५ सय लगानीमा लाखौं आम्दानी

लसुने (तेह्रथुम) — कहिलेकाहीँ जीवनमा यस्ता अप्ठ्यारा आइलाग्छन्, जसले जीवन जिउने तरिका नै परिवर्तन गरिदिन सक्छ । यस्तै भयो लालीगुराँस नगरपालिका ९ सोल्माका ३६ वर्षीय युवा मनबहादुर नेपालीलाई ।
तेह्रथुमको लालीगुराँस ९ संसारीमा खोलेको फर्निचर उद्योगमा काठका सामान बनाउँदै कामदारका साथमा उद्योगी मनबहादुर नेपाली । पैसा कमाउन विदेश जाने ध्याउन्नमा खाएको हन्डर र डुबाएको रकमले निराश नभई उनले थालेको उद्यमले सफल उद्यमीका रूपमा चिनिएका छन् ।
लगनशीलता र मिहिनेत भए थोरै लगानीबाट पनि मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण नेपालीले देखाएका छन् । १८ वर्षअघि ५ सय रुपैयाँ र ३ सय फिट काठबाट लसुने बजारछेउ सन्सारीमा सुरु गरेको फर्निचर उद्योगबाट नेपालीले १ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरिसकेका छन् ।
उद्योगको लगानी बढेर ३० लाख रुपैयाँ हाराहारी पुगेको छ ।
१८ वर्ष लाग्दै गर्दा छिमेकीको लहलहैमा खाडी मुलुक जान उनले १ लाख ६० हजार रुपैयाँ गुमाए । सयकडा ३ प्रतिशतका दरले ऋण काढेर काठमाडौं हान्निएका उनी भनेजस्तो कामका लागि भिसा नपाएपछि घर फर्किए । विदेश जाने ध्याउन्नमा काठमाडौं निकै धाए ।
तर राम्रो काम र कमाइ हुने भिसा पाएनन् । अन्त्यमा साहुको त्यही ऋण तिर्नका लागि फर्निचर व्यवसाय सुरु गरे । दु:खका बेला सुरु गरेको त्यही फर्निचर व्यवसाय उनका लागि जीवन बदल्ने माध्यम बनेको छ ।
बिनातालिम काम गर्दै सिक्दै गर्ने सोचाइसाथ सुरु गरेको फर्निचर उद्योगका उनी आफैं प्रमुख मिस्त्री हुन् । ४ कक्षा अध्ययन गरेका नेपाली आफ्नै फर्निचर उद्योगबाट मासिक १ लाख रुपैयाँभन्दा बढी कमाउँछन् । उद्योगमा उनले ५ जना कामदारलाई रोजगारी दिएका छन् । आफू जस्तै गरिबीको पीडामा परेका युवा उनका सहयोगी छन् । कामदारले १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक पाउँदै आएका छन् । उद्योगका लागि चाहिने काठ चिरान मेसिन, फर्निचरका समान बनाउने मेसिन, उद्योग भवनलगायत काममा १४ लाख रुपैयाँ लगानी गरेको नेपालीले बताए । उनको उद्योगमा पलङ, लोबेड, डाइनिङ सेट, दराज, कुर्सी, टेबललगायत समान तयार हुन्छन् । उद्योगमा चाहिने काठ चिरान मेसिन खरिदका लागि नेपालीलाई स्थानीय संसारीडाँडा सामुदायिक वन उपभोक्ता समूहले १ लाख २२ हजार रुपैयाँ अनुदान दिएर सहयोग गरेको छ ।
वन समूहले मेसिन खरिद गर्न सहयोग गरेबापत वन समूहलाई उनले मासिक १ हजार रुपैयाँ कर तिर्दै आएका छन् । आफूलाई पैसा दिएर सहयोग गर्ने संसारी डाँडा सामुदायिक वनमा आबद्ध उपभोक्ताले उद्योगमा काठ चिरान गर्न ल्याए चिरान शुल्कमा उनले १० प्रतिशत छुट दिएको बताए ।
उद्योग सुरु गरेको पहिलो तीन वर्षमा २१ लाख रुपैयाँ आम्दानी गरेको नेपालीको भनाइ छ । सोही आम्दानीबाट उनले जंगलबाट गोलिया ढुवानी र उद्योगमा तयार भएका काठका सामान ढुवानीका गर्न ट्रयाक्टर खरिद गरेका थिए । तर ट्रयाक्टरले भने सोचे जस्तो कमाइ गर्न सकेन । पछि उनले ट्रयाक्टर केही सस्तो मूल्यमा बिक्री गरे । उद्योगकै कमाइबाट नेपालीले सुनसरीको इटहरीमा १४ लाख रुपैयाँ लगानी गरेर २० धुर जग्गा किनेका छन् । त्यो जग्गाको मूल्य बढेर अहिले ३० लाख हाराहारी पुगेको छ । लसुने बजारमा घर बनाउँदै छन् । घर निर्माणमा लगानी बढेर २० लाख रुपैयाँ बढी पुगेको उनले बताए । गाउँमै अलैंची फल्ने जग्गा पनि उनले जोडेका छन् ।
उद्योगबाटै कमाएको ४ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुवाको उपचारमा खर्च गरेको उनको भनाइ छ । केही तल रहेको सोल्माको मंगलबारेमा पनि उनले काठ चिरान मेसिन राखेका छन् । त्यहाँ काम गर्ने अलग्गै कर्मचारी छन्। कान्तिपुरबाट |
प्रकाशित : वैशाख २१