एमाले र माओवादीको ब्यानर काण्ड : नियत कि नियति ?

रुसी कम्युनिस्ट नेता स्टालिन ७० प्रतिशत ठीक कि ३० प्रतिशत ठीक भन्ने विवाद नमिलेर फुट्ने गरेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले स्टालिनका पनि नेता लेनिनको फोटोका नाममा विवाद गर्नु अनौठो होइन ।
अनौठो यो पनि होइन कि एमाले र माओवादीको एकतामा ‘हैसियत’ को प्रसंग प्रत्येक कार्यकर्ताको आत्मसम्मानसँग गाँसिएको छ ।
तर, अनौठो के चाहिँ हो भने केपी ओलीले जुत्तासँग खुट्टाको साइज मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ भनिरहेका बेला कार्यकर्ता भने खुट्टा झिक्दै थिए । एउटै पार्टीका कार्यकर्ता हुन लागेका उनीहरुबीच अचम्मको ‘हेजीमोनी’ प्रकट भइरहेको देखिन्थ्यो ।
एउटा ब्यानरका लागि भएको विवाद र तीन घण्टासम्मको अवरोधले पार्टी एकीकरण सिलसिलाको मनोदशा पनि प्रकट गरेको छ ।
हेजीमोनीको अर्थ
आइतवार राष्ट्रियसभागृहमा देखिएको हुलदंगाको दृश्य लेनिनका नाममा भए पनि त्यसको अन्तर्यमा धेरै कुरा लुकेका छन् । एमाले हेजीमोनीको शिकार माओवादी पंक्ति कसरी भइरहेको छ भन्ने त्यो एउटा सानो दृष्टान्त पनि हो त्यो ।
वाम तालमेलको सिट बाँडफाँडमा ४० र परिणाममा ३० प्रतिशतमा खुम्चिएको माओवादी पंक्तिमा एमाले हेजीमोनी गहिरो ढंगले गढेको छ ।
हेजीमोनीको भनेको यस्तो राजनीतिक शब्द हो, जुन औपनिवेशिक कालमा बेलायतले विश्वका धेरै मुलुकमाथि उपनिवेश लादेर आफ्नो हेजीमोनी कायम गरेको थियो । पछि यो शब्द राजनीतिक र सामाजिक क्षेत्रमा ब्यापक प्रयोग भयो ।
युरोपका प्रख्यात मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीका अनुसार आफ्ना एजेण्डामा आम मान्छेको अनुमोदन लिनु र आफ्नो नेतृत्व स्थापित गर्नु हेजीमोनी निर्माण गर्नु हो । अर्थात आफ्नो नीति र नेतृत्वमा अरुलाई ‘डोमिनेट’ गर्नु राजनीतिक हेजीमोनी हो । हेजीमोनी यस्तो प्रवृत्ति हो,जसले एउटा पक्षलाई दमित अथवा लघुताभासको अवस्थामा पर्याउँछु भने अर्को पक्षलाई श्रेष्ठ देख्छ ।
प्रचण्डको मनोवैज्ञानिक कोरामिन
माओवादी पंक्तिमा रहेको एमाले हेजीमोनी बुझेका अध्यक्ष प्रचण्डले आफ्नो अभिव्यक्तिको शुरुमै आफ्ना कार्यकर्तालाई मनोवैज्ञानिक कोरामिन दिए ।
उनले हतारमा पार्टी एकीकरण गरेर फुर्सदमा पछुताउन नचाहेको मनको कुरा खुलासामात्र गरेनन्, त्यसभन्दा अगाडि बढेर भने-यसबीचमा लगातार हामीले एकीकरणको मोडालिटीमा छलफल गरेर तीन आधार तय गरेका छौं, १- सम्माजनक एकता २- समानताको सिद्धान्त ३- न्यायोचित एकता ।
