इजरायलमा भएको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी कृषि मन्त्री खनालको डायरी

-चक्रपाणी खनाल बलदेव, कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री
मन्त्री हुनेवित्तिकै विदेश जादिनँ भनेर आन्तरिक रूपमा घोषणा गरेको थिएँ । इजरायलबाट निमन्त्रणा आएको थियो । त्यसलाई मैले अस्वीकार गरेँ तर पछि इजरायली दूतावासबाट कृषिसँग सम्बन्धित कार्यक्रम भएको र केही नयाँ कुरा सिक्न पाइने भन्दै फेरि अनुरोध भयो । त्यसपछि मैले मन्त्रालयका कर्मचारी, प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्षसँग प्रचण्डसँग पनि सल्लाह गरेँ । सबैतिरबाट जाँदा राम्रो हुन्छ भन्ने सुझाव आएपछि म इजरायल जाने निर्णयमा पुगेँ ।
वैशाख २५ देखि २७ सम्म तीन दिनको मुख्य कार्यक्रम थियो । कृषिसम्बन्धी तीन–तीन वर्षमा हुने २०औँ अन्तर्राष्ट्रिय कृषि पदर्शनी (एग्रिटेक) हुँदो रहेछ । विश्वका विभिन्न देशमा कृषि क्षेत्रमा सरकारसँग मिलेर काम गर्ने र लगानी गर्ने एउटा ‘मसाव’ नामको संस्था रहेछ ।
त्यसले नै विश्वभरी हेर्दो रहेछ । प्रदर्शनीको आयोजना उसैले गरेको रहेछ । त्यहाँ हाम्रोतर्फबट हामीले हाम्रो कुरा राख्यौं । ४० देशका कृषिमन्त्रीलाई बोलाइएको रहेछ । ठूलो सङ्ख्यामा कृषि विज्ञहरू पनि थिए । उनीहरूसँगको अन्तरक्रिया एक दिनभरी चल्यो । कार्यक्रम हेर्दा लाग्थ्यो, कृषिमा अलि पिछडिएका देशहरूलाई बढी महत्व दिइरहेको छ ।
दक्षिण अफ्रिकाबाट धेरै, ल्याटिन अमेरिकी देशबाट अलि थोरै, भियतनामा, म्यानमार, चीन र थाइल्यान्डबाट पनि धेरै सहभागी थिए । त्यसमा पछाडिरहेका देशको कृषिको अबका चुनौती के हुन् ? भन्ने विषयमा पनि गहन छलफल भयो ।
मैले झण्डै एक घण्टा कृषि मन्त्रीसँग छलफल गर्ने मौका पाएँ । त्यस भेटमा हामीले नेपालको कृषिको वर्तमान अवस्थाका बारेमा कुरा राख्यौं । हामीले भूमिलाई केन्द्रित गरी एउटै बाली ठूलो क्षेत्रमा व्यावसायिक रूपमा यान्त्रीकरण गरी लगाउने र यन्त्रहरूको प्रयोग गरेर ठूलो परिणाममा उत्पादन गरेपछि घाटा पनि नजाने कुरा राखेका थियौं ।
त्यसो गर्दा जमिन पनि खेर नजाने र लागत घाटा पनि नहुने, व्यावसायिक हिसाबले पनि सफल हुने कुरा राख्यौं । त्यस्तै कृषि प्रविधि जहाँ जसले सिकेको छ, त्यही सीमित हुने परिपार्टी अन्त्य गरी हस्तान्तरण गरेर प्रविधियुक्त बनाउने कुरा हामीले भेटमा राखेका थियौं ।
केही नमुना फर्म बनाउन चाहेको तर भएका समस्या राख्यौं । समग्रमा प्रविधिमा इजरायल धेरै अगाडि रहेछ । पानीको धेरै अभाव छ । समुन्द्रबाट पानी ल्याएर प्रशोधन गरी आफूले प्रयोग गर्ने र प्रयोग गरेपछि खेर गएको पानीलाई रिसाइकल गरेर खेतबारीमा प्रयोग गर्ने प्रविधि निक्कै अगाडि रहेछ ।
ग्रिन हाउस, गाई फर्मको राम्रो विकास गरेको रहेछ । तीन हजार गाई एउटै फाममा पालेको हे¥यौं । एउटा अर्गानिक कृषि फार्म र दाना उद्योग हे¥यौं । यो हेर्दा इजरायलको कृषि हामीभन्दा धेरै अगाडि रहेको पायौं ।
ड्रोन क्यामराबाट रिपोर्ट लिने, सबै काम कम्प्युटरबाट गर्ने, गाईले आज कति दूध दियो, कति दाना खायो, बिरामी पो भयो कि जस्ता कुराहरू सबै प्रविधिको माध्यामबाट हुने गरेको साह्रै राम्रो लाग्यो । त्यसलाई नेपालसँग तुलना गरें । नेपालमा पनि त्यस्तै प्रविधिको विकास गर्न मन लाग्यो तर यहाँ स्रोत र साधनको अभावले मन कुँडिइरहेको थियो ।
