प्रचण्ड अध्यक्ष हुने कि नहुने महाधिवेशनले टुंग्याउँछ : माओवादी नेता नारायणकाजी श्रेष्ठ

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले-माओवादी एकतापछिको अध्यक्ष प्रचण्ड बन्ने वा नबन्ने टुंगो लागिनसकेको बताएका छन् ।
तत्काललाई दुई जना अध्यक्ष भए पनि महाधिवेशनबाट एक जना अध्यक्ष चयन हुने भन्दै श्रेष्ठले प्रचण्ड अध्यक्ष बन्ने कि नबन्ने भन्ने महाधिवेशनले नै टुंगो लगाउने बताएका हुन् ।
प्रचण्डलाई नै अध्यक्ष बनाउने दौडधुपमा माओवादी लागि परेको छ नि?’ भन्ने पत्रकारको पश्नमा नेता श्रेष्ठले भने ‘अहिले नै फलानोलाई हुन्छ भनेर कहाँ भन्न मिल्छ ? नमिल्ने कुरा कसरी भन्ने ?’ विद्यार्थी भर्ना अभियानका लागि बुधबार गोरखा पुगेका श्रेष्ठले को अध्यक्ष हुने भन्ने कुरा महाधिवेशनको एजेण्डा हुने बताए ।
वैशाख ९ गतेको समय टरे पनि छिट्टै पार्टी एकता हुने नेता श्रेष्ठले दावी छ । ९ गतेलाई तयारी नपुगेको भन्दै बैशाख महिनाभित्रै पार्टी एकताको सम्भावना रहेको उनले जानकारी दिए ।
‘पार्टी एकता संयोजन समितिमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रुप दिनका लागि केही समय लागेको हो, मतभेदका कारण ढिलाइ भएको होइन,’ उनले भने ।
अहिले दुई अध्यक्षहरुद्वारा दुवै प्रस्तावहरुलाई अन्तिम रुप दिने गृहकार्य भइरहेको श्रेष्ठको भनाइ छ । ‘अध्यक्षहरुले दुवै प्रस्तावहरुलाई अन्तिम रुप दिएपछि संयोजन समितिमा पेश गर्नुहुन्छ अनि समितिको बैठक बसेर प्रतिवेदनको अन्तिम रुप दिएर पार्टी एकताको मिति तय हुन्छ,’ उनले भने ।
यान्त्रिक समानता नभई व्यवहारिक र सम्मानजनक एकता हुने भन्दै श्रेष्ठले योगदानको आधारमा सबैलाई उपयुक्त भूमिका दिइने जानकारी दिएको अनलाइनखबरमा छ |
२०७५ वैशाख ५ गते