पुँजी बजारमा एनआरएनको लगानी, अवसर र चुनौती दुबै

काठमाडौं : पुँजी बजारमा गैर आवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने चर्जा चलेको निकै लामो समय भइसकेको छ । गएको पुस पहिलो साता नै एनआरएनएका अध्यक्ष भवन भट्टको नेतृत्वमा धितोपत्र बोर्ड पुगेको टोलीले बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्की सहितका उच्च अधिकारीलाई भेटेर लगानीको वातावरण बनाउन आग्रह समेत गरेका थिए ।
उचित वातावरण मिलेमा पुँजी बजारमा एनआरएनले १० अर्ब रुपैयाँ लगानी गर्न तयार रहेको धारणा पनि सार्वजनिक गरिसकेका छन् । तर एनआरएन वा विदेशी लगानी नै पनि भित्र्याउने चर्चा चलेको धेरै समय बितिसक्दा पनि व्यवहारमा उतार्ने छाँटकाँट भने अहिलेसम्म देखिएको छैन ।
यता, एनआरएनलाई लगानी वातावरण बनाउनका लागि अध्ययन गर्न भनेर औपचारिक रुपमा समिति गठन भएको पनि ६ महिना भइसकेको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरीको संयोजकत्वमा बनेको यस कार्यदलले ६ महिनाको अवधिमा विभिन्न विदेशी मोडलको अझै राम्ररी अध्ययन गर्न पनि भ्याएको छैन । अन्य मुलुकमा गैरआवासीयलाई कसरी लगानी गर्न दिन्छन् भनेर यो समितिले अध्ययन गर्नेछ ।
जे होस् अहिलेसम्म एनआरएनलाई लगानी खुला गर्ने बारेमा काम खासै अघि बढेको देखिंदैन ।
आखिर कहाँ अड्कियो त विदेशी लगानी भित्र्याउने विषय ? नेपाल धितोपत्र बोर्डका सह–प्रवक्ता निरञ्जय घिमिरे लगानी भित्र्याउन भन्दा पनि लगानीको प्रतिफल कसरी फिर्ता लैजाने भन्ने विषय महत्वपूर्ण र अलि जटिल अनि संवेदनशील समेत रहेको बताउँछन् ।
एनआरएनले नेपाली सेयर बजारमा लगानी गरिसकेपछि यसबाट आर्जन गरेको नाफा फेरि विदेशमा कसरी लैजान दिने भन्ने विषय प्रष्ट पार्न सकिएको छैन । यही सबैभन्दा जटिल पक्ष पनि हो । यसमा कानुनी रुपमै प्रष्ट पार्न सकेपछि मात्र एनआरएनको लगानी भित्रन दिइने उनको भनाई छ । सेयर बजारमा एनआरएनलाई लगानी खुला गर्न सकिएको खण्डमा बजार निकै गतिशील हुने बोर्डका प्रवक्ता घिमिरेको पनि ठम्याईं रहेको छ ।
धितोपत्र बोर्डका कार्यकारी निरज निर्देशक गिरीको संयोजकत्वमा गठन भएको कार्यदलमा बोर्डकै अन्य दुई सदस्यसहित अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकका एक–एक जना प्रतिनिधि रहेका छन् । यो कार्यदलले विभिन्न विदेशी मोडलहरुको पनि अध्ययन गरिरहेको छ । विदेशी मोडलको अध्यनयपछि आवश्यक नीति निर्माणका लागि बोर्ड लागिपर्ने सहप्रवक्ता घिमिरेले नेपाली पैसालाई जानकारी दिए ।
विस्तृत अध्ययनपछि बन्ने कार्यविधिमा नेपालमा सेयर बजारबाट आर्जन गरेको पैसा विदेशमा फेरि कसरी लैजाने भन्ने विषय प्रष्टरुपमा आउनेछ । त्यसपछि नीतिगत र कानुनीरुपमै व्यवस्था गरेर एनआरएनको वैधानिक लगानी पुँजी बजारमा भित्र्याइने उनको भनाई छ ।
यता, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार पनि सेयर बजारमा एनआरएनलाई लगानी गर्न दिनुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘विश्वका अन्य देशले पनि विदेशमा भएका आफ्ना नागरिकलाई ढुक्कसँग लगानी गर्न दिने गरेका छन् । हामीले पनि सेयर बजारमा लगानी गरेर आर्जन गरेको प्रतिफल आफू बसेको देशमा लैजाने वातावरण मिलाउन कानुनी व्यवस्था गर्न आवश्यक छ । अनिमात्र हाम्रो पुँजी बजार पनि फस्टाउँछ ।’
यतिबेला बजारको चौतर्फी विकास गर्न पँुजी बजारमा पूर्ण स्वचालित कारोबार, सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण अनि विदेशी वित्तीय संस्थाहरूले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था आवश्यक देखिन्छ । यी पक्षहरु समेटेर बलियो कानुनी व्यवस्था तयार पार्न सकेमा सेयर बजारमा तत्काल १० अर्ब रुपैयाँ लगानी गर्ने जानकारी यसअघि एनआरएनएको नयाँ कार्यसमितिले धितोपत्र बोर्डलाई जानकारी गराइसकेको छ ।
एनआरएन लगानी किन छ आवश्यक ?
