दूध बेचेर मासिक १५ लाख आम्दानी

दूध बिक्री गरेर काभ्रेपलाञ्चोकका स्थानीयवासीले मासिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रमा स्थानीयले दूध बिक्री गरेर सो रकम आम्दानी गर्ने गरेका हुन् । छिमेकी गाउँका किसानले दूध बेच्न नपाए पनि आफूहरूले दूध बेचेर नुन तेलको जोहो गर्न सक्ने चिज केन्द्रले बनाएको स्थानीय मिना मगरले सुनाइन् । २०२७ सालमा साबिकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको नेपाल सरकारको स्वामित्वमा रहेको उक्त केन्द्रले सो स्थान आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेको छ ।
भिमखोरीको कातारचे, केराबारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका ठाउँबाट संकलन भएको दूध विभिन्न सहकारी संस्थाबाट गरी दैनिक रूपमा ७ सयदेखि ७५० लिटरसम्म जम्मा हुने गरेको केन्द्रका प्रमुख अबोधकुमार झाले जानकारी दिए । यहाँ संकलन गरेका दूधबाट चिज, मखन, पनिरलगायतका उत्पादित वस्तुहरू काठमाडौंस्थित केन्द्रीय कार्यालय लौनचौरमा लगेर बिक्री गरिन्छ ।
जुगेपानीमा रहेको चिज उत्पादन केन्द्रमा दैनिक पनि ११० देखि १२० केजी, चिज ७० देखि ८० केजी र मखन १८ देखि १९ केजीसम्म उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । ‘२०२७ सालमा स्थापना भएको यो केन्द्रबीचमा २०५० सालदेखि २०६५ सालसम्म १५ वर्ष बन्द भएर निरन्तर सञ्चालनमा आइरहेको छ । भिमखोरीको उच्च पहाडी भूभाग भएका कारण यातायातको साधन नचल्ने भएपछि त्यस भेगमा उत्पादन भएको दूध संकलन गर्नका लागि ठाउँठाउँमा सहकारी संस्थाहरूले जम्मा गरेको दूध ढुवानी गर्न स्थानीय बासिन्दा र खच्चडको सहयताबाट ल्याउने गरेको केन्द्रले जनाएको छ । त्यसरी दूध ढुवानी गरेबापत भूगोल हरेर ढुवानी कर्ताहरूलाई सहकारीहरूमार्फत मासिक ज्याला दिने गरेको छ ।
स्थानीय बासिन्दाले दूध ढुवानी गरेबापत २ हजार ४० रुपैयाँ पाउँछन् । यसरी काम गरेबापत पाएको पैसाले छोराछोरीलाई पढाउने, घर खर्च चलाउने र अन्य काममा खर्च गर्नका लागि सजिलो भएको स्थानीय बासिन्दाको भनाइ छ । अहिले त्यहाँ रहेको केन्द्रमा कार्यालय प्रमुख झासहित पाँच जना कर्मचारीले काम गर्दै आइरहेका छन् । ११ रोपनी जग्गामा फैलिएको उक्त केन्द्रमा ६ वटा भवनसहितको भौतिक संरचना रहेको छ तर चिज उत्पादन केन्द्र पौवाको उचित संरक्षण नहुँदा जिर्ण भन्दै गएको छ । दूध ढुवानीमा खच्चड र मान्छेहरूको प्रयोग हुँदा दर्जनांैले रोजगारीसमेत पाएका छन् ।