मेगा बैंकको सिइओमा खु्ञ्जेली नियुक्त,नेपालको इतिहासमै पहिलो महिला सिइओ

काठमाडौं– मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् । उनलाई बैंकको गत बिहीबार बसेको बैठकले सिइओमा नियुक्त गरेको हो । मेगा बैंकको यो निर्णयसँगै खुञ्जेली ‘क’ वर्गको वाणिज्य बैंकको पहिलो महिला सिइओ बनेकी छन् ।
सिइओ नियुक्त भएलगत्तै खुञ्जेलीले मेगा सञ्चालक समितिले दिएको जिम्मेवारीप्रति धन्यवाद दिंदै आभार व्यक्त गरेकी छन् । मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवम् समस्त सरोकारवालाहरुको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको समेत उनले अठोट गरिन् ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले नवनियुक्त सिइओ खुञ्जेलीले मेगालाई सफलताको नयाँ उचाईमा संचालक समिति विश्वस्त रहेको बताए । नेपालको इतिहासमै पहिलो महिला सिइओ बन्ने अवसर प्राप्त गरेकोमा उनले बधाई र कार्यकाल सफलताको कामना समेत गरे ।
यसअघि कायममुकाम सिइओ रहेकी खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी उनी नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकाम सिइओ बनेकी थिइन् ।
खुञ्जेलीको सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर गरी २७ वर्षको बैंकिङ करिअरको अनुभव रहेको मेगा बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।