प्रचण्डले भनेका तीनवटा आधार मूलतः एउटै हो । सम्मानजनक भने पनि, समानतामा आधारित भने पनि वा न्यायोचित भने पनि माओवादी पंक्ति एमाले हेजीमोनी नरहने मोडलका एकता चाहान्छ ।
अर्थात चुनावमा गरिएको ६०/४० वा त्यसपछि राष्ट्रियसभा र प्रदेश सरकारमा गरिएको ७०/३० को मोडालिटीमा पार्टीको सांगठानिक एकीकरण हुनुहुँदैन भन्नेमा माओवादी पंक्तिको आत्मसम्मान गाँसिएको छ ।
एमालेमा माओवादी गाभिएको वा बिलय भएको जस्तो सन्देश कतै पनि नदेखियोस् भन्नेमा सिंगो माओवादी पंक्तिको सबैभन्दा ठूलो चिन्ता र सरोकार देखिन्छ । एमाले पंक्तिमा ७० र ३० कसरी समान हुन्छ भन्ने प्रश्न अवश्य छ । उनीहरुले यसो भनिरहँदा समानता भनेको संख्यामा भन्दा बढी भावनासँग गाँसिएको हुन्छ भन्ने बिर्सन हुँदैन । संख्या स्थायी हुँदैन, तर भावना चाहिँ संख्याभन्दा संवेनदशील हुन्छ ।
माओवादीको घाउमा ओलीको मल्हम
एकताका वाइसिएल र युथफोर्सबीच देशभर झडप भइरहेका बेला भन्ने गरिन्थ्यो-एमालेको मुख छुच्चो, माओवादीको हात छुच्चो । पार्टी एकीकरण प्रक्रिया ठहरावमा पुगेका बेला जसरी माओवादी पंक्तिमा ‘एमाले हेजीमोनी’को लघुताभास छ, त्यसैगरी एमाले पंक्तिमा दम्भ प्रकट भइरहेको देखिन्छ । एमाले पंक्ति संख्यामा धेरै केन्द्रित हुनुभन्दा माओवादी पंक्तिको न जित्न किन नलाग्ने ? ओली स्वयंले आइतवार यो प्रश्नको जवाफ सांकेतिक रुपमा दिएका छन् ।
माओवादीबाट प्रकट भइरहेको यही चासो सम्बोधनका लागि हुन सक्छ, ओलीले सभागृहको सम्बोधनमा माओवादीका घाइते र अपांग योद्धाहरुप्रति सम्मानमात्र प्रकट गरेनन्, उनीहरुको उपचार र रेखदेखमा सरकारले नै सोच्नेसम्मको अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । उनले यसो भन्दा हलभित्र माओवादी कार्यकर्ताले ताली बजाएर स्वागत गरे ।
यसबाट के बुझ्न सकिन्छ भने एमाले माओवादी एकीकरण दुईवटा पार्टी एक हुने कुरामात्र होइन । प्राविधिकरुपमा दुई पार्टी मिल्दैमा मान्छेका मन मिल्दैनन् । विशेष गरी माओवादी पंक्तिले एमाले पंक्तिबाट सम्मानजनक, समानतामा आधारित वा न्यायोचित जे भने पनि हेजीमोनीमुक्त सम्बन्ध हो ।
ओलीले शरीरमा गोली बोकेर बसिरहेका माओवादी योद्धाहरुको उपचारको कुरा गर्दामात्रै पनि माओवादी पंक्तिले सम्मान महशुस गरेको छ । बेपत्ता र अपांगहरुलाई सम्झना गर्दामात्र पनि माओवादी कार्यकर्ताले न्यायको अनुभूति गरेका छन् । सम्भवतः माओवादीले भनिरहेको समानतामा आधारित र सम्माजनक एकताको अन्तर्य यसमा पनि गाँसिएको छ ।
ब्यानर काण्ड नियत कि नियति ?
