गगन थापाले गाई कान्डबारे मुख खोले,आआफ्नो धर्मको संरक्षण गर्न पाउनु नै धर्म निरपेक्षता हो

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले आफूले भन्दै नभनेको कुरालाई समाचार बनाएर भ्रम फैलाएको भन्दै समाचार पोर्टलप्रति दोष प्रकट गरेका छन्।
कतिपय अनलाइन समाचार पोर्टलले प्रदेश ३ की उपसभामुख राधिका तामाङले बोलको कुरामा आफूले टिपप्पणी गरेको भन्दै झूटो खबर छापेको उनको गुनासो छ।
आफ्ना नाममा कयौँ फेक फेसबुक अकाउन्ट बनाएर सामाजिक सञ्जालमा पनि यो हल्ला फैलाइएको उनले बताए। अनलाइन पोर्टलहरूले पनि थाहा पाइ पाइ भिजिटर बढाउनमात्र नभएको कुरा पोस्ट गरेको उनको भनाई छ। यस्ता हल्लाका पछि नलाग्न उनले आग्रह गरे।
यसअघि पनि आफ्नाबारेमा दुश्प्रचार भएको स्मरण गर्दै उनले आफ्ना लागि यो नयाँ नभए पनि अति भएर आफू बोल्न बाध्य भएको बताए।
प्रदेश ३ की उपसभामुख तामाङले ‘गाईको मासु खान पाउने कानुन ल्याउँछु’ भनेको भनि सामाजिक सञ्जालमा केही दिनअघिदेखि हल्ला मच्चिएको थियो। तर तामाङले आफूले त्यसो भन्दै नभनेको भनी यसअघि नै सार्वजनिक रुपमा बोलिरहेकी छन्।
सांसद थापाले उनको भनाईमा टिप्पणी गरेको भनी समाचारहरू आएपछि उनले मुख खोलेका हुन्। उनले तामाङले के बोलिन् भन्ने विषयमा आफूलाई कुनै जानकारी नै नभएको बताएका छन्।
पाठकलाई बहकाउन, मुर्ख बनाउन र भिजिटर बढाउन गैरजिम्मेवार ढंगले झूटा समाचारहरू छापिएको उनको भनाई छ। स्रोत नभएका र पुष्टि नगरी राखिएका यस्ता समाचारको विश्वास नगर्न पनि उनले पाठकहरूलाई आग्रह गरेका छन्। ‘मलाई यसरी बोल्न मन थिएन तर तीनचारदिन देखि जे जे देखिरहेको छु त्यसले मलाई बोल्नैपर्छ भन्ने बनायो’, उनले भनेका छन्।
उनले नेपालको संविधानले सबै धर्मलाई बराबरीको व्यवहार गरेको उल्लेख गर्दै सबै धर्मप्रति आफ्नो सम्मान रहेको बताए। हिन्दु भएकोमा गर्व गर्दै उनले सबैले आआफ्नो धर्मको संरक्षण/सम्बर्द्धन र अभ्यास गर्न पाउनु नै धर्म निरपेक्षता भएको उनले बताए।
‘हामीले सबैको धार्मिक आस्थाको सम्मान गर्न सक्नुपर्छ’, उनले भने, ‘अरुको आस्थामाथि चोट नपुर्याई आफ्नो धर्मको अभ्यास गर्नुपर्छ।‘ धार्मिक सद्भावको सम्बन्धलाई बिगार्न चाहनेले नभएको कुरा फैलाएको उनले बताएका छन्।