इन्टरपोलको रेड कर्नर नोटिसमा ७९ नेपालीको नाम,के हो रेड कर्नर नोटिस ?

काठमाडौं – लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका फरार ‘माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार, प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङेलाई खोजी गर्न नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको हो |
यो सँगै मनाङेलाई अब १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्च अदालतले गत माघ २ गते सोही फैसलाको पक्षमा आदेश जारी गरेपछि प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आयो ।
सर्वोच्चको फैसला आएसँगै मनाङे फरार छन् । उनले प्रदेश सांसदको रुपमा शपथसमेत लिएका छैनन् । दिपक मनाङे रेडकर्नर सूचीमा पर्ने पछिल्लो नेपाली हुन् । प्रवक्ता नेउपानेका अनुसार मनाङेभन्दा अघि १४ जना नेपालीलाई प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजीरहेको छ ।
यी हुन् नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेका नेपाली
नेपाल बाहेक अन्य देशका प्रहरीले पनि ७९ जना नेपालीलाई इन्टरपोलको रेडक कर्नर नोटिसमा राखेर खोजीरहेको छ । यस मध्ये भारत प्रहरीले २८ जना, अमेरिकी प्रहरीले ५ जना, आबुधावी प्रहरीले १५ जना, कतारको प्रहरीले ९ जना, साउदी अरेबियाको प्रहरीले ३ जना, मिन्स अर्थात बेलारुस, पोर्चुगल, पोल्यान्ड र बहराइनको प्रहरीले १–१ जनालाई इन्टरपोलमार्फत खोजिरहेको छ । यीमध्ये रेडकर्नर नोटिसमा मात्रै २८ जना नेपाली छन् ।
यी हुन् विदेशबाट रेडकर्नर नोटिस जारी भएका नेपाली
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार, चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कारजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो । नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ । नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल भन्छन्, ‘विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा भने फर्काउन सकिन्छ । तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन भने मिल्दैन ।’
सुपुर्दगी कानून नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने भएको हो । नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर, त्यो देशमा नेपालीले गरेको अपराध बमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ ।
के हो रेड कर्नर नोटिस ?
सूचना र प्रविधिको विका सँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झाङ्गिदै गयो । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनबीच सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो । सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको १०० औं सदस्य हो । इन्टरपोलमा हालसम्म १ सय ९२ देश सदस्य छन् ।
पूर्व एआइजी ढकालका अनुसार, इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।
सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानूनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ । लोकान्तर बाट
चैत ५, २०७४ मा प्रकाशित