कलिलै उमेरमा प्रेम ब्वाईफ्रेन्ड गर्ल फ्रेन्डको नतिजा,विवाद पछि हत्या

भैरहवा, रुपन्देहीको ओमसतिया गाउँपालिका–६, वृन्दावनकी १५ वर्षीया किशोरी सरस्वती हरिजनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनको हत्यामा संलग्न ओमसतिया–६, शिवलवाहाका १८ वर्षीय प्रेमसागर केवटलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । केवटलाई प्रहरीले बुधबार उनकै घरबाट पक्रेको थियो ।
गत सोमबार साँझ घरबाट ‘शौचालय जान्छु’ भन्दै निस्किएकी हरिजन घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्दैजाँदा उनको शव मंगलबार बिहान डेढ किलोमिटर टाढा खेतमा फेलापरेको थियो ।
घटनाको अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले हरिजनको हत्या एकैछिनको आवेगले गर्दा भएको बताएको छ ।
रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले मृतक हरिजन र हत्यामा संलग्न केवटबीचको प्रेम सम्बन्धले मूर्तरुप पाउने नदेखिएपछि हरिजन र केवटबीच खटपट हुँदा हत्यासम्मको अवस्थामा पुगेको अनुसन्धानमा खुल्न आएको बताए ।
तीन/चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच विवाह गर्ने अवस्था नआएपछि हत्याको अवस्थामा पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
मंगलबार साँझ हरिजन र केवटबीच भेटघाट भएको, उक्त रात घटनास्थल रहेको खेतमा उनीहरुसँगै बसेको, शारीरिक सम्बन्ध पनि रहेको, भोलिपल्ट बिहानीपख विवाद हुँदा केवटले हरिजनकै कपालले घाँटी कसेर उनको हत्या गरेको र त्यसपछि आफू भागेर घरतिर गएको बयान केवटले दिएको प्रहरीले जनाएको छ ।
२०७५ वैशाख ६