प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक, शीरमा सिस्ने, केन्द्रमा लुम्बिनी

बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो ।
सांसदहरुले लगाउने लोगोमा प्रदेश पाँचका जिल्लालाई समेट्ने प्रयास गरिएको छ । लोगोमा सबैभन्दा माथि सिस्ने हिमाल छ । हिमालको माथि राष्ट्रिय झण्डा राखिएको छ ।
त्यसभन्दा तल बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीको अखण्ड ज्योती राखिएको छ यी सबैलाई दायाँ-बायाँबाट धान र जौंका बालाले घेरिएको छ । त्यसभन्दा पनि तल महिला र पुरुषको मिलाएको हात राखिएको छ । सबैभन्दा पुछारमा ‘प्रदेशसभा प्रदेश नम्बर ५’ लेखिएको छ ।
यसैगरी कर्मचारीहरुले लगाउने लोगोमा दायाँबायाँ राष्ट्रिय फूल लालीगुराँसले घेरेर बीचमा गौतमबुद्धको चित्र राखिएको छ । सबैभन्दा माथि हिमाल र हिमालको चुचुरोमा राष्ट्रिय झण्डा राखिएको छ ।
२०७५ वैशाख २४ गते