जापानका प्रधानमन्त्रीलाई इजरायलका प्रधानमन्त्रीले जुत्तामा डेजर्ट सर्भ गरेपछि ….

काठमाडौं । खाना खाने टेवलमा जुत्ता ! त्यो पनि जापानी प्रधानमन्त्री सिन्जो अबेको डाइनिङ टेबलमा । हो, जापानी प्रधानमन्त्री आबे र उनको पत्नी अकेइको अघिल्लो साता भएको इजरायल भ्रमणमा यस्तै भयो । अबेलाई इजरायली बेन्जामिन नेतान्याहुले जुत्तामा डेजर्ट सर्भ गरेका हुन् ।
इजरायल भ्रमणको क्रममा मे २ मा उच्चस्तरीय वार्तापछि इजरायली प्रधानमन्त्री नेतान्याहुको सरकारी निवासमा जापानी प्रधानमन्त्रीलाई रात्रीभोज दिइएको थियो । भ्रमणमा आएका जापानी प्रधानमन्त्रीको जोडीलाई इजरायली सेलिब्रेटी सेफ सेगेव मोसेले तयार गरेको खाना खुवाइएको थियो ।
तर, खानापछि जब डेजर्टको पालो आयो, विभिन्न चकलेटहरु आकर्षक चम्किलो लेदरको जुुत्तामा सजाएर राखिएको थियो । इजरायलको लोकप्रिय दैनिक अखबार येडियोत अहारोनोतले सोमबार लेखेको छ, ‘जापानी कूटनीतिज्ञहरु, इजरायलका विदेश मन्त्रालयका अधिकारीहरु र जापानमा सेवा गरेका उच्चपदस्थ इजरायली कूटनीतिज्ञहरु यो देखेर आश्चर्यमा परे ।’
‘यो धेरै नै असंवेदनशील निर्णय थियो’ अखबारले एक वरिष्ठ इजरायली अधिकारीलाई उधृत गर्दै लेखेको छ । ‘जापानी संस्कृतिमा जुत्तालाई धेरै न तल्लो मानिन्छ । उनीहरुले घर भित्र कहिल्यै जुत्ता लगाउँदैनन् । उनीहरुको कार्यलयमा पनि जुत्ता भेट्नुहुन्न । यो त सरासर अपमान हो’ उनले भनेका छन् ।
अखबारमा अर्का जापानी कूटनीतिज्ञलाई उद्धृत गर्दैै भनिएको छ, कहीँ पनि यस्तो संस्कृति छैन, जहाँ तपाईले आफ्नो टेवलमा जुत्ता राख्नुहुन्छ । त्यस्ता विशेष सेफले के सोचे होला ? यदि यो रमाइलोको लागि मात्रै थियो भने पनि हामी यसबाट खुसी छैनौं ।’
इजरायलको विदेश मन्त्रालयले भने खानाको मेनु चयन गर्ने कार्यमा आफ्नो संलग्नता नभएको भन्दै बचाउ गरेको छ । ‘हामी सेफलाई सम्मान गर्छौं, उनी धेरै नै सिर्जनात्मक छन्’ मन्त्रालयलेले विज्ञप्ति जारी गर्दै भनेको छ ।
तर, अखबारमा रिपोर्ट प्रकाशित भएपछि मन्त्रालयले आफ्नो विज्ञप्ति सच्याउँदै थपेको छ, ‘जापानी प्रधानमन्त्रीलाई हामी उच्च सम्मान गछौं ।’
सेगेवको सिर्जनात्मक पाटो अघिल्लो वर्ष डोनाल्ड ट्रम्पको इजरायल भ्रमणको क्रममा पनि देखिएको थियो । त्यसबेला ट्रम्प र नेतान्याहुको जोडिएको टाउकोको आकारमा डेजर्ट सर्भ गरेका थिए ।
आइतबार सेगेवले गर्वका साथ उक्त विवादित खाना दुई देशका प्रधानमन्त्रीलाई सर्भ गरेको फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेका थिए ।
‘यो डेजर्ट अन्तराष्ट्रिय कलाकार टम डिक्सनले बनाएको कलाकृतिमा सर्भ गरिएको थियो, जसको कलाहरु विश्वभरिका मुख्य म्युजियमहरुमा प्रदर्शन गरिन्छ र पहिलोपटक खानाको लागि उनको कला प्रयोग भएको थियो । यो धेरै नै उच्चस्तरीय कलाको नमुना हो, जसमा धातुलाई जुत्ता बनाइएको थियो यो साँच्चै जुत्ता होइन’ सेगेवको पब्लिसिस्टले एक विज्ञप्तिमा भनेका छन् ।
इन्स्टाग्राममा फलोअरहरुले विभिन्न प्रतिक्रियाहरु दिएका छन् । कसैले यस्तो कूटनीतिक व्यक्तिको लागि खाना बनाउँदा संस्कृतिको बारेमा ख्याल गर्नुपर्ने लेखेका छन् । कसैले भने जुत्तामा खाना पस्किने काम नराम्रो हो भन्ने थाहा हुनको लागि कुनै पनि संस्कृतिका बारेमा थाहा हुननपर्ने लेखेका छन् ।
जुत्तामा डेजर्ट सर्भ गरेको घटना मात्रै जापानी प्रधानमन्त्रीको भ्रमणले निम्त्याएको विवाद होइन । शुक्रबार नेतान्याहुले आफ्नो फेसबुक एकाउन्टमा एक छोटो भिडियो पोस्ट गर्दै भ्रमणको मिडिया कभरेज कम भएको गुनासो गरेका थिए ।
अनलाइनखबर / वासिङ्टनपोष्टको सहयोगमा