हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

दुवईको जेलमा अमरका १५ वर्ष,गलेका बाबु र थाकेकी श्रीमती

काठमाडौं, वैशाख १३ – जनवरी २४ का दिन दार्चुलाका अमरबहादुर बम दुवईको जेलमा परेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो । अमरको रिहाईका लागि भाकल गरेर दार्चुलाको धारी गाउँमा बाबु र श्रीमतीले पालेको एउटा बोको ८ वर्ष पुगेपछि कालगतिले मर्‍यो । पहिलेको बोको मरेपछि भाकल गरेको अर्को बोको पनि अहिले ४ वर्षको भैसक्यो ।

दुवईको जेलमा अमरको बसाई लम्बिदा दार्चुलामा उनको रिहाईका लागि भाकल गरिएका बोका छिप्पिदै बुढा हुँदैछन् । अमरले पाएको मृत्युदण्डको सजायका बारेमा अखबार, अनलाइन, रेडियोमा धेरै खालका खबर बाक्लिदै गएका छन् । तर अमरको रिहाईका लागि घरमा पालेका बोका र जेलमा मृत्युदण्ड कुरिरहेका अमरको नियति उस्तै हुने हो कि भन्ने आशंका बाक्लिदै गएको छ ।

अरु त अरु राष्ट्रपति विद्यादेवी भण्डारीले युएईको राजकीय भ्रमण गर्दा पनि समकक्षीसित अमरका बारेमा चासो राख्नुभएको थियो । तत्कालिन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, सुशील कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि युएई सरकारसित अमरको जीवन रक्षाका लागि अनुरोध गरेका थिए । तैपनि अमर जेलबाट छुटेका छैनन् । अमरले टेलिफोनमा बताए अनुसार, अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनीमाथि कुनै पनि बेला फैसला कार्यान्वयन गर्न सक्छ ।

दुवईको जेलमा अमरको पहिचान

२०७४ चैत २७ गते अघिल्लै दिन टिकट काटेको जीप चढेर म दार्चुला बजारबाट उत्तरतिरको धारी गाउँ जाने बाटो लागेँ । छाँगाछुर भीरमा खनिएको भन्नु मात्रैको मोटरबाटो । घाम लाग्दा धुलोको कुइरी मण्डल हुन्छ भने पानी पर्दा सडकमै बर्खामासको खोलामा झैं भलबाढी कुद्छ ।

तैपनि भीर खोपेर मोटरबाटो खनेपछि धारी र महाकाली अञ्चलका उत्तरी क्षेत्रमा बसोबास दार्चुलावासीलाई धेरै सुविधा भएको छ । यो बाटो बन्नु अघि धारीबाट सदरमुकाम खलङ्गा आइपुग्न दुई दिन पैदल हिँडनुपर्थ्याे ।

भीर र पहरा काटेर पोहोर साल मात्रै खनिएको मोटरबाटोमा जीप चढेर दार्चुलाको सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिका ४ को धारी दौलास्थित अमरको घरमा पुग्दा रातो माटोले पोतेको घर उजाड उजाड थियो । अमरका बुवा कर्णबहादुर बम आँगनको डिलमा थकाई मारेर बस्नुभएको थियो । अमरकी श्रीमती धनिसा बम कुँडो खुवाउन खोर बाहिर निकालिएका खसीबाख्रा सिँयालमा सार्दै हुनुहुन्थ्यो ।

‘तीन चार वटा मन्दिरमा भाकल गरेका छौं, आठ वटा खसी काटौंला भनेर । कहीँ राँगो दिउँला भनेको छ,’ कुँडो खाँदै गरेकामध्येको ठूलो खसी देखाउँदै धनिसाले भन्नुभयो ।

दुवईको अल अविर सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय कुरिरहेका श्रीमान् अमर चाँडै फर्कुन् भनेर श्रीमती धनिसाले देउतासित भाकल गर्नुभएको छ । घरैमा पालेको एउटा खसी ४ वर्षको भयो (सुदूरपश्चिमतिर खसी पनि बली दिने चलन रहेछ) । भाकल गरेर पालेको एउटा खसी ८ वर्ष पुगेर मर्‍यो ।

