सिन्डिकेट तोड्दै साझा, सिटी मेट्रो र मयुरको बनेपा-धुलिखेल सम्म

बनेपाः अरनिको राजमार्गस्थित कोटेश्वरपूर्वका ११ वटा समितिले सेवा अवरुद्ध गरेपछि सझा र सिटी मेट्रो यातायात बनेपा–धुलिखेल पुगेका छन् । मयुर यातायातले बनेपासम्म सेवा दिएको बिरोधमा कोटेश्वरपूर्वका ११ बस व्यवसायीको काभ्रे र भक्तपुरमा सेवा बन्द गरेसँगै मयुर, साझा र सिट मेट्रोले बुधबारबाट सेवा विस्तार गरेका हुन् ।
बुधबार विभागले काठमाडौँदेखि धुलिखेलसम्म अन्य व्यवसायीलाई समेत रुट परमिट दिने घोषणासँगै बुधबारै साझा र सिटी यातायतले बनेपा–धुलिखेलसम्म सेवा विस्तार गरेका हुन् ।
सिन्डिकेट चलाएका कोटेश्वरपुर्वका ११ समितिको बन्दले सर्वसाधारणलाई समस्या नपरोस भनेर थप बस र रुट इजाजत खुल्ला गरिएको विभागको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
‘बुधबारै साझा र सिटी मेट्रो यातायातका बस धुलिखेलसम्म चल्न अस्थायी रुट इजाजत लिएका छन्’, उनले थपे ‘सर्वसाधारणले सहज र सुलभ सेवा पाउन् भन्ने उद्देश्यले वर्षौँदेखिको एकाधिकार र सिन्डिकेट तोेड्दै रुट इजाजत खुल्ला गरेका हौँ ।’
भट्टराईका अनुसार ‘धुलिखेलसम्म बस चलाउन चहाने ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुवै इजाजत दिने निर्णय भएको छ । यसमा कसैले अवरोध गरे सरकारले त्यस रुटमा चल्ने बसलाई सुरक्षा समेत दिने उनले जानकारी दिए ।
भट्टराईका अनुसार बुधबार मात्र ७ वटा यातायात व्यवसायी संघले रुट इजाजत लिएका छन् । बुधबार विहानदेखि काभ्रेमा ११ समितिको बन्दले पनौती, बनेपा र धुलिखेल तथा अन्य ग्रामीण भेगका यात्रु मारमा परेका छन् ।
मयुर र साझाका प्रयाप्त बस नभएकाले गन्तव्यसम्म पुग्न नसेकेका यात्रु ट्याक्सी, सुमो र रिक्सामा महंगो भाडा तिरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् ।
‘दश रुपैयाँ भाडा तिरे हुने ठाउँमा ७० रुपैया तिर्न बाध्य छौँ’, बनेपाबाट पनौतीसम्म रिक्सामा आएकी सुमित्रा खड्का भन्छिन्, ‘सार्वजनिक सेवा बन्द गरेर यात्रुलाई सास्ती दिने कस्तो आन्दोलन हो ? सकिन्छ भने सेवा सुविधा बढाएर प्रतिस्पर्धामा आए भइहाल्यो नि ।’
आक्रोशित भएकी उनले सरकार र व्यवसायीको दोहोरो मारमा परेको बताइन् । ‘सरकार र व्यवसायीको दोहोरीले हामी जस्तो सर्वधारण मारमा परेका छौँ ।’ उनले आन्दोलनको मौका छौपी साना भाडाका साधानले ठगि गर्ने गरेको बताइन् ।
साझाका १०, सिटी मेट्रो यातायातका १० र मयुर यातायातका बसले बुधबार अरनिको राजमार्ग, धुलिखेल बनेपाबाट काठमाडौँसम्म सेवा दिँदै आएका छन् ।
यात्रुहरुलाई परेको असुविधालाई ध्यानमा राखेर साझाले रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरेको चालक बलराम सापकोटाले जानकारी दिए । साझा यातायातले यसअघि काठमाडौँ, भक्तपुर र साँगासम्म रुट विस्तार गर्दा व्यवसायीले विरोध गरेका थिए ।
मयुर यातायातले काठमाडौंदेखि बनेपा रुटमा बस चलाउने अनुमति पाएसँगै ११ वटा समितिले ग्रामीण र सहरी दुवै भेगका बस सेवा बन्द गरेका छन् ।
यातायात व्यवसायीको बन्दले ग्रामीण भेगमा पुग्नु पर्ने यात्रु अलपत्र पर्नुका साथै नियमित कामका लागि हिँड्ने यात्रुसमेत प्रभावित भएका छन् । मयुर, साझा र मेट्रो यातायातका केही सवारी साधन चले पनि प्रयाप्त साधन नहुँदा समस्या भएको यात्रु बताउँछन् ।
यसो भन्छन् व्यवसायी
यातायात व्यवसायी राष्ट्रिय माहासंघका अध्यक्ष योगेन्द्रनाग कर्मचार्यले समस्या समधानका लागि निरन्तर प्रयासमा रहेको बताए । ‘यात्रुका लागि सुविधासम्पन बस ल्याउनु राम्रो कुरा हो, आन्दोलनबारे जानकारी भएकाले निरन्तर समस्या समधानमा लगेका छौँ’, महासंघका अध्यक्ष कर्माचार्यले भने ।
त्यस्तै बुधबार विरोधस्वरुप बन्द गरिएको काभ्रे मिनिवस सेवा समितिका अध्यक्ष राजेश सु्न्दर सैँजु चिल्लो सडकमा मात्र नभई ग्रामीण र जोखिमयुक्त सडकमा समेत अरु बस गुड्नुपर्ने बताउँछन् ।
‘चिल्लो सडक मात्र होइन, जोखिम भएका ग्रामीण भेगमा पनि प्रतिस्पधा हुनुपर्छ भन्ने हाम्रो माग हो’, उनी भन्छन्, ‘सबैले चिल्लो सडकमा मात्रै प्रतिस्पधा गर्ने हो भने ग्रामीण भेगमा कसले यातायता सञ्चालन गर्छ ?’
मयुर यातायातले चैत १ गतेबाट २० वर्ष देखिको सिन्डिकेट तोड्दै अरनिको राजमार्गस्थित काभ्रेदेखि काठमाडाँै–बनेपा रुटमा २४ वटा बस सञ्चालन गरेको थियो । अन्नपुर्ण पोस्ट बाट