मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ब्रेक थ्रु

काठमाडौं– लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रम सकिएको छ। सुरुङको सिन्धु ग्याल्थुम खण्ड ७.५ किमी ‘ब्रेक थ्रु’ भएको मेलम्ची खानेपानी विकास समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘अन्तिम ब्रेक थ्रु पश्चात् सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङ भित्रभित्रै पुग्न सकिने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ। समितिले ब्रेक थ्रुको अवसरमा आउने बिहीबार प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुको आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरेको छ।
२६ किमि लामो सुरुङ खन्ने कार्य सम्पन्न भएको र हेडवर्क्सको मुख्य संरचना, भेन्ट साफ्ट तथा सुरुङको फाइनल फिनिसिङ गर्ने कार्यहरु बाँकी रहेको भए पनि आगामी केही महिनाभित्रै ती कार्यहरु पूरा गर्न सकिने समितिले जनाएको छ।
विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा आयोजना निर्माणमा लगानी जुटाउने गरी विसं २०५५ मा मेलम्ची खानेपानी विकास समिति स्थापना भएपश्चात् आयोजनाको विस्तृत अध्ययन, जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाका मुख्य संरचनाहरुको निर्माण सुरु गरिएको हो।
जुलाईभित्र सबै काम सक्ने, त्यसकाे एक महिना परीक्षण गर्ने र अगस्टभित्र पानी ल्याउने योजना छ। उपत्यकाको खानेपानी अभाव हटाउन दैनिक ५१ करोड लिटर आपूर्ति गरिने लक्ष्य राखिएको छ।