श्रीमान् जेल परेको थाहा पाएदेखि धनिसाका आँखा ढुक्कसित निदाउन सकेका छैनन् । श्रीमानलाई जेलमुक्त गरेर नेपाल फर्काउन धनिसा कहाँ कहाँ मात्रै पुग्नुभएन । जिल्लाका नेतालाई गुहार माग्नेदेखि सहयोगका लागि ससुराको साथ लागेर दार्चुलादेखि सिंहदरबारमा मन्त्री र प्रधानमन्त्रीलाई भेट्न हात जोड्दै पुग्नुभयो । तर अहिलेसम्म धनिसाका श्रीमान् अमर फर्केर आएका छैनन् ।

यसरी धनिसाले श्रीमान् पर्खेर बसेको १४ वर्ष पूरा भयो । जेल परेको ४ वर्षसम्म त अमर कहाँ छन् भन्ने परिवारले थाहा पत्तो पाएन । अमरले घरमा जानकारी पनि गराएनन् । अमर घरबाट दिल्ली हिँडेका थिए । त्यसैले सुरुका ४ वर्ष कहाँ खोज्ने भनेर अमरको परिवारले कुनै भेउ पाएन ।

सन् २००९ मा अर्जुनबहादुर थापा युएईका लागि नेपाली राजदूत भएका बेला मात्रै अमर जेल परेको खबर बाहिर आयो । अर्जुनबहादुर थापाले जेल भ्रमणका क्रममा मृत्युदण्डको सजाय सुनाईएका अमरलाई भेट्नु भएको थियो ।

धनिसा : बिहेपछिका २० दिन र बिछोडका १४ वर्ष

घाम दिनहुँ फर्कि आउँछ र महाकाली पारीको डाँडा मुनि अस्ताउँछ । तर घाम अस्ताउने बाटो तिरै महाकाली नदी तरेर परदेश गएका अमर १५ वर्ष हुँदा पनि फर्केका छैनन् । त्यतिबेला अमर छिमेकी देश भारतको राजधानी दिल्लीको एक मार्वल कम्पनीमा गाडी चलाउने काम गर्थे ।

त्यसैबेला घरमा बिहे गर्ने कुरा चल्यो । लटिनाथ गाउँपालिका मार्माकी धनिसा सिंहसित अमरको मागी बिहे भयो । धनिसा त्यसबेला १४ वर्षकी मात्रै हुनुहुन्थ्यो । बिहे अगाडि धनिसा र अमरको चिनजान थिएन । पहिले देखिका कुटुम्ब दुवैतिरका अभिभावकको मन मिलेपछि उनीहरु दुईले साइनो जोड्न नाईं भनेनन् ।

भारतको उत्तराखण्डमा रहेको हरिद्वारमा देउता साक्षी राखेर अमरले धनिसाको सिउँदो रंग्याए, सँगै मर्ने बाँच्ने कसम खाए । त्यसरी भएको बिहेको २० दिन नबित्दै अमर परदेश गए । २० दिनको माया सम्झेर १५ वर्षपछि पनि धनिसा अमरलाई कुर्दैछिन् । अमर बाहेक अब उनको कोही पनि छैन ।
माइतीमा धनिसाको अभिभावक भन्नु वृद्ध उमेरकी एक्ली आमा मात्रै थिइन् । बुवाको पहिले नै निधन भएको थियो । खाउँलाउँ भन्ने उमेरका नव दम्पत्ति दाजु भाउजुलाई कालोज्वरोले बाँच्न दिएन । अथवा सिंगो परिवार भन्नु आमाछोरी मात्रै थिए ।

त्यसैले पनि धनिसाका लागि अमर संसारमा सबैभन्दा धेरै भर भएका मानिस थिए । तर समयले धनिसालाई ठग्यो । अमरको साथ बिहेपछि लगत्तै धर्मरायो । मंसिर महिनामा बेहुली बनेर धनिसा अमरको घर भित्रिइन् । बेहुली भित्र्याएको तीन हप्तामा अमर परदेश लागे ।

अमरको गन्तव्य थियो दिल्ली । अमरले दिल्ली फर्कन्छु भन्दा धनिसाले दुई चार महिना घर बसेर जानु भनेको पनि हो । तर अमरले दिल्लीमा कोठा खोजेर केही महिनापछि लिन आउँछु भनेर धनिसालाई फकाए । धनिसालाई पनि पहाडको दुःखबाट भाग्ने मन थियो । शहर हेर्ने, त्यही बस्ने र सुखले जीवन काटने रहर थियो ।

