१२३ ओटा मातृभाषा जर्गेना गर्नेतर्फ विशेष कदम चाल्नुपर्छ

कपिलवस्तु, जेठ ९ । विद्यार्थीहरुको ज्ञानको स्तर वृद्धिका लागि पठनपाठनको भाषा मातृभाषामा हुनुपर्ने भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले बताएका छन् ।
बुधबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित ‘शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता तथा स्तर पहिचानसम्बन्धी सर्वेक्षण गोष्ठी’मा उनले अवधी भाषाको उद्गमस्थल कपिलवस्तुमा शिक्षासँग सरोकार राख्ने सबै पक्षले मातृभाषा जर्गेना गर्नेतर्फ विशेष कदम चाल्नुपर्ने बताए ।
डा. अवस्थीले अवधी भाषालाई व्यावहारिकरुपमा प्रयोगमा ल्याउन आयोगले विभिन्न तहमा सुझाव संकलन गरी त्यसको दीगो व्यवस्थापनमा जोड दिनेसमेत बताए ।
कार्यक्रममा भाषा आयोगका नेत्र दाहाल, शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डे, सीएलसी प्रोजेक्ट कपिलवस्तु, रुपन्देहीका फिल्ड अफिसर तुलसीराम लामिछानेलगायतले नेपालमा रहेका १२३ ओटा भाषाभाषीको संरक्षण एंव प्रवद्र्धनका लागि सरकार, नागरिक समाज र प्राज्ञिक व्यक्तिहरुबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।