त्यस्तै एकीकृत फार्महरू कम्युनिटी बनाएर सञ्चालन गर्ने, किबुज यस्तै के भन्दो रहेछ, त्यसलाई कम्युन जस्तो बनाएका चलाउने सिस्टम पनि हेर्न लायक थियो ।
माटो ठीक छैन, ठीक छैन भन्नुको अर्थ बालुवा मात्र हो । माटोको मात्रा त केही प्रतिशत मात्र रहेछ । तर बालुवामा कसरी फलाउने ? प्रविधि भएपछि माटो पनि चाहिँदो रहेनछ । पानीमा फालाउने प्रविधि पनि रहेछ । त्यो पनि हेरेँ मैले ।
पानीमा फालाउने सिस्टम महँगो छ । त्यसलाई आवश्यक पर्ने तत्व पानीबाटै दिने त्यो प्रविधि नै महँगो रहेछ । अनि माटोमा फलाउने तरिका थोपा सिस्टम रहेछ । मल, पानीलगायत चाहिने तत्व सबै थोपा सिस्टमबाट ।
मौसम राम्रो छैन । पानी पर्दोरहेनछ । एकदमै नगण्य पर्छ भन्थे । पानी नपर्ने भएपछि त समस्या त हुने भयो तर त्यसलाई प्रविधिसँग जोडेपछि सबै सम्भव हुने । हाम्रो त मौसक कति राम्रो हो कति । त्यो प्रविधिलाई अहिले नै नेपालमा भित्र्याउन त सकिन्न । तर त्यहाँबाट सिकेर एउटा नमुना काम सुरु गर्ने र व्यावसायिक रूपमा लौजाने हो भने राम्रो छ ।
यन्त्रमा मात्र होइन, हामी सबै कुरामा पछि छौं । तर एउटा राम्रो पक्ष के छ भने हाम्रो माटो र मौसम राम्रो छ । सिंचाइ पनि उनीहरूले गर्ने जस्तो गर्न सक्ने हो भने त प्रयाप्त सिंचाइ गर्न मिल्छ । हाम्रो त सबै बगेर जाने पानी हो । त्यो सिस्टमबाट सिंचाइ गर्ने हो भने तराईमा त झन् कति राम्रो कति ।
इजरायलको कृषि धेरै प्रविधिमा आधारित रहेछ । पछिल्लो प्रविधि अवलम्बन गरेको छ । एकीकृत चेन प्रविधिमा आधारित रहेछ । एउटा कुरा पछि प¥यो भन्न पर्दैन । जमिन सरकारसँग, उसैले उपलब्ध गराउँदो रहेछ । श्रम कम्युनहरूले गर्छन् । बढीमा ३ प्रतिशत कृषिमा काम गर्छन् । उनीहरूले ९७ प्रतिशतलाई खाना पु¥याएर निर्यात गर्छन् । जब कि ६६ प्रतिशत नेपाली कृषिमा आश्रित छन् र पनि हामी आश्रित छौं । त्यो सबै प्रविधिले गर्दा सम्भव भएको हो ।
हामीले तत्काल सबै त्यस्तै गर्न त सक्दैनौं । तर तत्काल गर्न सकिने मैले देखेको के हो भने हामीसँग भएको मौज्दात प्रविधिलाई व्यवहारतः कसरी प्रयोग गर्ने ? एउटा योजना चाहिएको छ ।
दोस्रोमा हामीले कृषि सहकारी भनेका छौं । त्यसलाई कम्युनिटी मार्फत समूहमा काम गर्ने र समूहलाई पुग्ने जमिनका समस्या हटाएर सरकारले जमिन उपलब्ध गराइदिने । त्यसपछि प्रविधि प्रयोग गर्न सकिन्छ ।
त्यस्ता नमुना फार्महरू सञ्चालन गर्ने हो भने नेपालमा असम्भव भन्ने त छँदैछैन । इजरायलको काम गर्ने तरिका र हाम्रोमा भिन्नता भए पनि प्रविधिमा केही कुरा अघि बढाउन सक्छौं ।
हाम्रो क्षमता पुग्छ । अभाव भनेकै एकीकृत कृषि रणनीति सरकारसँग नहुनु हो । व्यावसायीले खेती गर्च चाहे सरकारले त उपलब्ध गराउन प¥यो नि । जमिनको समस्या समाधान गर्न भूउपयोग नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने, भूमि खण्डित हुन नदिने, जमिन बाँझो राख्न नदिने र कुनै पनि हालतमा जमिन बँझो राख्नेलाई स्वतः सरकारको मातहतमा आउने गरी कानुन तर्जुमा गर्ने र जसले बाँझो राख्छ उलाई सजायको व्यवस्था नगरे जमिनको समस्या समाधान हुँदैन, सरकारको मातहत पनि आउँदैन । यो भनेको भविष्यका लागि धेरै ठूलो उपलब्धि हुनेछ । रातोपाटीबाट
(कुराकानीमा आधारित)