बिहे अघि कहिल्यै नदेखेका, तीन हप्ता मात्रै सँगै बसेका र १५ वर्षदेखि छुट्टा भएका श्रीमानको अनुहार धनिसालाई राम्ररी सम्झना छैन । पुरानो भएर धमिलो भएको अटो साइजको एकप्रति फोटो बाहेक अनुहार हेर्न अरु उपाय पनि छैन । परिवारसित भएको अमरको फोटो त्यति एउटा मात्रै हो । डेढ दशकमा अमरका अनुहार फेरिए । फेरिएको अनुहार कस्तो भयो होला, धनिसालाई थाहा हुने कुरा भएन । २५ वर्षको उमेरमा घरबाट हिँडेका अमर अहिले ४० का भए । पक्कै उनको अनुहार फेरियो होला ।

कलिलै उमेरमा बिहेवारी गरेकी धनिसाको अनुहार पनि फेरिएको छ । २९ वर्षमा हिँडदै गरेकी धनिसाको अनुहारको चाउरी टाढैबाट देखिन्छ । खुसीको रंग अनुहारबाट उडि गए जस्तो लाग्छ । अब त धनिसासित श्रीमानसित तीन हप्ता बिताएका समयको सम्झना र कल्पनाका चाङ मात्रै बाँकी छन् ।

‘दिल्ली, बम्बईबाट उहाँका साथीहरु आउँदा धेरै याद आउँछ । कोही छोरा मान्छेले गीत बजाइदिए भने याद आउँछ । गाउँमा कसैको बिहेवारी हुँदा याद आउँछ,’ धनिसाले भन्नुभयो, ‘आफ्ना मान्छेको क्याना नआउने भए याद त । थुप्रै आउने भए याद त ।’
दुवईमा अमरले जीवनमा कहिल्यै नचिताएको घटना भयो । त्यही कारणले अमर घर फर्केनन् । घरपरिवारले ४ वर्ष पछि थाहा पाए, अमर मान्छे मारेको आरोपमा जेल परेका छन् । हो, अमर २४ जनवरी २००३ देखि दुवईको जेलमा छन् ।

बरदुवईमा रहेको इण्डियन क्लबमा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भएको आरोपमा अदालतले दुई भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतसहित अमरलाई सन् २००३ मा नै मृत्युदण्डको सजाय हुने फैसला सुनाएको थियो । सँगै पक्राउ परेका ती भारतीय नागरिकले अमर निर्दोष रहेको लिखित बयान पनि दिएका छन् । तै पनि अमर छुटेका छैनन् ।

ड्राइभरी काममा दिल्ली पुगेका अमर परिवारलाई थाहै नदिई दुवई पुगेका थिए । दिल्लीमा भन्दा राम्रो कमाई हुने लोभ देखाएर मनोज र करनसिंहले नै अमरलाई दिल्लीबाट दुवई लगेका थिए ।

हिजोआज अमरसित धनिसाको महिनामा एक पटक फोनमा कुराकानी हुन्छ । फोनमा अमरले श्रीमतीसित भन्ने एउटै कुरा हुन्छ, हप्ता दुई हप्तामा काठमाडौंमा फोन गरेर मलाई निकाल्न के कसो कुरा चल्या छ भनेर सोधिखोजी गर्नु ।

धनिसालाई भने श्रीमानसित भन्नु पर्ने कुरा थुप्रै छन् । तर जेलबाट आएको फोनमा कुराकानी गर्न समय थोरै हुन्छ । चाहेर पनि नेपालबाट फोन गर्न पाइन्न । थोरै समयमा मनभरीका कुरा सुनाउन सकिन्न । धनिसाको मनको कुरा मनमै रहन्छ । केही मिनेटको कुराकानीमा १५ वर्ष भोगेका पीरव्यथा कसरी सुनाउन सकिएला र !

