बीपी महामूर्ख अनि मनमोहन, कृष्णप्रसाद र गणेशमान पटमूर्ख !

राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर–२ बाट राष्ट्रियसभा सदस्य निर्वाचित वृषेशचन्द्र लाल नेपाली कांग्रेसको राजनैतिक पृष्ठभूमिबाट आएका हुन् । लाल प्रतिनिधिसभा निर्वाचनको मुखमा विभिन्न मधेसकेन्द्रित पार्टीहरू मिलेर राजपाको गठनपछि पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका हुन् । प्रजातन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा उनले पटक–पटक गरी झन्डै आठ वर्ष जेलमा बिताएका छन् ।
मैथिली भाषा–साहित्यमा पनि योगदान पुर्याइरहेका लाल होलीका अवसरमा मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रदान गर्ने महामूर्खको उपाधिबाट विभूषित भए । लालसँग महामूर्ख उपाधिको सुरुवात, यसको महत्त्व आदि विषयमा साप्ताहिकका लागि जनक तिमिल्सिना र भिषा काफ्लेले गरेको कुराकानी :
महामूर्ख घोषणा गर्ने क्रम कसरी सुरु भएको हो ?
हामीले २०३५ सालमा महामूर्ख सम्मेलन गरेर त्यसको थालनी गर्यौं । ०३५–३६ सालतिर हामीले सामूहिक रूपमा होली मनाउन थालेका हौं । पहिलो महामूर्ख सम्मेलन हामीले एउटा प्रयोगका लागि गरेका थियौं । त्यतिबेला विमलेन्द्र निधि, म, अनिलप्रताप ढुंगाना, नरेन्द्र मिश्र आदिले त्यसको सुरुवात गर्यौं । त्यो कार्यक्रम निकै राम्रो भयो, पहिलो महामूर्ख मेरा दाजु गिरीशचन्द्र लाललाई घोषणा गरियो । अहिले मिथिला नाट्य कला प्रतिष्ठानले त्यो परम्परालाई निरन्तरता दिइरहेको छ ।
महामूर्ख घोषणाको परम्परा किन सुरु गरिएको हो ?
पहिले समूह–समूहमा होली खेलिन्थ्यो, जाँड, रक्सी, भाङ आदि खाने काम बढी हुन्थ्यो । होलीमा दुर्घटना पनि उत्तिकै हुन्थे । त्यतिबेला कुनै न कुनै बहानामा कांग्रेसी र गैरकांग्रेसीबीच झगडा पनि हुन्थ्यो । संगठित भएर सबै एकसाथ होली खेलौं, शुभकामना साटासाट गरौं, कसैले आएर आक्रमण गर्न नसकोस् भनेर डिफेन्सिभ रणनीति पनि थियो होला । त्यसले सबैलाई सकारात्मकतातर्फ लग्यो, जनकपुरमा त्यस्तो कार्यक्रम हुन थालेपछि त्यसको अनुसरण अरूतिर पनि भयो ।
महामूर्ख घोषणाको चलन के हो ?
होलीका अवसरमा त्यहाँका बुद्धिजीवी तथा महत्त्वपूर्ण व्यक्तिहरू एक ठाउँमा जम्मा हुन्छौं अनि त्यहाँ कविता पाठ गर्ने, हँसाउने आदि काम हुन्छ । संस्कृतिको जगेर्नाका लागि परम्परागत होली गान पनि गाइन्छ अनि जोगिरा पनि सुनाइन्छ । पहिले जोगिरामा अश्लील शब्द प्रयोग गर्ने चलन थियो, त्यसलाई हामीले सुसंस्कृत तरिकाबाट अघि बढाउन थाल्यौं । वास्तवमा कतै न कतै होलीमा सेक्सुयालिटी पनि झल्कन्छ, त्यो पनि एउटा एक्सप्रेसन हो, सोसाइटीलाई त्यस्तो एक्सप्रेसन पनि चाहिन्छ । यसले युवाहरूलाई पनि मनोरञ्जन प्रदान गर्छ । होली भ्रातृत्वको पर्व हो, यो दिन कसैसँग झगडा गर्नु हुँदैन, तर मनमा लागेको केही कुरा छ भने त्यो पनि निस्कन्छ । मधेसमा एकाध घटना भए होलान्, तर पहिलेको तुलनामा त्यस्ता घटनामा निकै सुधार आएको छ ।
महामूर्ख घोषित भएपछि कस्तो अनुभव गरिरहनुभएको छ ?
