मिडियामा चर्चित गाई काण्डका आरोपी तामाङहरु धरौटी बुझाएर तारेखमा रिहा

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा गाई काटेको भन्ने अभियोगमा पक्राउ परेका ३ प्रतिवादीहरु जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन् ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको ईजलासले मुद्धामाथि सुनुवाई गर्दै प्रतिवादीद्वय मंगलबहादुर ब्लोन तामाङ र रामबहादुर ब्लोन तामाङलाई जनही रु. १ लाख ८ हजारका दरले र कान्छीमाया ब्लोन तामाङलाई जनही रु. ५४ हजार धरौटीको माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम उनीहरुले धरौटी रकम नगदै जम्मा गरेपछि उनीहरु तारेखमा रिहा भएका छन् । मुद्धाको अन्तिम किनारा नलागेसम्म प्रतिवादीहरुलाई तारेखमा रिहा गरिएको हो ।
गाई काटेको अभियोगमा निर्दोष दावी गर्ने उनीहरुको बारेमा तु खबरले पहिलो पटक समाचार लेखेको थियो । समाचारको विषय तामाङ घेदुङ, प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङ हुँदै गृह मन्त्रलायसम्म पुगेको थियो ।
वि.सं. २०७४ कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीया कान्छीमाया ब्लोन तामाङलाई घटना भएको करिब ५ महिनापछि गएको फागुन १५ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो । गाई काटेर खाएको अभियोगमा कान्छीमाया ब्लोन तामाङ सहित मंगलबहादुर ब्लोन तामाङ र रामबहादुर ब्लोन तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
चन्द्र घलान / तुखबर
१३ चैत्र २०७४