को हुन् बृद्धबृद्धा ? बृद्धबृद्धालाई किन सम्मान, आदर र प्रेम गर्ने ?

हिजोको बाला, आजको यौवन, भोलि त डुब्छ रे’ एकताकाको चर्चित गीतमा भनिएजस्तै जीवन सधै एकनास रहँदैन । आज जवान छौं, भोलि वयस्क हुन्छौं । त्यसपछि प्रौड ।
बच्चा, किशोर, युवा, वयस्क र प्रौड हुनु प्राकृतिक जीवन-चक्र हो । तर, जतिबेला हामी तन्नेरी वयमा हुन्छौं, आफ्नो जीवन त्यही बुढेसकालको चरणबाट पनि गुज्रन्छ भनेर सोच्दैनौं । जबकी जीवनको कटु सत्य यही हो । बुढो हुनैपर्छ । मर्नैपर्छ ।
त्यसो भन्दैमा भोलिको दिन सम्झेर आज चिन्तित हुनुपर्छ भन्ने होइन । बरु, जब हामी बुढेसकालमा प्रवेश गर्छौं, त्यसबेला जीवन कति कठिन होला ? के कस्ता पीडाहरु भोग्नुपर्ला ? कसले कस्तो व्यवहार गर्लान् भनेर मनन गर्नु चाहि उपयुक्त हुन्छ । किनपनि उपयुक्त हुन्छ भने, बुढेसकालमा आइपर्ने अप्ठ्यार, समस्याहरु आजै अनुभूत गरेमा हामीले ति बृद्धबृद्धाको जीवनलाई बुझ्छौं, जसलाई हामीले बेवास्ता गरिरहेका छौं ।
को हुन् बृद्धबृद्धा ?
सडकमा लौरोको साहाराले हिँडिरहेका, कुनै पार्टीमा कुप्रो ज्यान भित्तामा अढेसिएर बसिरहेका, कुनै अस्पतालको प्राङ्गणमा थरथर काँप्दै घाम तापिरहेका, कुनै सार्वजनिक सवारीमा सकीनसकी उभिएका बृद्धबृद्धा वास्तवमा ज्ञान, अनुवभका पुञ्ज हुन् ।
उनीहरुको जीवन भोगाई हाम्रो लागि अमूल्य ज्ञान हुनसक्छ । जीवन विताउने क्रममा के कस्ता दुख आइपर्छ, त्यसलाई कसरी सामाना गर्ने, सफलता र विफलतासँग कसरी आत्मसात गर्ने भन्ने खास अनुभव बुढाबुढीसँग हुन्छ ।
हामीकहाँ बुढाबुढीको अनुभव लिने, त्यसलाई भावी पुस्ताको लागि हस्तान्तरण गर्ने वा प्रयोग गर्ने पद्दती एवं संस्कार छैन ।
बुढाबुढी आफैमा अमूल्य सम्पति हुन् । उनीहरुको जीवन-भोगाई नै हाम्रो निम्ति उपयोगी खुराक हुनसक्छ । बुढाबुढीसँग भएका ज्ञान, सीप, कला, दक्षता, अनुभवलाई हामीले संकलन गर्न सक्छौं । संग्रमित गर्न सक्छौं । र, आफ्नो जीवनमा त्यसबाट धेरै कुरा सिक्न सक्छौं ।
बोझ होइनन्, सम्पति हुन्
हामीकहाँ धेरै देख्न, सुन्न, भोग्न पाइन्छ, ‘बुढा आमाबुवालाई छोराछोरीले आश्रममा लगेर छाडिदिए ।’ जब बुढाबुढी अशक्त हुँदै जान्छन् । जब उनीहरु रोगले थलिदै जान्छन् । हामी बोझ ठान्छौं । र, अनेक किसिमले उनीहरुलाई पन्छाउन खोज्छौं । जबकी भोलि आफुपनि त्यही अवस्थाबाट गुज्रनुपर्छ भन्ने कुराको हामीलाई हेक्का रहँदैन । बुढाबुढी देख्नसाथ हामीलाई झर्को लाग्ने, रिस उठ्ने, दिक्क लाग्ने हुन्छ ।
उनीहरुलाई स्यहार-सुसार गर्न जाँगर चल्दैन । औषधी पानी दिन अल्छी लाग्छ । उनीहरुको छेउमा बसेर कुराकानी गर्न दिक्क लाग्छ । सकेसम्म बुढाबुढीलाई एक्लै छाड्ने गरिन्छ । उनीहरुलाई बोझको रुपमा लिइन्छ ।
तर, बुढाबुढीको संगत गर्ने, उनीहरुको कुरा सुन्ने, उनीहरुको अनुभव लिने हो भने, हाम्रो लागि उनीहरु विश्वविद्यालय भन्दा कम हुँदैन । उनीहरुबाट जुन ज्ञान, सिप, अनुभवको कुरा सिक्न पाइन्छ, त्यो सायदै अर्को विश्वविद्यालयबाट सिक्न सकिन्छ ।
उमेर छँदा उनीहरु घुमेका हुन्छन्, विभिन्न पेशा-व्यवसाय गरेका हुन्छन्, कुनै न कुनै उपलब्धी हासिल गरेका हुन्छन्, अनेकथरी दुख छिचोलेका हुन्छन् । यस्ता बृद्धबृद्धा आफैमा एक ग्रन्थ हुन् । उनीहरुलाई हामीले मिल्काउने होइन, पढ्नुपर्छ । बुझ्नुपर्छ । र, उनीहरुको जीवन भोगाईबाट नयाँ पाठ सिक्नुपर्छ ।
यसो गरे कसो होला ?
बृद्धाअस्था आफैमा कमजोरी हो । शारीरिक, मानसिक रुपमा गल्दै र थाक्दै गएको अवस्था हो । यस्तो अवस्थामा उनीहरुलाई उचित रेखदेख, स्यहारसुसारको आवश्यक्ता हुन्छ ।
बाटोमा सकी नसकी हिँडिरहेका बृद्धबृद्धालाई जेब्रा क्रस कटाइदिने, भर्याङ चढाउने, सार्वजनिक यातायातमा सिट खोजिदिने काम गर्न सक्छौं । कतिपय अशक्त बुढाबुढीलाई तातो खाना र नरम ओछ्यानको व्यवस्था गरिदिन सक्छौं ।
सरकारी काम-कारबाहीका लागि हामीले सहयोगीको भूमिका खेल्न सक्छौं । उनीहरुका अप्ठ्यारोमा सहयात्री बन्न सक्छौं ।
हामी आफ्नो समय बुढाबुढीसँग भलाकुसारी गरेर बिताउन सक्छौं । उनीहरुसँग खेलेर, उनीहरुको अनुभव सुनेर रमाउन सक्छौं । आफ्नो कुरा साझेदार गर्न सक्छौं । आफ्नो हातले मिठो मसिनो बनाएर ख्वाउन सक्छौं । न्यानो लुगा खरिद गरिदन सक्छौं ।
किनभने ति बृद्धबृद्धा, जसले हाम्रो भविष्यका खातिर उनीहरुले आफ्नो ‘आज’लाई त्यागेका छन् । आफ्ना सन्ततीको भविष्यका लागि उनीहरुले आफ्नो खुसी, सुख त्यागेका छन् । यस्ता बृद्धबृद्धाप्रति हामीले श्रद्धाभाव राख्नैपर्छ । अनलाइनखबर |
२०७४ चैत १९ गते प्रकाशित