकान्तरलाई बताए ।
वैदेशिक रोजगार विभागको परिसरमै भेटिएका लिंक स्टार म्यानपावरका प्रतिनिधि भीम राईले पीडितहरूको पैसा छिटै फिर्ता गर्ने प्रक्रियामा म्यानपावर रहेको दावी गरे पनि करिब १६ महिनासम्म फिर्ता नपाएको पैसा छिटै फिर्ता आउला भन्ने नलागेको पीडितको भनाइ छ ।
वैदेशिक रोजगारका लागि सरकारले छुट्याएको गन्तव्य मुलुकको बारेमा राम्रोसँग जानकारी नभएकोले पीडितहरूको संख्या बढिरहेको छ । मलेसिया लगायतका ६ वटा खाडी देशहरूमा ‘फ्री भिसा, फ्री टिकट’को व्यवस्था भएपनि रोजगारीका लागि खोलिएका अन्य देशहरूमा जानेले कति पैसा तिर्नुपर्छ भन्ने विषयमा सरकार पनि प्रष्ट छैन ।
निर्देशक रिजालले लिथुआनिया जानको लागि बढीमा ८० हजारसम्म बुझाउन सकिने बताए । रिजालका अनुसार त्यो भन्दा बढी म्यानपावरले लिएको पाइएमा कारवाही हुन्छ । तर हाकाहाकी रसिद नै दिएर तीन/तीन लाख असुल्दा पनि उक्त म्यानपावर कम्पनीलाई हालसम्म कसैले कारवाही गर्न सकेको छैन ।