भारतको लगानीमा रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल

काठमाडौँ: भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्युतीय रेल बनाउने कुरामा सहमति जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा शनिबार दुई देशबीच नेपालको राजधानी काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।
नेपालमा रेललाइन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतीय आर्थिक सहयोगमै नेपालको राजधानीसम्म रेललाइन विस्तार गर्ने उल्लेख गरिएको छ ।
‘भारत र नेपालबीच प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौँसम्म नयाँ विद्युतीय रेल लाइन विस्तारका लागि समझदारी भएको छ । यो रेल लाइन निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ’, संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘यो रेल लाइन निर्माणका लागि दुई देशबीच समझदारी भएको छ । यो रेल लाइनको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पुरा गरिनेछ । ‘
सर्भे पुरा भएपछि दुई देशबीच यो रेल लाइनमा गरिने लगानीको मोडालिटी र परियोजना प्रतिवेदन तयार गरिने भएको छ । ‘यो रेल लाइन चाँडो भन्दा चाँडो निर्माण पुरा गर्नका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्भे पनि चाँडै सक्ने पुरा सहयोग गर्ने बचन दिनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
दुई देशले जनस्तरमा रहेको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रुपमा रेललाई लाइनलाई लिँदै यसलाई चाँडो भन्दा चाँडो निर्माण गरिसक्ने समझदारी पनि गरेका छन् ।
दुई देशका प्रधानमन्त्रीबीच पहिलो चरणमा जारी नेपाल-भारत क्रस बोर्डर रेल लिङ्क निर्माणलाई पनि तीब्र बनाउने सहमति भएको छ । जसअनुसार जनकपुर-जयनगर रेल्वे लाइन र जोगबनी-बिराटनगर भन्सार यार्डलाई २०१८ भित्रमै सञ्चालमा ल्याइसक्ने सहमति भएको छ।
त्यसैगरी हाल निर्माणको चरणमा रहेका जयनगर-बिजलपुरा-बर्दिबास र जोगबानी-बिराटगर रेललाइनलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने सहमति दुई देशले गरेका छन् । त्यसैगरी नेपाली पक्षले रेल लाइन विस्तार क्रममा देखिएका जग्गाका समस्या र स्थानीयको अवरोधलाई पनि तत्काल समाधान गर्ने बचन दिएको छ ।
दुई प्रधानमन्त्रीबीच नेपालमा भारतीय सहयोगमा जारी क्रस बोर्डर रेल लाइन विस्तार र अन्य विकास निर्माणका अन्य कामलाई तीब्र बनाउन भारत-नेपाल संयुक्त कार्य समूहको बैठक पनि नियमित गर्ने सहमति भएको छ ।अन्नपूर्णा पोस्ट
२३ चैत्र २०७४