डिआइजी बढुवामा खरेललाई ‘ओभरटेक’ सर्वेन्द्रको लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो

काठमाडौं– नेपाल प्रहरीमा इन्सपेक्टरको ४६ सालको ब्याचमा धेरै क्षमतावान प्रहरी अधिकृतहरु थिए। जस कारण काम र बढुवामा सधैं उनीहरुबीच टक्कर चलिरह्यो।
इन्सपेक्टरमा राजेन्द्रमान श्रेष्ठ १ नम्बर थिए। डिएसपी बढुवामा रमेश खरेलले बाजी मार्दै आफ्नो ब्याचमा १ नम्बरमा बढुवा भए। डिएसपी हुँदासम्म खरेल मध्यम प्रहरी अधिकृत थिए। एसपीमा पनि उनी पहिलो नम्बरमै बढुवा भए। एसपीको पदमा उनले छुट्टै छवी बनाए। खरेलले दबाब र लाभको ‘पुलिसिङ’बाट मुक्त भएर ‘हिरो प्रहरी’को छवी बनाए। प्रहरी पनि समाजमा हिरो बन्न सक्छ भन्ने उदारण बने। जसले प्रहरीमा राम्रो काम गर्ने र चर्चित बन्ने लहर नै ल्यायो।
सोही कारण एसएसपीमा पनि उनलाई कसैले पछि पार्न सकेन। हुन त उनले सिनियर ब्याचसँगै एसएसपीमा बढुवाको प्रयास गरेका थिए। तर, त्यसमा उनी सफल हुन सकेनन्। खरेलको उग्र कार्यशैलीबाट नेताहरु पनि रुष्ट बनेका थिए।
एसएसपीको भूमिकामा रहँदा भने खरेल चम्किन सकेनन्। एसएसपी भएपछि खरेलले लामो समय सुनाडमा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेर बिताए। त्यही समयमा उनका अन्य प्रतिस्पर्धी नेपालमा चम्किँदै गए। फलस्वरुप गत भदौमा भएको डिआइजी बढुवामा खरेल पछि परे। सर्वेन्द्र खनालले खरेललाई पछि पारेका थिए। खनालको त्यही ‘ओभरटेक’ नै ८ महिनापछि आइजिपीका लागि आधार बन्यो। १ नम्बरमा डिआइजी बढुवा भएकैले बरियताका आधारमा सरकारले खनाललाई आइजिपी नियुक्ति गरेको छ।
स्रोतका अुनसार प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा खनालभन्दा खरेल र पुष्कर कार्की थिए। तर, गत वर्ष सिनियरलाई आइजिपी नबनाएको भनेर नवराज सिलवालको पक्षमा एमालेले वकालत गरेको थियो। जसकारण यसपटक बरियता मिचेर आइजिपी बनाउन ओली सरकारलाई नैतिक रुपमा गाह्रो थियो। सोही नजिरले सर्वेन्द्रलाई प्रहरीको २६औं आइजिपी बनाएको छ।
एसएसपीका रुपमा खनालले अपराध अनुसन्धानमा महत्वपूर्ण काम गरेका थिए। उनले फुटबलमा भएको म्याच फिक्सिङदेखि ठूला संगठित अपराधको अनुसन्धानमा सफलता पाएका थिए।
२८ चैत्र २०७४