विवादित प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिले शपथ लिनु कति जायज ? शपथ बुधबार ४ बजे

राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित विद्यादेवी भण्डारीले नयाँ कार्यकालका लागि शपथ लिएर आफ्नो पदभार सम्हाल्नुपर्नेछ ।
राष्ट्रपतिको शपथ प्रधानन्यायाधीशले गराउने व्यवस्था छ ।
विवादित व्यक्तिबाट शपथ लिने कि नलिने भन्ने विषयले सत्तारुढ दल र राष्ट्रपतिनिकट व्यक्तिहरुबीच पनि अनौपचारिक बहस हुन थालेको स्रोतले जनाएको छ । राष्ट्रपतिसमक्ष समेत प्रश्न उठ्न सक्ने भएकाले कुनै न कुनै रुपमा पराजुलीलाई बहिर्गमन बाटोमा लैजानुपर्ने दबाब सत्तापक्षका नेताहरुसमक्ष बढेको छ ।
पराजुलीको किर्ते प्रकरणले न्यायालयकै गरिमामा आँच पुगेको भन्दै न्यायालय जोगाउने उपाय खोज्ने सत्तारुढ दलका नेताहरुले अप्रत्यक्ष रुपमा शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । सर्वोच्चकै न्यायाधीशले समेत उनको अयोग्यताबारे इजलासबाटै घोषणा गरिसकेकाले पराजुलीको निरन्तरता हुन नुहने उनीहरुको धारणा छ ।
पार्टी भित्रैबाट समेत यस्ता धारणा आउन थालेपछि प्रधानमन्त्री एवं वाम गठबन्धनको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पराजुलीको किर्ते प्रकरणलाई गम्भीर रुपमा लिएका छन् । यो विषयमा प्रधानमन्त्री ओली र दहालबीच मंगलबार अनौपचारिक छलफल भएको छ ।
पराजुलीले तत्कालै विदामा बस्नु उपयुक्त हुने उनीहरुको सुझाव थियो, तर पराजुली त्यो नगरी मंगलबार पनि नियमित काममा रहेपछि समस्या सिर्जना भएको हो ।
सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबार पराजुलीले किर्ते गरेर अहिले पदमा बसिरहेका भन्दै इजलासबाट आफ्नो राय सुनाएका थिए । पराजुलीको जन्ममिति अनुसार, उनी गत साउनमै पदमुक्त भइसकेको घोषणा गर्दै जबराले कान्तिपुर र गोविन्द केसीमाथि परेको अवहेलनासम्बन्धी मुद्दाको बृहत इजालास बस्न अस्वीकार गरेका थिए । जबराले पराजुलीको अयोग्यता घोषणा गर्दै इजलास बस्न अस्वीकार गरेपनि सर्वोच्चका अन्य न्यायाधीशहरुले पनि पराजुलीलाई पद छाड्न सुझाएका थिए |
राष्ट्रपति भण्डारीको शपथ बुधबार ४ बजे
राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित विद्यादेवी भण्डारीको शपथग्रहण बुधबार ४ बने शीतलनिवासमा हुने भएको छ।
उनलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले शपथ खुवाउने भएका हुन्।
वाम गठबन्धनका तर्फबाट आगामी पाँच वर्षका लागि उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति भण्डारीले कुमारी लक्ष्मी राई भन्दा तेब्बर बढी मतले निर्वाचित भएकी थिइन्।
भण्डारीले ३९ हजार २ सय ७५ र राईले ११ हजार ७ सय ३० मत पाएकी थिइन्।