किम जोङ उन बेइजिङ पुगे कि रेल मात्रा ? उत्तर कोरियाली विशेष रेल कस्तो ?
सोमबार राती बेइिजिङको सेन्ट्रल ट्रेन स्टेसनमा एउटा रहस्यमय रेल रोकियो। हरियो रङको सोही रेलका कारण उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बेइजिङ आइपुगेको अनुमान गरिन थालियो।
किनभने २१ डिब्बा भएको त्यो रेल किमका बुबा किम जोङ इलले सन् २०११ को चीन भ्रमणमा प्रयोग गरेको रेलजस्तै थियो।
किम जोङ उनका बुबा र हजुरबुबा दुवैले त्यस्तै रेल चढेर विरलै गर्ने विदेश यात्रामा जाने गर्दथे।
एक जापानी टेलिभिजनले खिचेको फुटेजअनुसार बेइजिङमा रोकिएको रेल किमका बुबा किम जोङ इलले प्रयोग गर्ने हरियो रङमा पहेँलो धर्का भएको रेलजस्तै थियो। सन् २०११ मा आफ्नो मृत्युभन्दा केही समयअघि त्यही रेलमा किम जोङ इलले चीन भ्रमण गरेका थिए। त्यसअघि सन् १९८२ मा किम इल सुङ पनि रेलमै चीन आइपुगेका थिए।
सन् २००९ मा दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित रिपोर्टअनुसार उत्तर कोरियाली नेताका लागि कम्तीमा ९० ओटा उच्च सुरक्षायुक्त डिब्बा भएका ६ ओटा रेल प्रयोगमा छन्। त्यतिबेला किम जोङ इलको यात्राका लागि तीन ओटा रेलको प्रयोग गरिन्थ्यो, जसमध्ये अगाडि अत्याधुनिक सुरक्षायुक्त रेल, बीचमा सर्वोच्च नेताको रेल र पछाडि थप सुरक्षाकर्मी र सामग्री भरिएको रेल हुन्थ्यो।
रेलको सबै डिब्बा बुलेटप्रुफ हुन्थ्यो। जसका कारण तिनको तौल औसत रेलको भन्दा हजारौँ पाउण्ड बढी हुने गर्छ। तौल बढी हुनाले नै त्यो रेल अन्य रेलभन्दा धीमा गतिमा यात्रा गर्नेगर्छ। त्यसैले त्यस्तो रेलको अधिकतम गति ६० किमी प्रतिघण्टा हुने बताइन्छ।
किम जोङ इल २०११ मा रुस पनि पुगेका थिए। सो यात्रामा उनीसँगै रहेका एक रुसी अधिकारीले आफ्नो संस्मरणमा जनाएअनुसार उनका लागि रेलमा जिउँदो झिंगे माछा, गंगटाको व्यवस्था गरिएको थियो। बुर्दो र बर्गण्डी वाइनको बाक्सा राखिएको थियो।
उनलाई दिक्क लागेको बेला ‘लेडी कन्डक्टर’ नाम दिइएको महिला समूहले उनलाई मनोरञ्जन दिलाउने गर्दथे। किम जोङ इल हवाइ यात्रा गर्न डराउने बताइन्छ। उनको मृत्यु पनि रेलभित्रै रहेको बेला हृदयघातबाट भएको थियो।
आफ्नो बाबुझैँ किम जोङ उनले पनि रेलमा यी कुराहरुको व्यवस्था गरेको अनुमान गरिन्छ। यद्यपि किमको रुची उनको बाबुको भन्दा फरक रहेको बताइन्छ। उनलाई स्वीस चीज, क्रिस्टल स्याम्पेन र हेनेसी कोन्याक मन पर्ने बताइन्छ।
उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमण हल्ला मात्रै
बेइजिङ – उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेकोबारे आफूलाई थाहा नभएको चीनले बताएको छ ।
चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा च्यूनिङले उत्तर कोरियाली नेता किम वा अर्का कुनै उच्च सरकारी अधिकारी बेइजिङ पुगेको भन्ने खबर हल्ला मात्र भएको बताउनुभएको हो ।
बेइजिङमा विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले उत्तर कोरियाली नेताको भ्रमण भएको सूचना प्राप्त भए सार्वजनिक गरिने पनि बताउनुभयो ।
यसअघि केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुगेको समाचार प्रकाशन गरेका थिए ।
जापानी केही सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।