अहिले सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यसरी बजार ओरालो लाग्नुमा सेयरको आपूर्ति अधिक हुनु नै प्रमुख कारण देखिन्छ । आखिर, पुँजी बजार पनि माग र आपूर्तिकै सिद्धान्तमा चल्ने हो । अहिले नेपालको पुँजी बजारमा छोटो समयमा थपिएको अधिक आपूर्ति खपत गर्ने संयन्त्र अभाव देखिएको छ । विद्यमान ओभर सप्लाई खपत गरी बजारलाई गतिशील बनाउन पनि यथाशीघ्र एनआरएनले लगानी गर्ने वातावरण बनाइनुपर्ने इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
बजार सुधारका विभिन्न पाटामध्ये एनआरएनलाई लगानी खुला गर्नु एक प्रमुख पक्ष रहेको उनको भनाई छ । सेयर बजारमा एनआरएनको लगानीलाई वीरबलको खिचडी जस्तो नबनाउन उनी धितोपत्र बोर्डसहित अन्य सरोकारवाला निकायसँग आग्रहसमेत गर्छन् । नेपालमा प्रायः सर्वसाधारण लगानीकर्ताहरुको आकर्षण आइपीओमा अझै बढी हुने गरेको छ ।
कुनै कम्पनीको आइपीओ खुल्दा अर्बौं रुपैयाँ ओहिरो लाग्ने गरेको भए पनि दोस्रो बजारमा कारोबार गर्ने नियमित लगानीकर्ताको संख्या त्यस अनुपातमा अझै कम छ । अहिले दोस्रो बजारमा पनि सेयर भाउ आइपीओकै हाराहारीमा आउँदा समेत अपेक्षाकृत मात्रामा खरिदकर्ता नदेखिनुले दोस्रो बजारमा कारोबार गर्न धेरैलाई ज्ञानको अभाव भएको समेत पुष्टि हुन्छ ।
सेयर शिक्षा र पहुँच विस्तार गरी लगानीकर्ताको संख्या बढाउनुपर्ने यो तथ्यले पनि पुष्टि गर्छ । यसकारण एनआरएनलाई प्रत्यक्षरुपमा लगानी खुला गर्न सकिएमा बजारमा सेयरको माग बढ्ने देखिन्छ । यसले अहिले देखिएको ओभर सप्लाईको समस्या समाधान गर्नेछ भन्ने एकाथरीको विश्लेषण हो ।
कतै, एनआरएनलाई लगानी गर्न दिंदा समस्या त आउने होइन ?
सेयर बजारमा एनआरएनको लगानीले दीर्घकालीन समयमा बजार कत्तिको मजबुत होला भन्नेमा अर्को महत्वपूर्ण प्रश्न पनि तेर्सिने गरेको छ । हाम्रो बजारको आकार सानो छ । पुँजी परिचालन पनि सानै छ । अनि लगानीकर्ताको अनुभव, प्रविधि र नियामकको नियमन क्षमता पनि अपेक्षाकृत रुपमा विस्तार हुन सकेको छैन ।
अनुभवको पनि अझै कमी देखिन्छ । यस्तो अवस्थामा एनआरएनलाई एकैचोटी ठूलो मात्रामा लगानी गर्न दिंदा समस्या आउन सक्ने तर्फ पनि सचेत हुन आवश्यक छ । कुन अनुपातमा लगानी गर्न दिने अनि कसरी र कुन अनुपातमा मुनाफा फिर्ता लैजान दिने भन्नेमा दरिलो कानुन बनाएर सोही अनुसार व्यवस्थापन गर्न सकिएन भने फेरि पुँजी बजारमा एनआरएनकै लगानीको नाममा अर्को दुर्घटना निम्तिन सक्ने तर्फ पनि सरकार सचेत हुनुपर्ने देखिन्छ ।
एनआरएनले ठूलो रकम एकैसाथ बजारबाट निकाले भने हाम्रो पुँजी बजार धरापमा पर्न सक्ने तर्फ पनि सरकार, नियामक र लगानीकर्ताहरु उत्तिकै सजग हुन आवश्यक देखिन्छ ।
– सोभित थपलिया