अमेरिका जान स्थलमार्गबाट हिँडेका चार सय नेपाली महिनौदेखि बाटामै अलपत्र

काठमाडौँ । मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन्।
मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो।
अमेरिका पुर्याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो। निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन्।
करिब ४ सय अलपत्र
मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन्। अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ।
अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिंकांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् ।
अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन् बिजोग भएको छ ।
अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए। उनले कोष्टारिकासम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए। ‘भएका पैसा सकिएपछि धेरै नेपालीको विचल्ली भएकोछ, उनले भने, म ३ हजार अमेरिकी डलर डलर तिरेर कोष्टारिका आइपुगेको छु। यहाँबाट न अघि बढ्ने अवस्था छ न त पछाडि फर्कन नै सक्छु।
बाटैमा जान्छ ज्यान
मानव तस्कारको पछि लागेर उक्त रुटबाट अमेरिका पुग्ने सपना बोकेर हिँडेका कयौँ नेपाली बीच बाटैमा ज्यान समेत गुमाउने गरेका छन्। नेपालीहरु भारतको दिल्ली, रुसको मस्को, स्पेन र बोलिभियासहितका देश हुँदै कष्टपुर्ण यात्रा झेलेर जल र स्थल मार्गबाट अमेरिका तर्फ हान्निने गरेका छन् ।
मानव तस्करले मोटो रकम लिएर जहाज, डुंगा, रेल र ट्रकमार्फत जोखिमपूर्ण तरिकाले विभिन्न देशका मान्छे अमेरिका पुर्याउँदै आएका छन । पछिल्लो समय तस्करले नेपालीलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्याउने भनेर लाने गरेका छन् ।
अमेरिका जाने सपनासहित नेपालीले ४० देखि अधिकतम ७५ लाखसम्म रकम खर्च गरेर खर्च गर्छन् । पछिल्लो समय डोनाल्ड ट्रप राष्ट्रपति भएपछि मेक्सिकोको सीमामा कडाई गरिएको छ ।
त्यसैगरी आप्रवासीप्रति कडा नीति लिएपछि गैरकानुनी रुपमा प्रवेशी गर्ने नेपालीलाई अमेरिका असहज भएको छ । अमेरिका प्रवेश गर्ने मेक्सिकोको नाकामा कडाइ भएका कारण सयौँ नेपालीको विभिन्न ल्याटिन अमेरिकी मुलुकमा बिचल्ली भएको हो ।
दलाल बोल्नै चहाँदैनन्
नेपालीहरुलाई अमेरिका लाने काममा सक्रिय काठमाडौँका प्रकाश श्रेष्ठले यसबारेमा बोल्नै चाहेनन् । उनले आफुलाई नेपाली अपलपत्र परेकोबारेमा थाहा नभए भन्दै बोल्नै तयार भएनन् । मलाई थाहा छैन उनले यति मात्रै उत्तर दिए। तर, पीडित नेपालीहरुले उनीसहितका ५ जना भन्दा धेरैले लाखौँ पैसा लिएको भन्दै सम्पर्क नम्बर पनि दिएका छन्।
अन्नपूर्ण पोस्ट दैनिकबाट