इजरायलले प्यालेस्टीनी प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गरेको आरोप

राष्ट्रसंघका मानव अधिकार प्रमुखले प्यालेस्टीनी प्रदर्शनकारीहरूमाथि इजरेलले अत्यधिक बल प्रयोग गरेको बताएका छन्।
सोमबार जेरुसेलममा नयाँ अमेरिकी राजदूतावासको उद्घाटनको विरोध प्रदर्शनमा उत्रिएका प्यालेस्टिनीहरुविरुद्ध इजरेलले अत्यधिक बल प्रयोग गरेको जेइद राद अल हुसेनले मानव अधिकार परिषद्को विशेष बैठकमा बताएका हुन्।
प्रतिक्रिया
उक्त प्रदर्शनका क्रममा दर्जनौं प्यालेस्टीनीहरूले ज्यान गुमाएका थिए।
जिनिभामा भएको बैठकमा बोल्दै जेइद राद अल हुसेनले गाजामा मानिसहरुलाई विषाक्त वातावरणमा थुनिएर राखिएको बताए।
उनले गाजामा दुवै पक्षमा भएको क्षतिमा ठूलो अन्तर भएको बताउँदै इजरेलले अत्यधिक बल प्रयोग गरेको प्रतिक्रिया दिएका छन्।
सोमबार ढुंगा प्रहारबाट एक जना इजरेली सेना घाइते हुँदा प्रदर्शनीस्थलमा ४३ जना प्यालेस्टीनीहरू मारिएको उनले बताए।
इजरेलकी राजदूतले चाहिं त्यहाँका इस्लामवादी शासकहरूले जानी-जानी मानिसहरूलाई नोक्सान पुग्ने गरी प्रदर्शनमा भाग लिन पठाइएको बताएकी छन्।
राष्ट्रसंघको बैठकले एउटा स्वतन्त्र छानविनको लागि आह्वान गर्नेबारे विचार गरिरहेको छ।
सीमामा भएको लगातार सातौं हप्ताको प्रदर्शनका क्रममा सोमवारमात्र इजरेली फौजबाट ६० जना प्यालेस्टीनीहरु मारिएका थिए।
गाजा क्षेत्रमा सन् २०१४ यता भएको त्यो नै सबैभन्दा हिंस्रक दिन थियो।