फेसबुकमा नेपालीहरु माझ BFF भाइरल,सुरक्षित कि असुरक्षित भन्ने कुरा हावा
अहिले फेसबुकमा BFF आतंक छाएको छ। भएभरकाले स्टायटस लेख्दै कमेन्टमा BFF लेख्न भनिरहेका छन्। यो फेसबुकका सिइओ मार्क जुकरवर्गको आविस्कार रे। BFF टाइप गर्दा हरियो भयो भने फेसबुक अकाउन्ट सुरक्षित छ रे अनि भएन भने चाहिँ तुरुन्त पासवर्ड चेन्ज गर्नुपर्ने रे। नत्र ह्याक हुन्छ रे। बुझ्नु न सुझ्नु, सब यही लेखिरहेका छन्। आखिर कुरा के हो त?
मार्क जुकरवर्गले आफ्ना सबै घोषणा आफ्नो फेसबुकमार्फत् गर्ने गर्छन्। यति ठूलो आविस्कार (यी हल्लाखोरहरुको भाषामा) गरेको भए उनले पक्कै पनि आफ्नो फेसबुकमा यसबारे बताउने नै थिए होलान्। २ मार्चपछि उनका कुनै पोस्ट छैनन्। पुराना पोस्टमा पनि यसबारे केही लेखिएको छैन।
अनि अर्को बुझ्नुपर्ने कुरा, मार्क जुकरवर्गले आफ्नो उत्पादन असुरक्षित छ भनी देखाउन रहर लागेको छ र, यस्तो सस्तो उपाय बनाएर प्रचार गर्न !
खासमा यो अङ्ग्रेजीमा चलेको हल्ला हो।
कुन जाँगरिला नेपालीले नेपाली भाषामा अनुवाद गरिदिएछन्। अनि त्यही कपिपेस्ट गर्दै यो हल्ला फैलिएको हो |
तपाईँहरुले याद गर्नुभएको छ कि छैन, कमेन्टमा Congrats वा Congratulation टाइप गर्दा पनि कमेन्टको कलर चेन्ज हुन्छ र एनिमेसन पनि देखिन्छ। ठीक त्यसै गरी BFF टाइप गर्दा पनि चेन्ज हुने बनाइएको छ केही देशमा। BFF को अर्थ बेस्ट फ्रेन्ड फरेभर हो। एनिमेसनमा दुई हातले हाइ फाइभ गरेको देखिन्छ। तर यो सबै ठाउँमा भने देखिने भइसकेको छैन। यदि तपाईँले फेसबुक एपबाट BFF टाइप गर्नुभयो भने कलर चेन्ज र एनिमेसन देख्न सक्नुहुन्छ। डेस्कटपबाट भने नदेखिन सक्छ।
त्यसको अर्थ तपाईँको फेसबुकको पासवर्ड सुरक्षित नभएको भन्ने हैन। फेसबुकको सुरक्षासित यसको गोरु बेचेको साइनो पनि छैन। यस्तो हावा स्टायटस कपिपेस्ट गरी अरुलाई मुर्गा बनाउने काम नगर्दा नै राम्रो होला। यस्तो स्टायटस सेयर नगर्नु राम्रो होला | माईसन्सारबाट