लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । लुम्बिनीमा स्थान अभाव देखाउँदै दुई वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो ।
तर, उक्त सम्मेलनमा सहभागी बौद्धमार्गी र बौद्ध विद्वान्हरूले सम्मलेन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाव दिएपछि अहिले यहाँको आध्यात्मिकतालाई जोडेर लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको हो ।
२५६२औं बुद्ध जयन्तीको अवसर पारी आउँदो १५–१६ वैशाखमा सम्मेलन गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी अतिथिहरूले तेस्रो दिन हुने बुद्ध जयन्तीको विशेष समारोहमा सहभागिता जनाउने कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीले बताए । यसपटकको बौद्ध सम्मेलनको नारा ‘लुम्बिनी नेपाल ः बुद्धजन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने राखिएको छ ।
लुम्बिनीलाई बौद्धधर्मको उद्गमस्थल, विश्व शान्तिको मुहानका रूपमा अघि बढाउने र बौद्ध धर्मको महŒव प्रचारप्रसार तथा अध्ययनलाई विश्वभर फैलाउने सम्मेलनको प्रमुख लक्ष्य रहेको विकास कोषले जनाएको छ । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिस्ट हबका रूपमा विकास गर्न योगदान गर्ने र धार्मिक एवं सांस्कृतिक पर्यटनको विस्तार तथा प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।
यस्तै, बुद्ध र बुद्ध जीवनीसँग जोडिएका कपिलवस्तु, रामग्राम, देवदहलगायतका स्थानको पनि प्रचारप्रसारमा टेवा पुग्ने आयोजकले विश्वास लिएका छन् । यी ठाउँबारे कोष र मन्त्रालयले प्रचारप्रसार गर्न नसक्दा लुम्बिनी आउने पर्यटक पुग्न सकेका छैनन् ।
सम्मेलनमा सहभागी हुन २३ देशका संस्कृति मन्त्रालयलाई निम्ता पठाइसकिएको छ । सम्मेलनमा बौद्धमार्गी भिक्षु तथा लामा र बौद्ध अध्येता तथा विद्वान् गरी दुई थरी बौद्ध विद्वान्हरूको सहभागिता रहनेछ । लुम्बिनीमा सम्मेलन हुने भएपछि त्यसका लागि आवश्यक तयारी सुरु गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।