विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा बनेको ‘बोल माया’ युट्युब ट्रेडिङको नम्बर १ मा (भिडियो)

याम्बु – विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १ मा छ। सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ। धेरैपछि नेपाली लोकगीत ‘युट्युब ट्रेडिङ’ को १ नम्बरमा आएको छ।
सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ। नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ। कतार र संयुक्त अरब इमिरेट्समा पनि उक्त गीत युट्युब ट्रेडिङको धेरै अगाडि आएको छ। गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ।
‘गीतमा हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ’, सर्जक सपूतले भने, ‘छोटो समयमै धेरैले मन पराउनुभएको छ, प्रतिक्रिया राम्रो आएको छ।’
विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सके सफल होइने पाठ आफूले सिकेको सपूतको भनाइ छ। सपूत आफैं निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उनकै छ। गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ। गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ। गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ ।
गीतको मर्म र भावलाई भिडियोमा जीवन्त ढङ्गले उतार्न निर्देशकका हिसाबले सपूत सफल देखिएका छन्। भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय र घटनाको प्रस्तुतीकरण नाटकीय लाग्दैन।
‘यथार्थ र वास्तविकता दिने कोशिश गरेका छौं’, सर्जक सपूतले भने, ‘आफ्नै घरगाउँमा छायाङ्कन गरिएकाले पनि धेरै सजिलो भयो।’ भिडियोको छायाङ्कन सपूतकै जन्मथलो बागलुङ धम्जामा गरिएको थियो । रासस