हिन्दू राजतन्त्र फर्काउन षड्यन्त्र भईरहेको छ – गोपाल किराती

काठमाडौं– नेकपा माओवादी केन्द्रले एमालेसँग पार्टी एकताको पहल थालेपछि असन्तुष्ट बनेका गोपाल किरातीले नेपालमा फेरि एकात्मक हिन्दु राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
यस्तै नेपालको राष्ट्रिय स्वाधीनता, समाजवाद र समृद्धिका लागि श्रमिकवर्गको स्वामित्वमा राष्ट्रिय पँुजी निर्माण तथा व्यवस्थापनको राज्य नीति स्थापित गर्न, सम्पूर्ण वैदेशिक ऋण खारेज गरी नेपाली नागरिकलाई ऋण मुक्त पार्न, एकाधिकार चरित्रका सबै खाले परियोजनाहरु राष्ट्रियकरण र जनतामा निहित सार्वभौमसत्ताको अभ्यासका लागि सम्पूर्ण नीजि संस्था र नीजि सम्पत्ति राज्यको स्थानीय तहमा समुदायकरणको माग समेत किरातीले गरेका छन् ।
उनले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई धरपकड गर्ने काम भइरहेको भन्दै आपत्ति समेत जनाएका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक विज्ञप्ति निकाल्दै किरातीले प्रतिगामी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेमा जोड दिएका छन्।
यस्तै उनले १ नं प्रदेशलाई किरात–कोशी, २ नं प्रदेशलाई मधेश, ३ नं प्रदेशलाई नेवा–ताम्सालिङ, ४ नं प्रदेशलाई तमुवान–गण्डकी, ५ नं प्रदेशलाई थरुवान–मगरात तथा ७ नं प्रदेशलाई खसान–थरुवान नामाकरण गर्नुपर्नेमा माग समेत गर्दै सम्पूर्ण श्रमिकहरुलाई श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् ।
१८ बैशाख २०७५