पार्टी स्थापना दिवसका अवसरमा उत्पन्न भएको ब्यानर काण्ड पनि हेजीमोनीकै अभिव्यक्ति हो । केपी ओली र प्रचण्डले पार्टी एकता संयोजन समितिको नाममा एउटै कार्यक्रम गर्ने र एकताबारे सकारात्मक सन्देश दिने निर्णय गरे ।
व्यवस्थापकीय काममा माओवादी भन्दा एमाले निकै चुस्त र व्यरोक्र्याटिक पार्टी हो । त्यसैले कार्यक्रम आयोजना र व्यवस्थापन पक्षको जिम्मा पनि एमाले केन्द्रीय कार्यालयले पायो ।
अघिल्लै दिन मिडियाकर्मीहरुलाई पठाएको निम्तोपत्रमै ब्यानरको ढाँचा जुन थियो, भोलिपल्ट कार्यक्रमस्थलमा त्यही टाँगिएको थियो । संयोजन समिति आयोजक भनिए पनि ब्यानर हेर्दा एमाले हावी भएको प्रष्टै देखिन्थ्यो ।
माओवादी पंक्तिको आपत्ति लेनिनको फोटो नभएको भन्दा पनि ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटो राखिएकोमा थियो । त्यहाँ माओवादीको नाममा ‘माके’ लेखिएको थियो, जुन माओवादीलाई जिस्काउँदा प्रयोग गर्ने गरिएको छ । यद्यपि एमाले पक्षले नियतवश त्यस्तो ब्यानर नबनाएको दाबी गरेको छ ।
लेनिन जयन्तीको कार्यक्रममा लेनिनको फोटो नराखिनु राम्रो निहुँ बन्यो । तर, त्यसअघि नै वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटाले एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई फोन गरेर ‘त्यो ब्यानर राखे कार्यक्रम बिथोलिने’ चेतावनी दिइसकेका थिए । उनले मनमोहन अधिकारी र मदन भण्डारीको फोटो राखिएकोमा आफूहरुको आपत्ति रहेको प्रष्ट पारे ।
ब्यानर काण्डको अन्तर्य यतिमात्र पनि होइन । माओवादी कार्यकर्ताको एउटा पंक्ति आफ्नो शीर्ष नेतृत्व एमाले सामु निरीह बनेको वा एमाले दिने र माओवादी लिने ‘पोजिशन’मा बसेको पटक्कै रुचाउँदैन ।
केही दिनअघि प्रचण्ड निवासमै गएर सापकोटा नेतृत्वकै युवा टोलीले विधानमा जनयुद्ध र संगठनमा ५०/५० नभए पार्टी एकता स्वीकार्य नहुने चेतावनी पनि दिएको थियो ।
आइतवारको ब्यानर काण्ड र हुलदंगा त्यही आन्तरिक जनवादको उच्चतम अभ्यास थियो । जुन हुलदंगाले एकबजे निर्धारित कार्यक्रम ३ घण्टा रोकियो र ओली-प्रचण्डलाई कमजोरी स्वीकार्न दबाब दिँदै दुईवटा ब्यानरमुनि बस्न बाध्य पार्यो ।
यो घटनालाई माओवादी कार्यकर्ताले आफ्नो जितको रुपमा लिएका छन् । वाइसीएल अध्यक्ष सापकोटाले नेताले बिचार नगरे युवाले छाड्दैनन् भनेर ब्यानर काण्डलाई पुष्टि गर्न खोज्नु यसको द्योतक हो ।
