बुद्धका नाममा राजनीतिक भर्ती र स्वार्थको काम, २३ वर्ष अगाडि सकिनुपर्ने काम अझै अपूर्ण

बुटवल, १७ वैशाख– लुम्बिनी : अर्थात् विश्व शान्तिको मुहान । आज २५६२ औं बुद्ध जयन्ती । लुम्बिनीलाई केन्द्रमा राखेर यसक्षेत्रको मात्रै होइन, मुलुककै पर्यटन विकास गर्ने कुरा धेरै पटक भएका छन् ।
विश्वभरका बौद्धमार्गीहरुको पवित्र तीर्थस्थलका रुपमा लुम्बिनीलाई विकास गर्ने घोषणा पनि कैयौं पटक भए । लुम्बिनीलाई केन्द्रमै राखेर बुद्धसँग सम्बन्धित यस क्षेत्रका अरु स्थानहरुलाईसमेत समेटेर ग्रेटर लुम्बिनीको अवधारणा आएको पनि धेरै वर्ष भइसक्यो । तर, झण्डै ४० वर्ष अघि बनेको लुम्बिनी गुरुयोजना अहिलेसम्म पूरा हुन सकेको छैन् । लुम्बिनी विकास कोषको एक हजार एक सय १५ बिघा क्षेत्रफलभित्र विभिन्न संरचनाहरु निर्माण गर्ने गरी गुरुयोजना बनेको थियो ।
सन् १९७८ मा जापानी प्रोफेसर केञ्जो टाँगेले यो गुरुयोजना बनाएर सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो तर, अहिलेसम्म पूरा भएको छैन् । गुरुयोजना अनुरुपका कामहरु पूरा नहुँदा यहाँका पुरातत्वविद्हरु मात्रै होइन बौद्धमार्गीहरु सबै खिन्न छन् । स्वयम् केञ्जो टाँगे नै यस्तो ढिलासुस्तीले आजित रहेका थिए ।
विकास कोष राजनीतिक भर्ती र स्वार्थको केन्द्र
यस अवधिमा गुरुयोजनाका कामलाई छिटो–छिटो सक्नु त परै जाओस् विकास कोषलाई राजनीतिक भर्ती र स्वार्थको केन्द्र बनाउने कामहरु बरु धेरै भए ।
राजनीतिक नियुक्ति भएर आएका पदाधिकारीहरुबीचको टकरावका कारण गुरुयोजना प्रभावित हुने गरेको छ । राजनीतिक भागवन्डाका आधारमा पदाधिकारी नियुक्त हुने र उनीहरुमा विषयगत विज्ञभन्दा राजनीतिक नेता कार्यकर्ताको रुपमा प्रस्तुत हुँदा समस्या भएको हो ।
पैसा पाएपछि जतिसक्दो अक्षम्य अपराधको पनि सहायक बन्ने पदाधिकारीदेखि गेटपालेसम्मका कैयौं प्रवृत्तिहरु छताछुल्ल हुँदै आएका छन् । मायादेवी मन्दिर परिसरको संवेदनशिल क्षेत्रमा गाडिएको अवस्थामा हालै भेटिएका विदेशीका ‘अस्तु’हरु यसैका पछिल्ला उदाहरण हुन् ।
गुरुयोजनामा यहाँको उत्तर–दक्षिण फैलिएको कोषको जमिनलाई तीन भागमा राखेर विकास गरिएको छ । पवित्र उधान अर्थात मायादेवी मन्दिरतर्फ पुरातात्विक क्षेत्र, बीच भागमा अन्तर्राष्ट्रिय बौद्ध विहारहरू र अर्कोछेउमा बौद्ध स्तूपासहित लुम्बिनी ग्रामका रूपमा क्षेत्र विभाजन गरिएको छ ।
सन् १९९७ देखि युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत उद्यान सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ, अशोक कालभन्दा अगाडिका इँटाका संरचना, बुद्धकालका संरचनासहितका महत्वपूर्ण पुरातात्विक वस्तु रहेका छन् । यो क्षेत्रको सुन्दर बनाउने तथा पुरातात्विक महत्वको पुष्करिणी पोखरीको निर्माण सम्पन्न भइसकेको छ ।
