नेवाः जात्रा पर्वको नाम बिगार्ने पत्रिका वहिष्कार अभियान थालनी

विभिन्न युवा समुहहरूले गोर्खाली भाषामा प्रकाशित मिडीयाहरूले नेवाः जात्रा पर्वको अपमान गरेको भन्दै वहिष्कार र शान्त आन्दोलन गर्न आवहान गरेका छन्। उपत्यकाका स्थान स्थानमा जात्राहरू सुरुवात हुँदै आएको क्रममा आज सम्म एउटा पनि मूलधार मिडियाले नेवाः जात्रा पर्वको सोही नाम प्रयोग नगरीकन नाम परिवर्तन गोर्खालीकरण गरेर प्रकाशन गर्दै आएकोमा घोर आपत्ति जनाएका छन्।
सक्व, त्वखा, थिमि, ब्वदेय्, नगदेय्, ख्वप आदि स्थानहरूमा बिस्काः जात्राको सुरुवात भए सँगै यसको नाउँको अपमान गरेर बिस्केट जात्रा, बिस्कुट जात्रा, बिस्कटे जात्रा, यहाँ सम्म कि बास्केट जात्र सम्म भन्न थालेकाछन्। हिजो अस्ति सामाजिक संजालमा खुब भाइरल भएको एउटा मीम छ। “हामी तीजलाई जुनसुकै भाषामा पनि तीज भन्छौँ, कर्णालीलाई जुन सुकै भाषामा कर्णाली भनिन्छ, तर किन हाम्रो सापारुलाई गाई जात्रा देखि काउ फेस्टिबल, किन हाम्रो सक्वलाई साँखु?” कुनै स्थान वा पर्वको नाउँ त्यस स्थान र पर्वको इतिहास सँग जोडिएको हुन्छ, तर आज आएर त्यसैलाई नामेट पार्ने विभिन्न प्रयासमा नेपालको मूलधारे मिडीया पनि छ। “बिस्काः जात्रा लेखेर समाचार छाप्दैमा केही हुने होइन। कसैले नबुझ्ने होइन। जात्रा भनेको के हो भन्ने बारे थाहा नभएकालाई मिडियाले बुझाउन सकेको छ। यो मूलधारे मिडीयाले जनसमाजमा बिस्केट जात्रा भन्ने हावा भरिदिएको छ। अब बिस्काः जात्रा भनेर छाप्दैमा केही बिग्रने थिएन। तर किन गर्थे र आँखिर वर्चस्ववादी सोँच न हो।”, सामाजिक संजालमा उदाउँछ।
शताब्दी अगाडी देखि सुरु भएको बिस्काः जात्रालाई चन्द्र शमशेरले भारतको उज्जैनबाट आयात गरेको विक्रम सम्बतसँग जोडेर होस् या अन्य कुनै अपव्याख्यामा मूलधारे मिडीयाले नेवाः सभ्यता र पत्रकारिताको धज्जिया उडाएको छ। मिडीयाको काम जनतालाई सुचना दिनु हो तर मिडीयाले नै भ्रम फैलाउने काम गरेको छ। नेवाः सभ्यतालाई शाह काल, राणा काल र पञ्चायत व्यवस्थामा जातीवादी नजरले चित्रण गरिन्थ्यो, हेरिन्थ्यो र दमन गरिन्थ्यो, अब प्रजातन्त्र र गणतन्त्रमा के फरक भयो त? नेपालभाषामा नाउँ भयो भन्दै शासक वर्गले ठाउँको पुनःन्वारण गरी संस्कृत र गोर्खा भाषामा नाम हालेका थिए भने आज सम्म पनि यो जातीवादी कार्यलाई मूलधारे मिडीयाले निरन्तरता दिँदै आएका छन्। विगतमा “एक भाषा एक भेष” नीतिको चक्रव्युहु र सोँचबाट मूलधारे मिडिया निस्कन नसक्ने नै विडम्बनाको कुरा हो।
