पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राप्रपाका नेतासँग झापामा गोप्य भेटवार्ता

झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै घटकका नेताहरुले आइतबार (४ चैत्र) गोप्य भेटवार्ता गरेका छन् |
२० फागुनदेखि झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहेका शाहसँग उतै पुगेर राप्रपाका तीनै घटकका नेताहरुले सामुहिक भेटघाट गरेका हुन्।
पूर्वराजासँगको भेटमा राप्रपाको तर्फबाट उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाह (विराटनगर) सहभागी थिए।
यसैगरी पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बाट महामन्त्री राजाराम श्रेष्ठ र केन्द्रीय सदस्यद्वय सगुन लावती र सुरेश आचार्य थिए।
डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) का डा सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलपनि सहभागी रहेको स्रोतले बतायो।
गत निर्वाचनमा पराजय बेहोरेका तीनै राप्रपाका नेताहरु यतिबेला पार्टी एकताको प्रयासमा छन्। यस्तो बेला नौ नेताहरुले झापा पुगेर पूर्वराजासँग गरिएको भेट अर्थपूर्ण मानिएको छ।
पूर्वराजासँग भेट गरेका उपरोक्त नेताहरु पार्टी अध्यक्षसँग त्यति सन्तुष्ट छैनन्। त्यसैले, अध्यक्षहरुलाई विस्थापित गर्ने योजनास्वरुप पूर्वराजासँग भेट गरेको हुनसक्ने स्रोतको दावी छ।