थेरबादी र महायानीका लागि केन्द्रीय नहरको पूर्व र पश्चिम भाग विभाजन गरिएको छ । त्यहाँ अहिलेसम्म २८ वटा विहार निर्माण भइसकेका छन् । श्रीलंका, बर्मा, थाइल्यान्ड, क्यानडा, कम्बोडिया, चीन, सिंगापुर, फ्रान्स, जर्मनी, जापान, भियतनाम, भारत र नेपालले समेत विहार निर्माण गरेको कोषले जनाएको छ ।
लुम्बिनी ग्राम क्षेत्रमा पर्यटकीय आवासका लागि केही संरचना निर्माण भएपनि अझै पूर्ण भएका छैनन् । यो क्षेत्रमा प्रशासनिक भवन, आवास, खानेपानी व्यवस्थापनका संरचनाहरू निर्माण हुँदैछन् । केन्द्रीय नहरमा मोटरेबल डुंगा चलाइएको छ । यो पनि नियमित हुन सकिरहेको छैन् । नहरछेउमा सोलार बत्तीहरु जडान गरिएको छ । सुरक्षाका लागि १६ किलोमिटर लामो पर्खाल निर्माण र एक सय ७५ थान सीसीटीभीसमेत यहाँ जडान गरिएको छ ।
यी तत्कालै देखिने संरचनाहरु हुन् । तर, गुरुयोजनामा उल्लेख भएका केही पूर्वाधारहरु अझै निर्माण हुन बाँकी छन् । निर्माण गर्न बाँकी १७ संरचनामध्ये १० वटा निर्माण प्रक्रियामा गएको कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको भनाइ छ ।
पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय ध्यान केन्द्र र ६ वटा ठूला सांस्कृतिक भवनहरू निर्माण गर्न बाँकी छ । यो हल मेडिटेशन हलका रुपमा निर्माण गर्ने तयारी छ जुन हलको राष्ट्रपति विद्यादेवी भण्डारीले आज शिलन्यास गर्ने कार्यक्रम छ । यस अघि लुम्बिनीमा आएका बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार जना अट्ने सभा हल निर्माणको घोषणा गरेका थिए । सभाहलाको डिजाइनका कामहरु भइरहेका छन् । पहिलो दुई वर्षमा एक खालको हल बनाउने गरी प्रक्रिया अगाडि बढेको योजना प्रमुख भट्टराईले बताए । यसका लागि मात्रै साढे २७ करोडको बजेट अनुमान गरिएको छ । थप काम समेतका लागि यो सभाहलको अहिलेको अनुमान करिब ४२ करोड रुपैयाँ रहेको बताइएको छ ।
टांगेको गुरुयोजना पूरा नहुँदै लुम्बिनी बृहत्तर गुरुयोजनाको अवधारणा आयो । त्यसमा लुम्बिनीसँगै कपिलवस्तु, रामग्रामसम्मका बौद्ध स्मारकहरूको विकास गर्ने योजना समेटिएको छ । कपिलवस्तुको तिलौराकोटमा उत्खननशिवाय अरू केही भएका छैनन् । यता नवलपरासीको रामग्राम क्षेत्रलाई भने धेरैले ओझेल परेको सम्पदाका रुपमा लिन्छन् । स्वयम् स्थानीय बासिन्दाहरु समेत यसको विकास र सम्बद्र्धनमा खासै सक्रिय नभएका गुनासाहरु कैयौंपटक पुरातत्वविद्हरुले बताउँदै आएका छन् । रामग्राम क्षेत्र युनेश्कोको सम्पदा सूचीमा पर्ने सम्भावनाको क्षेत्र हो । यहाँ बुद्धको अस्तुधातु रहेको छ ।