‘खान पाउँछन् कि पाउँदैनन् । ओड्ने ओछ्याउने छ कि छैन । घरमा जस्तो बिस्तारा नपाइएला जेलमा,’ श्रीमानलाई सम्झने बित्तिकै धनिसाका मनमा यस्तै कुरा खेल्छन् । उहाँलाई आफ्नो भन्दा सात समुन्द्र पारीको झ्यालखानामा बन्दी जीवन बिताइरहेका श्रीमानको चिन्ता लाग्छ । ‘हामी त सुखमा बस्या छम् । मकैको रोटी मात्रै भए पनि आफैले बनाएर खाएका छौं । उहाँलाई दुःख होला ।’

तै पनि एकपटक धनिसाले साहस बटुलेर अमरलाई भन्नुभयो, ‘यति वर्ष भयो, कसरी बसौं । कसरी नुनतेल चलाउँ । कसरी खाउँ ।’

बाहिरी संसार त परै जाओस, आकाश पनि सितिमिति देख्न नपाइने झ्यालखाना भित्र अमरको पनि के लाग्दो हो । मन त उडेर गाउँमै आइपुग्दो हो । तर ज्यान फलामे बार भित्र छ । तैपनि अमर श्रीमतीलाई ढाडस दिँदै फोनमा भन्छन्, ‘म जसरी पनि फर्केर आउँछु । हातगोडा छन् । बनाउ, खाउ । गोरु, बाख्रा पाल्नु । फर्केपछि त म छँदैछु ।’
आफ्नो मान्छे दुवईमा जेल पर्‍यो भनेर धनिसा चुपचाप हात बाँधेर बस्नु भएको छैन । धनिसाको जिन्दगी गाउँमै ब्यस्त छ । जिन्दगी चलाउन गाईभैंसी पालेर दुध बेच्नु छ । खसीबाख्रा पालेर खरिदेलाई बाटो लाउनु छ ।

नुनतेल, चामल, कपडा सबै धान्ने मेलो यही हो । मनभरी चिन्ता त धनिसालाई पनि छ । तर सुनिदिने कोही छैन । उमेर ढल्किदै छ । कोख रित्तो छ । आफूभन्दा पछाडि बिहे गरेकाहरुले छोराछोरी अघि पछि लाएको देख्दा मन दुख्छ ।

‘कान्छी देउरानीले छोरी बिहे गरेर पठाइन् । जेठाजुले म भन्दा पछाडि बिहे गरेका हुन् । उनको छोरीको बिहे गर्ने बेला भएको छ । धनिसा भन्नुहुन्छ ‘मेरा पछि बिहे गरेकाहरु सबैका छोराछोरी ठूला भएका छन् । आज मेरो यो उमेर भयो । कस्तो होला मलाई ।’
वृद्ध उमेरकी आमा भेटन माइतीघर नपुगेको डेढ वर्ष भयो । माइती बाहेक धनिसाको जाने अरु ठाउँ पनि छैन । त्यही माइती पनि खर्चको अभावले जान नपाउँदा बिरानो भइसक्यो । छोरा अमर जेल परेको सुनेपछि त्यही शोकले धनिसाकी सासु, अमरकी आमा मानमती बम स्वर्गे भइन् ।

‘म मरी जान्छु । कतै नजानु । यसै घरमा बस्नु । कुनै दिन मेरो छोरा आउँछ!’ मर्नुअघि मानमतीले बुहारी धनिसालाई यसो भनेर सम्झाइन् । सासुले भनेका यिनै कुरा धनिसाको गलामा अड्केर अहिलेसम्म कर्मघर छाड्नु भएको छैन । तर सासुआमाले भनेजस्तै उनको छोरो कहिले आउने हो, अझै कति पर्खनु पर्ने हो, टुंगो छैन ।

तै चाँडै फर्केलान् भन्ने झिनो आशा त छँदैछ धनिसालाई । उता जेलमा अमर कति पीरमा बाँचेका होलान । जतिबेला पनि फाँसीमा लडकाउने कुरा सोचेर कति फड्को हुँदो हो ।

कर्णबहादुर : अब देउताको भरमा

अमरले उनको गाउँ धारीको दौला पुगेर फर्केको थाहा पाएपछि जेलभित्रैबाट बेला बेला मलाई फोन गर्छन् । मैले पनि अमरलाई भन्ने कुरा धेरै छैनन् । उनको घरगाउँमा दुई दिन बस्दा देखेका कुरा सुनाउँछु ।

