मौलिक हकसम्बन्धी कानुन निर्माणको काम समयमै सकिन्छः मन्त्री तामाङ

काठमाडौं– सरकारले मौलिक हकसम्बन्धि कानुन निर्माणको काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले तोकिएको समय भित्रै मौलिक हकसम्बन्धि कानुन निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गतेभित्र मौलिक हकसम्बन्धि कानुन निर्माणको काम सम्पन्न गरि सक्नुपर्नेछ । मन्त्री तामाङले तोकिएको समय भित्र सम्पन्न हुने गरी कानुनको मस्यौदा निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विभिन्न ४१ किसिमको कानुन मध्ये २० वटा कानुन निर्माणका लागि मस्यौदा निर्माणको काम अन्तिम चरणको पु¥याइएको पनि जानकारी दिए । उनले केही कानुनको मस्यौदा १ हप्ताभित्रै संघीय संसदमा पेश गर्ने तयारी गरिएको पनि बताए ।
मन्त्री तामाङले विधेयक प्रतिस्थापनसम्बन्धि कानुन निर्माणको काममा पनि ढिलाई नहुने स्पष्ट पारे । उनले बजेट अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्ने योजना पनि अघि सारे । मन्त्री तामाङले नमूना कानुन उपलब्ध गराएर भएपनि प्रदेश र स्थानीय तहको कामलाई सहज बनाइएको दावी समेत गरे ।