तामाङ जातिको मोक्तान थर र फो रुही (स्वागे भाइ)

याम्बु -मुकु ग्याल्सा (राज्य) को सेम्छ्यु रेम्बोर्जे र छ्यामजीमो मामको सन्तानहरु मध्ये मोक्तान थर भएका तामाङहरु एक हो । मुकुतान भन्ने शब्द नै कालन्तरमा शब्द अपभ्रम्स हुँदै मोक्तान भएको हो । मोक्तान थर भएका तामाङहरुको सहगोत्री फो रुही (स्वागे भाइ) चार जना हुन्छन् ।
१.मोक्तान
२.पाख्रीन
३.स्याङ्तान र
४.थोकर ।
उहिले उहिले यी चार भाइ एउटै सगोत्री बंशको सन्तानहरु थिए । त्यसैले पनि अहिले स्वागे भाईहरु बिच बिबाहवारी हुदैन, चल्दैन । हाड नाता पर्छ । संसारको जुनसुकै कुनामा रहोस् यी चार थरहरुको दरसन्तान दाजुभाई दिदीबहिनीहरु हुन्छन्, पर्दछ र भनिन्छ ।
त्यसकारण यी चारै स्वागे भाइ थर भएका तामाङहरुको मुख्य ठुङ्सा (पहिलो उत्पत्ति वा उद्गम भुमी), उत्पती गर्ने मानिस म्हेमे सेम्छ्यु रेम्बोर्जे र माम छ्यामजीमो एउटै भएको सुन्न पाईन्छ-तामाङ बोन्बो, ताम्बा र लामा गुरुहरुको मुखारबिन्दुबाट, र हो भन्नुहुन्छ । यसबाट हामीले के आनुमान लगाउन सकिन्छ भने (चार भाइ) उत्पती गर्ने मानिस म्हेमे रेम्बोर्जे र मामको पहिला चार भाई छोराहरू रहेछन् भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
यी चार भाईहरुका ठुङ्सा र उत्पती गर्ने मानिस म्हेमे रेम्बोर्जे र माम एउटै भएता पनि समयान्तरालमा बाब्सा (पुख्र्यौली थलो वा किपट भुमि) र फोला (कुल देवता वा पितृदेव) भने फरक फरक हुन पुगेछन् यी चार सगोत्री स्वागे भाइ थर भएका तामाङहरुको । एकै आमा र बुबाको चार सन्तानहरुको नाम समयान्तरमा जुन बस्यो मोक्तान, पाख्रीन, स्याङ्तान र थोकर भन्ने, त्यो नै तामाङ जाती भित्रको मोक्तान थरको चार सगोत्री स्वागे भाइ थर हुनपुगेको देखिन्छ ।
कसरी भए त मोक्तान ?
मोक्तानको उद्गम स्थान अर्थात ठुङसा भनेको मुकु ग्याल्सा हो । कसैले मोको ग्याल्सा पनि भनिन्छ तर मुकु र मोको फरक ठाउँ वा स्थान वा शब्द नभई एउटै हो । मोक्तानहरुको पहिलो पुर्खा सेम्छ्यु रेम्बोर्जे हो र सेम्छ्यु रेम्बोर्जे वा प्रमुख वा मोक्तानहरुको पहिलो पुर्खा सम्छ्यु राजा मुकु भन्ने स्थान वा ठाउँमा अलि लामै समय बस्दै जादा समयअन्तरालमा सोही ठाउँको नामबाट सेम्छ्युको दरसन्तानलाई मुकु तेन भनियो । मुकु वा मोको भनेको स्थान वा ठाउँको नाम अनि तेन भनेको सो स्थान वा ठाउँमा आड वा आड लिने बस्ने मान्छे वा बस्ती बसाल्ने मान्छे, यसलाई एकै चोटि भन्दा मुकुतेन वा मोकोतेन भनियो । यहि मुकुतेन वा मोकोतेन शब्द नै अपभ्रम्सहुदै मुकुतान वा मोकोतेन=मुक्तान हुदै कालन्तरमा मोक्तान भयो ।
एक जनश्रूति अनुसार तामाङ भाषामा मु भनेको आकाश, कु भनेको काख हो र तान भनेको मानिस बस्ने सानो टोल/स्थान/गाउँ लाई जनाउदछ । त्यसो हुँदा आकाश गंगाको काखमा रहेको सानो मानिस बस्ने टोल/स्थान/गाउँमा जन्मेको एक तामाङ नै मोक्तान नामले चिनियो, भयो र कालन्तरमा त्यो मोक्तान नाम नै मोक्तान थर हुनपुग्यो । यसरी एक भाई मोक्तान भयो ।
कसरी भए त पाख्रीन ?