क्वाकको शान्ति सहर
कोरियन प्राध्यापक क्वाक योङहोनले त विश्वको शान्ति सहर लुम्बिनीलाई बनाउने परिकल्पना गरेका थिए । उनले लुम्बिनीको नयाँ गुरुयोजना बनाउन १४ वर्ष अध्ययन गरिसकेका छन् । कमलको फूलजस्तै आठ हजार मिटर क्षेत्रफलमा फैलिएको विश्व शान्ति सहर लुम्बिनीलाई बनाउने उनको परिकल्पना हो । यो परिकल्पना अनुरुपको निर्माणका लागि केही वर्ष अघि नै सरकारले स्वीकृती प्रदान गरेको थियो ।
रूपन्देहीका साविकका विभिन्न ११ वटा गाविसलाई समेटेर बनाइएको सो गुरुयोजना १५ वर्षभित्र सम्पन्न गर्ने योजना कोरियन प्रोफेसर क्वाकको थियो । यसअनुरुपका काम अगाडि बढ्न सकेका छैनन् । उदासिनताका कारण क्वाक पनि निराश बन्न लागेको उनका निकटहरु गुनासो गर्न थालेका छन् । क्वाकले केही वर्षअघि मन्त्रीस्तरीय बैठकमा सो योजना देखाएका थिए । वासिङ्टन डीसीसहितका विभिन्न सहरको गुरुयोजना बनाएका क्वाकले लुम्बिनी सहर वातावरण मैत्री र विश्वकै सबैभन्दा सुन्दर सहर हुने बताएका थिए ।
६ हजार चार सय ७५ हेक्टरमा फैलिएको सो सहरलाई क्वाकले कमलको फूलको आकार दिएका छन् । कमलको आठ पत्रजस्तै देखिने सो सहरलाई तीन भागमा विभाजन गर्दै पवित्र उधानदेखि कल्पवृक्षहरु सहितको पैदल मार्गदेखि स्थानीय गाउँ र जोडिएका पहाडमा होम स्टेसम्मको परिकल्पना गरेका छन् ।
गुरुयोजनामा सहरभित्र पाँचवटा रिङरोड, आठ/आठवटा पैदलमार्ग र सत्यमार्गहरू बनाउने कुरा पनि समेटिएको छ । उनको यो पन्ध्रबर्षे गुरुयोजनाको पूर्णताका लागि करिब ७२ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो । पहिलो चरणमा सडक, सिँचाइ र भौतिक पुनर्संरचनाको काम हुनेछ । त्यसका लागि ३२ करोड डलर खर्च हुनेछ । दोस्रो चरणमा आवासीय क्षेत्र, जमिनको प्रयोग गर्न ४० करोड डलर खर्च हुने अनुमान छ ।
ग्रेटर लुम्बिनीमा पर्ने क्षेत्रहरु
युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको लुम्बिनी क्षेत्र बाहेक रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लाका बुद्धसंग सम्बन्धित स्थानहरु सम्पदा तिलौराकोट, देवदह र रामग्रामलाई समेटेर ग्रेटर लुम्बिनीको अवधारणा ल्याइएको हो । यसको क्षेत्रफल पाँच हजार दुई सय ६० बर्गकिलोमिटरको रहेको विकास कोषले जनाएको छ । यो भूभाग शाक्यमुनी बुद्धको जीवन र जन्मभुमीसंग सम्बन्धित पुरात्तात्विक र धार्मिक मूल्यमा आधारित रहेको छ । पुरातात्वीक र आध्यात्मीक महत्वपलाई हेर्ने हो भने ती तिन क्षेत्र मध्ये तिलौराकोट र रामगं्राम आफैमा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्न सक्ने सम्भावित क्षेत्रहरु हुन् | लोकान्तरबाट
बैशाख १७, २०७५ मा प्रकाशित