एमाले नेताहरुले नियतवश ब्यानर बनाइएको होइन भनेका छन् र यसलाई माओवादी नेताहरुले स्वीकार गरेका छन् । कुरा यतिमात्र हो कि पार्टी एकताका सन्दर्भमा प्रयोग हुने प्रत्येक शब्द र ब्यानरमा दुवै पक्षले आफ्नो भावना समेटिएको हेर्न चाहेका छन् । यदि उक्त कार्यक्रमको व्यवस्थापनमा दुवै पार्टीका नेताहरुको सहभागिता थियो भने सायद लेनिनको फोटो खड्किने थिएन ।
संख्या भन्दा आत्मसम्मान ठूलो
पार्टी एकीकरण गर्दा कसले कति केन्द्रीय सदस्य पाउने भन्ने प्राविधिक विषय नेताहरुले मिलाउँदा भुइँ तहका कार्यकर्ताका लागि त्यति ठूलो सरोकार नहुन सक्छ । तर, एक अर्काको बिरासतको सम्मान ठूलो कुरा हो ।
माओवादी पंक्तिको यो संवेदशीलताप्रति एमाले पंक्ति कति जिम्मेवार बन्छ ? त्यसले पार्टी एकीकरण र त्यसपछिको स्थायित्वलाई निर्धारण गर्छ ।
पार्टी एकीकरणका सन्दर्भमा माओवादीले मागेको संख्याको ५०/५० हिस्सा अहिलेको अवस्थामा दुनियाले पनि पचाउने कुरा होइन । आजको अवस्थामा एमाले ६५ प्लस र माओवादी ३५ प्लसको हैसियतका पार्टी हुन् । सम्भवतः माओवादीको बार्गेनिङ कम्तिमा ६०/४० को हैसियत कायम राख्नका लागि हुन सक्छ । संख्याको कुरा नेताले मिलाउन सक्छन्, तर भावनाको कुरा चाहिँ कार्यकर्तासम्मै मिल्नुपर्छ ।
प्रचण्डको व्यवस्थापन नै अहिले एकीकरण लम्बिनुको मुख्य कारण हो भन्ने पनि चर्चा छ । २ वर्षपछि हुने महाधिवेशनबाट आफू अध्यक्ष हुने ग्यारेन्टी र ३ वर्षपछिको प्रधानमन्त्री प्रचण्डको मुख्य सरोकार हो । प्रचण्डको सरोकार कसरी सम्बोधन गर्ने भन्नेमा ओलीलगायत एमालेका शीर्षनेताको बढी भूमिका हुन्छ ।
तर, मुक्ति वा मृत्यु भनेर माओवादी आन्दोलनमा लागेका कार्यकर्ताहरुको सरोकार सम्बोधन गर्नुचाहिँ सिंगो एमाले पंक्तिको पनि दायित्व हो । किनभने नेतालाई पदले मिलाउन सकिएला तर कार्यकर्तालाई मनले मिलाउनुपर्नेछ ।
हेमिङ्वेलाई सम्झेर..
र, अन्तमाः
बीसौं शताव्दीको महान साहित्यकार अर्नेस्ट हेमिङ्वेले नोबेल पुरस्कार बिजेता आफ्नो उपन्यास ‘द ओल्ड म्यान एण्ड द सी’ को अन्तिम प्याराग्राफमा लेखेका छन्- मान्छे पराजित हुनका लागि बनेको होइन, एउटा मान्छे सिद्धिन सक्छ, तर कहिल्यै पराजित हुँदैन ।
पार्टी एकीकरणबाट पछि नहट्ने चरणमा पुगिसकेका एमाले र माओवादीका नेताहरुले हेमिङवेको यही पंक्ति स्मरण गरेमात्रै पनि सम्मानजनक, समानता र न्यायोचित एकीकरण कुनै आइतवारको कुरा होइन । किनकि, आकारमा एमाले ठूलो र माओवादी सानो जनताले बनाइदिएको यथार्थ हो । तर, त्योभन्दा ठूलो कुरा विगतप्रतिको सम्मान, वर्तमानमा समानता र भविष्यप्रतिको सुनिश्चितता नै हो ।
यति कुरा आत्मसात गरेमा एमाले माओवादी एकीकरण प्रक्रियामा अरु ब्यानर काण्ड दोहोरिने छैनन् ।अनलाइनखबर बाट
२०७५ वैशाख ९ गते