सिरियाका राष्ट्रपति बशर अल–असद किमलाई भेट्न उत्तर कोरिया जाँदै , पहिलो राष्ट्रप्रमुखलाई स्वागत गर्दै

सिरियाका राष्ट्रपति बशर अल–असद उत्तर कोरिया जाने योजनामा भएको बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार सन् २०११ मा देशको सत्ता सम्हालेपछि उत्तर कोरियाली नेता किम जोंग उनले पहिलो पटक कुनै राष्ट्रप्रमुख नेतालाई स्वागत गर्दैछन् ।
हालै किम जोंग उन कूटनीतिक मोर्चामा निकै सक्रिय देखिएका छन् । उनले मे मा चीनका राष्ट्रपतिसँग भेटघाट गरे र यस महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उनको भेट प्रस्तावित छ ।
यद्यपी, सिरियाले असदको उत्तर कोरियाको भ्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । सिरियालाई उत्तर कोरियाको सहयोगी देशको रुपमा चिनिन्छ । दुबै देशमाथि रासायनिक हतियारको विषयमा एक अर्कालाई साथ दिएको आरोप लाग्दै आएको छ । यद्यपी, यी दुबै देशले यस्तो आरोप अस्विकार गर्ने गरेको छ ।
उत्तर कोरियाको समाचार एजेन्सीले असदको भ्रमणको मितिबारे कुनै जानकारी दिएको छैन ।एजेन्सीलाई उद्धृत गर्दै गत बुधबार असदले आफू किम जोंगलाई भेट्न उत्तर कोरिया जाने तयारीमा रहेको जानकारी दिएको बीबीसीले बताएको छ ।
बीबीसीका अनुसार असदले किम जोंग उनले अन्तिम जीत हाँसिल गर्नेछन् र दुबै कोरियाली देशलाई एक गराउन उनी सफल हुने बताएका छन् ।
एजेन्सी