काठमाडौं महानगरपालिकाले तीन वर्षभित्र रेल चलाउने

काठमाडौं – तीन वर्षभित्र काठमाडौंमा रेल चल्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर काठमाडौं महानगरपालिकाले तीन वर्षभित्र रेल चलाउनेगरी गृहकार्य अगाडि बढाएको छ । प्रतिवद्धतामा मात्र सीमित नगरी कामै गरेर देखाउने भन्दै महानगर तात्तिएको हो ।
यसका लागि केही दिनमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा सम्झौता गरिने र त्यसैको आधारमा अबको ३ वर्षमा मोनोरेल चलाउने गरि काम थालिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
चिनियाँ कम्पनी साईमेक्स इंक कम्पनीले सात महिनाअघि साउनमा मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन महानगरलाई बुझाएको थियो । त्यही अध्ययनको आधारमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सम्झौता गर्न लागिएको महानगरका प्रवक्ता कार्कीको भनाई छ ।
कार्कीका अनुसार साईमेक्स इंक कम्पनीले आफ्नै खर्चमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिदिने भएको छ । केही दिनमै डिपिआर सम्झौता गरिने र २ महिनाभित्र प्रतिवेदन तयार हुने उहाँको भनाई छ ।
प्रतिवेदन पाएको १ महिनापछि कामको लागि बोलपत्र आह्वान गरिने र बाँकी २ वर्ष भित्र मोनोरेल सन्चालन गरिने प्रवक्ता कार्की बताउनुहुन्छ । योजना सम्पन्न गर्न लाग्ने लागत, समय तथा मोनोरेलको सम्पूर्ण संरचना, स्टेशन, डिव्बा कतिवटा राख्न सकिने भन्ने बिषय भने विस्तृत अध्ययन प्रतिवेदनमा नै उल्लेख हुनेछ ।
कहाँ कहाँ चल्छ मोनोरेल ?
सम्भाव्यता अध्ययन प्रतिवेदनमा ३ वटा रुट महानगरभित्र सन्चालन हुने गरि प्रस्ताव गरिएको छ । पहिलो रुटमा प्रारम्भिक काम हुनेछ भने त्यसपछि क्रमिक रुपमा दोश्रो र तेश्रो रुटलाई समेत सम्पन्न गर्ने लक्ष्य रहेको महानगरको जनाएको छ ।
कीर्तिपुरसम्म पुर्याउने लक्ष्य छ । तिलगंगा हुँदै एयरपोर्ट–तिनकुने– बानेश्वर–बबरमहल–सिहंदरबार–शहीदगेट–त्रिपुरेश्वर–टेकु र कलंकीसम्म ८ किलोमिटरको रुट हुने छ ।
दोश्रो रुट अन्तर्गत नारायणगोपाल चोकदेखि गोदावारीसम्म २० किलोमिटर रहने छ । यो रुट अन्तर्गत नारायणगोपाल चोक–रत्नपार्क–सातदोबाटो हुँदै गोदावरीसम्म बिस्तार गरिने छ । तेश्रो रुटमा भने चक्रपथ परिक्रमा र भित्री सडकहरुमा समेत मोनोरेलको परिकल्पना गरिएको छ ।
प्रारम्भिक अध्ययनमा मोनोरेल चल्ने १० किलोमिटर बाटो निर्माण गर्न झण्डै ३० करोड अमेरिकी डलर खर्च लाग्ने छ ।
के हो मोनोरेल ?
मोनोरेल पेट्रोल वा डिजेल ईन्धनबाट चल्ने नभई बिजुलीबाट चल्छ । जमिनबाट उठाईएको बिमको साहारामा एउटै ट्रयकमा रेल गुड्ने गर्छ । मनोरेललाई स्काईरेल पनि भनिन्छ ।
बस भन्दा केही ठूलो डिव्बाहरु जोडिएर मोनोरेल चलाईन्छ । रेलको एउटा डिव्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिव्बा जोड्न सकिन्छ । तर काठमाडाै महानगरपालिकामा सञ्चालन गरिने रेलमा ३ डिव्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।