देउवा द्वारा पदाधिकारी मनोनित,उपसभापतिमा निधि, महामन्त्रीमा खड्का, र सहमहामन्त्रीमा महत

काठमाडौं, नेपाली कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।
कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको शुक्रबार बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले राससलाई जानकारी दिए ।
मनोनयन भएका तीनैजना पदाधिकारी सभापति देउवा पक्षका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उक्त निर्णयप्रति असहमति जनाएको बताइएको छ ।
कांग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ ।
विधानको सोही प्रावधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीलाई शुक्रबार मनोनयन गरेका हुन् । रासस
२०७५ वैशाख २१