आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक,को को छन् दाबेदार !

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख आइजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारमा बिहान ९ बजे बस्ने भनिएको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख चयन गर्ने बताइएको छ ।
नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका आइजिपी सिंहबहादुर श्रेष्ठ भोलिबाट नियमित अवकाशमा जादैँछन् ।
नेपाल प्रहरीमा डिआइजी सर्वेन्द्र खनाल र रमेश खरेलमध्ये एक जना आईजीपी बन्ने पक्का भएको छ । खनाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को साथ छ भने खरेललाई नेपाल प्रहरीको उच्च तहका कर्मचारीहरुको साथ रहेको बुझिएको छ ।
सशस्त्रमा भावी महानिरीक्षक (आईजीपी) का लागि वरिष्ठताका हिसाबले अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्ला दाबेदार भएपनि अन्य एआईजी पनि नेतृत्वमा पुग्न चर्काे लबिङमा छन् । विशेषगरी खनालभन्दा ११ महिनापछि एआईजी बनेका पुष्पराम केसी र नारायणबाबु थापा पनि आईजीपी बन्न तीव्र लबिङ गरिरहेका छन् ।
नेपाल प्रहरीमा खनाल र खरेलसँगै डिआईजी पुष्कर कार्की पनि आईजीपीका दाबेदार रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका कार्कीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको साथ रहेको स्रोतले बताएको छ ।