राजतन्त्रलाई धर्मसँग जोडेर प्रचार गर्नेहरु पाखण्डी-प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्र स्वीकार गरी गणतन्त्र दिवस तयारी समारोह समितिमा आबद्ध हुन आग्रह गरेका छन्। शुक्रबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस समारोह तयारी समितिको बैठकमा बोल्दै उनले व्यंग्यात्मक शैलीमा ज्ञानेन्द्रलाई सहज रुपमा आउन आग्रह गरे।
‘अनेक खालमा मनसायहरु, मनसुवाहरु छाडेर उहाँहरु पनि यो समारोह समितिमा बसेर खुुसीयाली मनाउन आए हुन्थ्यो,’ ओलीले भने, ‘बेकारको झन्झटमा लाग्नुभन्दा यसमा उहाँलाई हाइसन्चो हुन्छ।’ विष्णुको अवतार भन्दाभन्दा पूर्वराजामा हो कि भन्ने भ्रम परेको हुन सक्ने ओलीले बताए। आफूले भेटेर पूर्वराजासँग यसबारे कुरा गर्न चाहेको समेत उनले बैठकमा सुनाए।
ओलीले हिन्दु धर्म र राजतन्त्रलाई जोडेर प्रचार गर्नेहरुविरुद्ध आक्रोश व्यक्त गर्दै राजतन्त्रसँग हिन्दु धर्मको कुनै सम्बन्ध नभएको तर्क राखे। राजतन्त्रलाई धर्मसँग जोडेर प्रचार गर्नेहरु पाखण्डी भएको उनको टिप्पणी छ। ‘२ सय ४० वर्षको राजतन्त्र र सनातन हिन्दु धर्मको इतिहास एउटै हो?’ उनले भने, ‘यो भ्रम हटाउन जरुरी छ।
धर्म र राजतन्त्रको विषयलाई जोडेर ‘चलाख पण्डित’ तथा केही बुद्धिजीवीहरुले समेत जनतामा भ्रम फैलाउने काम गरेको उनले आरोप लगाए। गणतन्त्र दिवस सरकारको निजी जस्तो भएकाले यो वर्षदेखि जनताकै गणतन्त्र दिवसका रुपमा मनाइने प्रधानमन्त्री ओलीले बताए।
आगामी जेठ १५ गते सरकारले गणतन्त्र दिवस मनाउँदैछ। त्यसकै तयारीका लागि प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको हो। नेपाल लाइभा बाट