तामाङ घेदुङले गाई काटेको आरोपमा पक्राउ परेकाहरुलाई बिनासर्त रिहाइ गर्न माग

याम्बु – गाई काटेर खाएको अभियोगमा हेटौंडा-१२ पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।
प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी सिंगो तामाङ बस्तीलाई नै आतंकित हुने किसिमका गतिविधिहरु गरेको भन्दै घेदुङले आपत्ति समेत जनाएको छ । ‘गाईको मासु खाएको आरोपमा गाउँका दर्जनौं मानिसहरु घर छाडेर हिँड्नुपर्ने अवस्था आएको र विचौलाहरुले स्थानीय पीडितहरुसँग पैसा माग्ने काम भइरहेको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ घेदुङका अध्यक्ष मोहन गोले तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘तामाङ समुदायमा गाई/गोरुको मासु खाने चलन सदियौंदेखिको हो । स्थानीय समुदायमा राजनीतिक तथा व्यक्तिगत रिसइबीका कारण गाउँकै केही व्यक्तिले गाई काटेर खाएको आरोप लगाएर तामाङहरुलाई दु:ख दिँदै आइरहेका छन् ।’
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ-आफ्नो संस्कृति र धार्मिक परम्पराअनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने र आतंकित पार्ने गतिविधि बन्द गराई दीर्घकालीन समाधान खोज्न घेदुङले आग्रह गरेको छ । जवाफमा गृहमन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए ।
ध्यानकर्षण पत्र बुझाउन प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङ, माओवादी केन्द्रका नेता सूर्यमान दोङ, प्रदेश ३ का सांसद् ओम घलान, तामाङ घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, उपाध्यक्ष घिसिङ, महासचिव बाबु घिसिङलगायत पुल्चोक पुगेका थिए ।
८ चैत्र २०७४