तामाङ परिषद्को चौथो बिश्व सम्मेलन भारतको मिरिकमा ३ दिन सम्म हुने

याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन आगामी २०१८ डिसेम्बर १४, १५ र १६ तारिख (मङ्सिर २८, २९ र पुस १ गते) भारतको मिरिकमा आयोजना हुने भएको छ । परिषद्को जून १ मा मिरिकमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
चौथो अन्तर्राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अखिल भारतीय तामाङ बौद्ध संघको मिरिक शाखालाई दिइएको छ । बैठकले विभिन्न विषयगत समितिहरू पनि गठन गरेको छ । जसअनुसार विधान संशोधन समिति, तामाङ बौद्ध पञ्चाङ्ग समिति, तामाङ संस्कार संस्कृति सुझाव समिति रहेका छन् । सम्मेलनसम्बन्धी जानकारी तथा सहभािगताका लागि परिषद् अब छिटै विभिन्न देशमा क्रियाशील संघसंस्थालाई पत्राचार गर्ने तयारी गरेको छ ।
परिषद्का अध्यक्ष महेन्द्रजंग तामाङको अध्यक्षतामा बसेको बैठकमा परिषद्का सल्लाहकार पार्वती मोक्तान, अखिल भारतीय तामाङ बौद्ध संघका अध्यक्ष तथा परिषदका उपाध्यक्ष केएम तामाङ, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष कुमार योञ्जन तामाङ, घेदुङका अध्यक्ष मोहन गोले, अखिल भारतीय तामाङ बौद्ध संघका कार्यकारी अध्यक्ष पासाङ तामाङ, महासचिव एमके योञ्जन लगायतका उपस्थिति रहेको थियो । बैठकमा भारतको दार्जिलिङ, खर्साङ, डुवर्स, कलकत्ता, सिक्किम, कालिम्पोङलगायतका स्थानबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।