मलाई त निकै राम्रो अनुभव भैरहेको छ, किनभने यो एउटा सम्मानको पर्याय भैसकेको छ । बुद्धिजीवी, भाषा र संस्कृतिका निम्ति योगदान गर्नेहरू तथा उच्चपदस्थ व्यक्तिहरूलाई महामूर्ख घोषित गरिन्छ । भन्नलाई महामूर्ख भनिए पनि यो सम्मानित उपाधि हो ।
महामूर्ख घोषित हुन खास के विशेषता आवश्यक छ ?
त्यो वर्ष महामूर्ख कसलाई बनाउने भन्ने विषयमा छलफल हुन्छ । छलफलका क्रममा कसको के योगदान छ, कसले के–कस्तो उपलब्धि हासिल गर्यो, कुन क्षेत्रमा सफलता हात पार्यो जस्ता कुरा हेरिन्छ । कहिले लोकतान्त्रिक आन्दोलनमा लागेकाहरूलाई नै अगाडि बढाइयो, कहिले साहित्यमा लागेका व्यक्तिले यो सम्मान पाए, कहिले भाषा–संस्कृतिका लागि विशेष योगदान गरेकाहरूले महामूर्खको सम्मान प्राप्त गरे । महामूर्ख घोषित गरिएपछि दिइने प्रमाणपत्रमा पनि त्यसको कारण लेखिन्छ ।
तपार्इंलाई के कारणले महामूर्ख घोषित गरिएको हो ?
महामूर्ख घोषणा गरेपछि उहाँहरूले दिनुभएको प्रमाणपत्रमा लेखिएको कुराको अर्थ के हो भने तपाई बहुभाषी (नेपाली, हिन्दी, मैथिली, अंग्रेजी, भोजपुरी भाषाहरूको ज्ञान) भए पनि तपाईंले व्यक्तिगत रूपमा मैथिली भाषामा बढी योगदान पुर्याउनुभएको छ, तपाईंले राजनीतिमा समेत योगदान दिएका कारण महामूर्खको यो सम्मान दिइएको हो । जुन कुरा गर्दा छिट्टै अगाडि बढिन्छ त्यो कुरालाई ध्यानमा नराखी तपाईंले आफ्नो भाषालाई अगाडि बढाउने मूर्खता गर्नुभयो, त्यसैका लागि तपाईंलाई महामूर्ख घोषित गरिएको हो ।
राष्ट्रियसभा सदस्य तथा राजपाको वरिष्ठ उपाध्यक्षजस्तो पदमा हुनुहुन्छ । महामूर्ख घोषित भएपछि राजनैतिक यात्रासँगै नयाँ यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?
महामूर्खको उपाधि प्रदान गरिएपछि त्यसबाट मलाई ऊर्जा प्राप्त भएको छ । मैले त्यहाँ पनि भनेको थिएँ र अरूतिर पनि भन्दै आएको छु, म सबै भाषालाई समान रूपमा सम्मान गर्छु । जहाँसम्म मैथिलीको कुरा छ, यो मेरो मातृभाषा भएकाले त्यसको स्थान अलिकति विशेष छ, यसमा कुनै शंका छैन, म मैथिलीका निम्ति काम गर्छु । त्यसको अर्थ म अरू कुनै भाषाप्रति द्वेष राख्ने मानिस होइन । म भाषालाई अभिव्यक्तिको माध्यम मान्छु । मैले सानैमा मैथिली, नेपाली र हिन्दी तीनवटै भाषा एकैपटक सिक्ने अवसर पाएँ ।
तपाईंलाई महामूर्खको पदवी त दिइयो, वास्तविक जीवनमा महामूर्ख बन्ने अवसर प्राप्त भएको छ कि छैन ?
मलाई लाग्छ, म महामूर्ख त हुँदै हो । मूर्खको परिभाषा के ? यसको दुई–तीन किसिमले परिभाषा हुन सक्छ । मूर्ख मानिसहरू निष्प्रिय हुन्छन्, हर्ष र बिस्मातसँग उसलाई खासै मतलब हुँदैन । उसले हरेक कुरालाई एउटै किसिमले लिएको हुन्छ ।
तपाईं सामाजिक महामूर्ख त घोषित हुनुभयो, नेपालमा साँच्चकै महामूर्ख नेता कसलाई मान्नुहुन्छ ?