त्यतिबेलै सोध्छु, अमर जी तपाईंलाई कस्तो छ ? त्यत्रो पीरमा पनि उनी सजिलै भन्छन, ‘ठिक छ सर ।’ अमरले अहिलेसम्म जिन्दगीको आशा मारेका छैनन् । फोनमै भन्छन, ‘सबै पत्रकारलाई मेरो र परिवारको अवस्थाका बारेमा भनिदिनुहोला । सबैले सहयोग गरे भने त बाँचेर फर्कन्छु जस्तो लाग्छ ।’

अमर र धनिसाको मनमा जस्तै अमरका बुवा कर्णबहादुर बमको मनभरि पीरको भारी छ । भएका पाँचै सन्तान पखेटा पलाएर आफ्ना आफ्ना गुँडतिर लागे । उनीहरु आआफ्नै व्यवहारमा लागे । दुई छोरी कुटुम्बका घर गए । दुई छोरा छुट्टाभिन्न भइसके ।

कान्छी श्रीमतीपट्टीको नाबालक छोरा आफूसित राख्नुभएको छ । तर १० वर्षदेखि पिताको मन जेलमा रहेका माइला छोरा अमरमाथि छ । हुन त अमर पनि पखेटामा प्वाँख पलाएपछि उडि गएका हुन् । तर उनलाई परिस्थितिले खाडीको देशमा पिँजछोरो जेल पर्नु अघिसम्म कर्णबहादुरको घरव्यवहार राम्रैसँग चलेको थियो । छोराछोरी हुँर्कंदै थिए । आफ्नो जागिर पनि थियो । तर बुढेसकालमा कर्णबहादुरलाई चिन्ता र अभावले गलाउँदै लगेको छ । घर सम्हाल्नुपर्ने जिम्मेवारी अहिले पनि ६८ वर्षे कर्णबहादुरकै काँधमा छ ।

जेलमा परेको छोरा छुटाउन उहाँले चिनेका सबैलाई भेटेर हार गुहार माग्नुभयो । हिँड्न र गुड्न सकिने जति ठाउँ धाउनुभयो । त्यसो गर्दा दार्चुला जिल्ला विकास समितिमा कार्यालय सहयोगीबाट अवकाश लिँदा उपदानवापत पाएको तीन लाख रुपैयाँ सकियो । त्यतिले नपुगे पछि एक लाख २० हजार रुपैयाँमा एक खला बारी बेच्नुभयो । खर्च सकिएपछि कति मनकारीले खाना खर्च दिए । कतिले गाडी भाडा दिए । कतिले काठमाडौंमा बस्न होटल मिलाइदिए ।

अहिले वस्तुभाउको थोरै आयस्ता र गाउँमा दुखजिलो गरेको भरमा कर्णबहादुरले घरव्यवहार चलाउनु पर्छ । तैपनि जेलमा रहेका छोरा छुटाउने दौडधुप जारी छ । कर्णबहादुर भन्नुहुन्छ ‘छोरा छुट्ने भए यो घरजग्गाको पनि मतलव छैन । यो बिक्री गर्न पनि तयार छु । छोरा चाहिँ आउनुपर्‍यो ।’

मर्नुअघि उहाँको एउटै धोको छ, जेलबाट छोरो छुटाएर ल्याउने र बुहारीलाई छोराको जिम्मा लगाउने । आफ्नो भन्दा धेरै बुहारीको चिन्ता छ कर्णबहादुरलाई । ‘बालबच्चा भएको भए बनाएर खा भनेर छाड्न हुन्थ्यो । मागेर ल्याएर बिहे गरेकोलाई छोड्दा त पाप लाग्छ । यसै छोड्न भएन,’ सुस्केरा निकाल्दै कर्णबहादुरले भन्नुभयो । फोनमा कुरा हुँदा छोराले सरकारले युएई सरकारसँग ‘एकदम तगडाका साथ’ कुरा गरिदिए आउन पाउँछु होला भनेको छ । छोराको कुरा सुनेपछि उहाँको मनले त्यसै बस्न मान्दैन । त्यही आशले उहाँ दार्चुलादेखि दुई दिन एक रात बस चढेर काठमाडौं आउनुहुन्छ ।

