नविना लामा – मेरो श्रीमान् मेरो पहिलो शक्ति हो

काठमाडौं- भनिन्छः सामान्य मानिसले पनि असाधारण शक्ति प्रर्दशन गर्न सक्छ यदी उसले समयमै त्यो शक्ति देखाउने मौका पायो भने या अवसर प्राप्त गर्यो भने। त्यसमा आफ्नो मेहेनत र त्यसको निरन्तरता पनि महत्वपूर्ण पक्ष बन्ने गर्छ। त्यस्तै एक प्रतिनिधि पात्र हुन सांसद नविना लामा।
विकट बस्ती, पिछडिएको समुदाय र सामान्य परिवारमा जन्मिए पनि नविनाको बालमस्तिष्कले सामाजिक विभेद, असमानता र सम्मानको अभाव महसुस गर्यो र त्यसको अन्त्यका लागि उनले राजनीति यात्राको थालनी गरिन्।
लामाको जन्मस्थल काभ्रेको महेन्द्र मावि मादनकुँडारीको प्रारम्भिक कमिटी र जिल्ला कमिटीको उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियू सचिव, साझा विद्यार्थी फोरमको सभापति समेत बनेकी लामाले अनेरास्वीयको उपध्यक्ष, महासचिव हुँदै अध्यक्ष हुँदै विद्यार्थी आन्दोलनमा होमिएका बेला प्रतिनिधिसभामा तत्कालिन एमाले र हाल नेपाल कम्युनिष्ट पार्टीको समानुपातिक सांसद बन्ने मौका पाएकी छन्।
राजनीति सुरु गर्दा उनले यी सबै उपलब्धि हासिल हुन्छन भन्ने सोचेकी थिइनन्। तर जीवनको महत्वपूर्ण समय विद्यार्थी आन्दोलनमा खर्चिरहदा र अहिले सांसद बन्दा हिजोआज उनलाई पनि आफू देश या पार्टीको नेतृत्व गर्ने पदमा पुग्ने इच्छा जागेको छ। त्यही अनुरुप उनले आफ्नो कामलाई सशक्त बनाउने कसरतमा जुटिरहेकी छिन्।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले आफू मात्र नभई आमजनता आशावादी बनेको र अब उनीहरुको न्यूनतम आवश्यकता पूरा गर्दै मुलुकको विकासमा तीव्रता दिनुको विकल्प नभएको उनको निष्कर्ष छ।
राजनीतिक क्षेत्रमै महिलाको प्रतिनिधित्व दयनीय भएका बेला लामा आफ्नो काम र योगदानको कदर गर्दै समानुपातिक सांसदको पद दिलाएकोमा नेतृत्वप्रति अभार प्रकट गर्छिन्। उनी भन्छिन्, ‘यो बेला राम्रो काम गर्ने र सिक्ने दुवै अवसर मेरो लागि। तर पनि प्रत्यक्ष चुनाव जितेर आउने धोको भने बाँकी नै छ।’ उनी त्यसैका लागि अहिले दौढधूप लागिसकेकी छिन्।
राजनीतिक भेटघाट र छलफलमा अत्यन्तै व्यस्त लामाले भर्खरै मात्र विवाह १२ वर्षे प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा स्थापित गरेकी छिन्।अनेरास्वियूका पूर्वकेन्द्रीय सदस्य एवं व्यवासायी प्रविण श्रेष्ठसँग वैवाहिक सम्बन्धसँगै उनको पारिवारिक जिम्मेवारी पनि बढेको छ।
लामा भन्छ्नि’, मेरा लागि उहाँले आफ्नो राजनीति यात्रालाई तिलाञ्जली दिनुभएको पक्कै हो। त्यो नै मेरो पहिलो शक्ति बनेको छ, राजनीति यात्रालाई अघि बढाउने।’
कम उमेरै लामाले प्राप्त गरेको राजनीतिक सफलता, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र उनको वैवाभिवक जीवनका पक्षबारे उनी र उनका पती प्रविणसँग देशसञ्चारकी संवादाता दीपा दाहालले खोतल्ने प्रायस गरेकी छन्। देश सन्चार बाट
जेष्ठ ६, २०७५ मा प्रकाशित