पाख्रीन अर्थात तामाङ भाषामा पाखारी भनेको पाखामा नै भन्ने हुन्छ । त्यसोहुँदा उहिले आमा बनपाखा घाँस दाउरा गर्न वा लिन जादा, मेलापात गर्न वा अन्य कुनै काम गर्न जादा घरभन्दा बाहिर वा पाखामा नै जन्म भएको हुनाले पाखरिन भनियो वा पाख्रीन नाम हुनगयो, पछि कालन्तरमा त्यही पाख्रीन नाम पाख्रीन थर हुनगयो,भन्ने जनश्रूतिहरुमा सुन्न पाईन्छ । यसरी एक भाइ पाख्रीन भयो ।
कसरी भए त स्याङ्तान ?
त्यस्तै स्याङ्तान थर सम्बन्धमा चाहिँ तामाङ भाषामा स्याङ भनेको मावाली हो भने तान भनेको मानिस बस्ने सानो टोल/स्थान/गाउँ लाई जनाउदछ । त्यसो हुँदा स्याङ् भनेको मावाली, तान भनेको मानिस बस्ने सानो टोल/स्थान/गाउँ हो । स्याङ अर्थात मावली वा मामाको घरमा नै जन्मेको अनि मावाली टोल/स्थान/गाउँ वरिपरि नै हुर्की बसेको कारण त्यो तामाङको नाम स्याङ्तान हुनगयो । कालन्तरमा त्यही स्याङ्तान नाम स्याङ्तान थर भयो भन्ने जनश्रूति सुन्न पाईन्छ । यसरी एक भाइ स्याङ्तान भयो ।
कसरी भए त थोकर ?
त्यसैगरी घरको माथिल्लो तलामा भन्नेलाई तामाङ भाषामा थोरी भनिन्छ । त्यसोहुँदा थोकर थोरी तलरी केबासे अर्थात घरको माथिल्लो तलमा जन्मेकाले थोकर नाम हुनगयो र समयान्तरालमा त्यो थोकर नाम नै थोकर थर भयो भन्ने जनश्रूतिहरुमा सुन्न पाईन्छ ।
फेरि तामाङ भाषामा थो भनेको माथी वा माथिल्लो हुन्छ भने क्रा वा क्राआ भनेको सिरान वा सबैभन्दा माथी भन्ने हुन्छ । त्यसोहुँदा घरको सबैभन्दा माथिल्लो वा सिरानको तलामा जन्मेकाले नै थोक्रा नाम रहन गयो, कालन्तरमा थोक्रा नाम नै थोकर थर हुनगयो । स्मरण रहोस् कि कुनै ठाउमा अहिले पनि थोक्रा नै नामले सम्बोधन हुन्छ थोकर थरलाई । यसरी एक भाइ थोकर भयो ।
निश्कर्ष :
यसरी माथी उल्लेखित प्रक्रियाले तामाङ जाती भित्रको मोक्तान थरको चार वटा सहगोत्री फो रुही (स्वागे भाइ) हरु १. मोक्तान २. पाख्रीन ३. स्याङ्तान र ४. थोकर नामका थरहरुको उत्पत्ति भएको देखिन्छ ।