यो कुरा भन्न निकै गाह्रो छ । किनभने, मेरो मूर्खको परिभाषा निष्प्रियता, स्वार्थभन्दा टाढा, हर्ष र बिस्मातबाट अलग व्यक्ति हो । मलाई लाग्छ, नेपालले अहिले तटस्थ र नेपालका बारेमा सोचिदिने, सबै समुदायलाई समेटेर अघि बढाउन सक्ने, सबैलाई अपनत्वबोध बोध गराउने नेतै पाएको छैन, त्यसकारण अहिले नेपालमा महामूर्खको खोजी नै गर्नुपर्छ ।
भनेपछि नेपालको इतिहासमै महामूर्ख भन्नलायक नेता जन्मिएनन् ?
मेरो परिभाषाअनुसार बीपी कोइरालालाई मात्र महामूर्खको उपाधि दिन सकिन्छ ।
बीपीलाई महामूर्ख भन्नुपर्ने कारण ?
उहाँले नि:स्वार्थ कष्टकर जीवन बिताउँदै आफ्ना लागि केही पनि नसोची जनता र देशका लागि काम गर्नुभयो । उहाँले हरेक दिशामा आर्थिक, सामाजिक मामिलामा नयाँ सोचलाई अघि बढाउनुभयो । नेपालको साहित्यमा पनि ठूलो योगदान दिनुभयो । उहाँले कुनै किसिमको स्वार्थ राख्नुभएन, हामीले उहाँका जे–जति कुरा सुनेका र बुझेका छौं, त्यसकारण उहाँ महामूर्खका लागि योग्य हुनुहुन्छ । उहाँले सारा परम्परा कायम गर्दै मुलुकलाई लोकतन्त्र, विकास र समाजवादतर्फ अग्रसर गराउनुभयो । त्यसपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलाई पटमूर्ख भन्न सकिन्छ । उहाँहरूले पनि जीवनभर संघर्ष गर्नुभयो । कहिल्यै आफ्नो स्वार्थबाट प्रेरित हुनुभएन ।
तपाईंको विचारमा आइडल महामूर्ख कस्तो होला ?
नि:स्वार्थी अनि निष्प्रिय हुनुपर्छ । सामाजिक रूपमा जात–पात, धर्म–भाषा आदिजस्ता राग–अनुराग सबैबाट अलग आफ्नो एउटा दृष्टिकोण हुनुपर्छ । राजनीतिक रूपमा समान अधिकार, सबैलाई समानता प्रदान गर्न सक्ने हुनुपर्छ ।
राजनीतिमा मुर्खताको हद कतिसम्म स्वीकार्य हुन्छ ?
मूर्ख शब्दलाई हामी कुन अर्थमा परिभाषित गर्छौं, त्यसमा निर्भर रहन्छ । राजनीति अहिलेको समाजको महत्वपूर्ण पाटो हो ।
विश्वका हरेक कुरा यसैको सेरोफेरोमा घुम्छ । सकारात्मक रूपमा हेर्ने हो भने राजनीतिमा नियन्त्रण र निर्णय गर्ने ठाउँमा पुगेर आफ्नो निर्णय सबैको साझा बनाउन सक्नु ठूलो क्षमता हो । सकारात्मक रूपमा हेर्दा राजनीतिका लागि महामूर्ख भनेकै यही हो । नकारात्मक रूपमा हेर्ने हो भने यसको प्रतिकूलतामा सोच्ने कोही छन् भने त्यसले हानि पुर्याउँछ, त्यो नकारात्मक कुरा हो ।
पर्वका अवसरमा महामूर्ख हुनु राम्रो कि राजनैतिक रूपमा महामूर्ख हुनु राम्रो ?
पर्वमा महामूर्ख घोषित हुनु भनेको तिमी जुन बाटोमा हिँडिरहेका छौं त्योभन्दा अझ राम्रो गर भन्ने हो । त्यो एउटा ऊर्जा र प्रोत्साहन हो ।
महामूर्खको कार्यकाललाई अझ गरिमामय बनाउने योजना के–के छन् ?
म नेपालका सबै जनता एकजुट भएर देश विकासमा लाग्नुपर्छ भन्ने कुरामा जोड दिन्छु । हामी सबै नेपाली बराबर हांै । हामी कोहीभन्दा कोही कम छैनौं भन्ने कुरालाई सबैमा पुर्याउनुपर्छ ।
राजकाजसम्बन्धी कुरामा सबैको समान सहभागिता होस् भन्ने कुरामा मेरो मन लागिरहन्छ । मेरो आवाज देशमा योग्यताअनुसार बिना भेदभाव सबैले अवसर पाउन् भन्ने कुरामै बुलन्द हुनेछ ।