त्यसैले यस वर्ष नेवाः युवा समुहहरूले भद्र अवेज्ञाको आवहान गरेका छन्। यस आवहान अनुसार बिस्काः जात्रलाई जथाभावी व्याख्या अपव्याख्या गरिएका सबै लेख/समाचारहरूमा #ItIsBiskaa भनेर कमेन्ट गर्ने र सो लेख/समाचारमा लाइक सेयर नगर्ने अभियान थालनी भएको छ। नेवाः संस्कृतिलाई स्थान दिन्न, देशमा सबै नाउँहरू गोर्खा भाषामै हुनुपर्छ भन्ने जातीवादी सोँचलाई चिर्न यस शान्तीपूर्ण समाजिक संजालको अभियान थालनी भएको हो भने यस क्रमलाई नरोकेमा आफूहरू संघर्षमा पनि उत्रनुपर्ने कुरा विभिन्न नेवाः युवा समुहहरूबाट आएको छ।
टिप्पणी
बिस्काः जात्रा- लोककथा अनुसार बि सिकाः बाट आएको
भक्तपुर र ख्वप भनेको पर्यावाची शब्दहरू हुन्। यी शब्दहरू मल्ल कालमै लिटेगुरल भाषा र जनभाषाका रूपमा आएका थिए। तर “भादगाउँ” भन्ने शब्द शाहकालीन हेपाह शब्द हो जसको कुनै अर्थ छैन।
थिमि- सही हिज्जे, यसलाई “ठिमी” भनेर महेन्द्रमाला देखि लेख्न थालेको हो। नेवाः सभ्यतामा “ट, ठ, ड, ढ, ष, श” हुँदैनन्। नेवाः सभ्यतामा “त, थ, द, ध, स”को प्रयोग हुन्छ, तर यी वर्णहरूको उच्चरण भने गोर्खा भाषा भन्दा भिन्नै हुन्छ |
साँखु(अपव्याखित नाउँ): सक्व- तिब्बत व्यापार मार्गमा उपत्यका उछिन्ने स्थान भएका ले तिब्बतलाई “सँदे” र तल्लो भेगलाई “क्व” भनिने: सँदेक्व बाट “सक्व” नामको उत्पत्ति हुन्छ
निम्न लिखित हिज्जेहरू वास्तविक हिज्जेलाई गोर्खालीकरण गरेर वर्चस्ववादी सरकारले ल्याएको हिज्जे हो
त्वखा- टोखा
ब्वदेय्- बोडे
नगदेय्- नगदेश
भाषिका विविधतालाई सम्मन गर्न नसकेर नाममै परिवर्तन गरेको उधाहरण:
येँया पुन्हि मा यःसिं थनेगु र क्वथुलेगु परम्परा छ भने बिस्काः जात्रामा ल्योसिं थानेगु र क्वथुलेगु परम्परा छ। यो भिन्न जात्रामा हुने एउटै प्रकारको परम्परा हो। यःसिं व ल्योसिं एउटै जङ्गलबाट लिएर आइन्छ जुन नालामा स्थित छ। नेवाः सभ्यत भित्रको विविधताले “विविधतामा एकता”को पाठ सिकाउँछ। तर आज यःसिं पनि नभन्ने ल्योसिं पनि नभन्ने सिधै “लिङ्ग” भनेर पुरुष अङ्ग penis, phallus भनेर अपव्याख्या गर्दै आएको छ। यसरी नेपालको मूलधारे मिडीयाले अझै नेवाः सभ्यतालाई अपनत्व र ग्रहण गर्न सकेकै छैन, बुझ्न सकेकै छैन। नेवाः सभ्यता भनेकै विविधताको एकता हो। यसको सम्बोधन गर्न बिस्काः जात्रामा ‘ल्योसिं थानेगु’, ‘ल्योसिं क्वःथुलेगु’ भनेर सम्बोधन गरिनु पर्छ र येँया पुन्हिमा ‘यःसिं थनेगु’, ‘यःसिं क्वःथुलेगु’ भनेर सम्बोधन गरिनुपर्छ।