वौद्ध स्तूपा कसरी निलो देखियो ?

काठमाडौं । मंगलबार साँझ विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तूपा वरपर निलो कपडा लगाएका मानिसहरुको चहलपहल बढ्दै गयो । उनीहरुले हातमा निलो मैनबत्ती बोकेका थिए । एकछिनपछि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बर्ड पनि आइपुगे ।
उनले निलो रंगको मैनबत्ती बालेर छेउँमा रहेका एक व्यक्तिलाई हस्तान्तरण गरे । त्यसपछि त्यहाँ लहरैसँग बसेकाहरुले एकअर्कालाई मैनबत्ती हस्तान्तरण गर्दै विशेष तरिकाले बनाइएको एक मण्डलामा सो मैनबत्ती बाले ।
लगत्तै पूरै बौद्ध स्तूपा निलो देखियो । स्तूपा वरपरको वातावरण नै नीर पोखिएजस्तो भयो । अघिल्ला दिनहरुमा सुनौलो रंगमा देखिने बौद्ध स्तुपाको यो नयाँ अवतार फरक र आकर्षक थियो । अरु दिनभन्दा फरक रंगको उज्यालोमा रंगिएको वौद्ध स्तूपाको दृष्य मानिसहरुले मोबाइल र क्यामरामा कैद गर्न थाले ।
निलो बत्ती बाल्ने कार्यक्रम नेपालमा मात्रै होइन, अमेरिकाको ह्वाइटहाउस, सिड्नीको ओपेरा हाउस र जापानका प्रमुख शहरहरुमा पनि थियो ।
‘अटिजम केयर नेपाल सोसाइटी’ले बौद्ध स्तूपामा निलो बत्ती बालेको हो । किन निलो वत्ती बालियो त ? अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्य भन्छन्, ‘अटिजमबारे जनचेतना जगाउनका लागि निलो बत्ती बालिएको हो । निलो रंग अटिजमको संकेत हो ।’
अप्रिल २ तारिखमा अटिजम सम्बन्धी जनचेतना दिवस मनाइन्छ । त्यही कार्यक्रमअन्तर्गत बौद्धमा निलो बत्ती बालिएको हो । अन्य देशहरुमा २ तारिखमै निलो बत्ती बालिए पनि नेपालमा प्राविधिक कारणबस ३ तारिखमा निलो बत्ती बालिएको बज्राचार्यले जानकारी दिए ।
सो अवसरमा जनचेतनामुलक साँस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो ।
नेपालमा करिब ३ लाख जना व्यक्ति अटिजमको समस्याबाट पीडित रहेको अनुमान गरिएको छ । केटीहरुमा भन्दा केटाहरुमा अटिजमको समस्या पाँच गुणा बढी हुने एक अनुसन्धानले देखाएको छ । यसको औषधि उपचार पत्ता नलागेको बज्राचार्य बताउँछन् । अनलाइनखबर बाट
२१ चैत २०७४