इजरायल पठाइदिने भन्दै ठग्ने आरती गिरी जेल चलान

काठमाडौं – इजरायल पठाइदिन्छु भन्दै ठग्ने आरती गिरीलाई प्रहरीले जेल चलान गरेको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार लाख ८५ हजार ठगेर फरार रहेका महोत्तरीका आरती गिरीलाई प्रहरीले आज पक्राउ गरी जेल चलान गरेको हो ।
ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको २०७० को फैसला अनुसार एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकेका गिरीलाई आइतबार कमलपोखरीबाट पक्राउ गरी जेल चलान गरेको हो ।
गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको हो ।
गिरीले ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी पदमसुन्दरी श्रेष्ठबाट तीन लाख ३० हजार र गीता श्रेष्ठबाट एक लाख ५५ हजार रुपैयाँ लिएर भागेका थिए । पक्राउ गिरीलाई वैदेशिक रोजगार ठगी अनुुसार कारबाही गरिएको ब्युरोले जनाएको छ ।
उज्यालो अनलाइन बाट
जेठ ६,२०७५