अघिपछि कहिल्यै नपुगेका कर्णबहादुरलाई छोरो विदेशमा जेल परेपछि काठमाडौं आउजाउ गर्नुपर्ने भयो । एक चोटी होइन १० चोटी उहाँ काठमाडौं ओहोरदोहोर गरिसक्नुभयो । डा. बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइरालालाई प्रधानमन्त्री रहेका बेला उहाँले सिंहदरबार पुगेर भेटनुभयो ।

दार्चुला पुगेका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निवेदन गर्नुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी केन्द्रको पेरिस डाँडामा रहेको पार्टी कार्यालयमा पुगेर भेट्नुभयो । तर उहाँको हारगुहारले अहिलेसम्म केही लागेको छैन । डाको सुगा बनायो ।

छोरा भोलि आउला, पर्सि आउला भनेर पर्खेको १० वर्ष बित्यो । कहिलेकाहीँ कर्णबहादुरलाई लाग्छ, ‘अब आफू पनि मर्ने बेला भयो । छोरो पनि त्यसै मर्ने भयो ।’

काठमाडौं जान अब खल्तीमा पैसा छैन । छोराको शोकले श्रीमती बितेदेखि कर्णबहादुरलाई पत्नी शोक थपियो । त्यहीबेला देखि दमको रोग छ । उकालोओरालो गर्न गाह्रो पर्छ । आफ्नै दामलीहरु घरैमा खान्छन्, बस्छन् । अल्छी लाग्दा चौकतिर गएर गफ लडाउँछन् ।

तर ६८ वर्षे दमका रोगी कर्णबहादुरलाई कामले छाडेको छैन । त्यत्तिसम्म त कर्णबहादुरलाई ठिकै थियो । गाउँले र आफन्तले नै कुरा काट्दा उहाँको चित्त रेटिन्छ । कर्णबहादुर भन्नुहुन्छ ‘दौंतरीहरु बेलुकातिर दारु खाएर आउँछन् र फलानोको छोरो जेलमा छ, यस्तो छ उस्तो छ भन्छन् । मेरो दिलमा कस्तो होला । जाँड खानेसँग बोल्यो झगडा हुन्छ । छोरा आएपछि सुनाउँला भनेर सबै कुरा मनमा राखेको छु ।’राष्ट्रपति विद्यादेवी भण्डारी युएई गएका बेला त्यहाँका राजासित भेट गरेको खबर परिवार र गाउँलेले पनि थाहा पाए । अमर छुट्यो भनेर त्यो बेला धेरै खुसीयाली गरेछन् । तर, त्यो खुसीयाली धेरै समय टिकेन । अमर फर्केनन् ।

त्यो घटनापछि कर्णबहादुरले बेला बेला छोरोलाई सपनामा देख्न थाल्नुभएको छ । भन्नुहुन्छ ‘सपनामा कहिले खाली बस्या देख्छु । नजिक आए आए जस्तो देखिन्छ । ब्युझिँदा पनि त्यस्तै लाग्छ ।’

सपनाको देखेको छोरो बिपनामा घर आई पुग्ने कुरो भएन । हतास कर्णबहादुरलाई हिजोआज भाग्यमा विश्वास लाग्न थालेको छ । त्यसैले आजकाल उहाँ देवीदेवताको शरणमा पर्नुभएको छ । छोराका निम्ति भाकल गरेर पालेको खसी देखाउँदै कर्णबहादुरले भन्नुभयो, ‘मन्दिरमा भाकेको खसी छोरा नआइन्जेल त्यत्तिकै रहन्छ । जुन दिन आयो त्यससँगै ८ वटा खसी काटिन्छ ।’

देशका उच्चपदस्थ नेता, सांसद्लाई हात जोड्दा पनि छोरा फर्काउन नसके पछि कर्णबहादुरले आफ्ना कुल देवता कोल्से, केदार र ब्रह्मसित भाकल गर्नुभएको छ । काठमाडौं फर्कने क्रममा मलाई खलङ्गासम्मको जीप चढाउन आएका कर्णबहादुरले भन्नुभयो, ‘देउताले त छोरो छुटाउन प्रयास गरी दिन्छन् कि !’ रीतु थेबे/उज्यालो । 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution